बेला अाएकाे छ, अब परिवर्तन चाहने की यथास्थिति

मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ को चुनावी प्रतिस्पर्धा रोचक हुँदै गएको छ । प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएका नेपाली काग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी बाम गठबन्धन उम्मेदवार भगवती चौधरी बिचको चुनावी प्रतिस्पर्धा रोचक हुँदै गएको हो । पाँच पटकसम्म निर्वाचन लडेर विजयी हासिल गर्दै २६ वर्षसम्म सत्ताको वरिपरि बसेका गच्छदारलाई महिलाहरू माझ लोकप्रिय नेतृ भगवती चौधरीले कडा चुनौती दिएपछि यो क्षेत्रमा कसले स्पष्ट जित हासिल गर्छ आंकलन गर्न सक्ने अवस्था छैन ।

यसपटककोे निर्वाचनलाई दुवै उम्मेद्वारले प्रतिष्ठाको लडाई बनाए सँगै अन्य पार्टीका उम्मेद्वारहरु हराएका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पटक निर्वाचनमा भाग लिएकी चौधरीले ठुलै चुनौती दिएकी थिइन् । उक्त निर्वाचनमा भगवती चौधरीको अत्याधिक बदरमत देखाएरै भए पनि मधेसका शिर्षस्थ नेतामा गनिने गच्छदारलाई जिताईएको थियो । अहिले पुनः तीनै भगवती चौधरी गच्छदारलाई फलामको चिउरा चपाए सरह भएको छ । ‘एउटी महिला, त्यो पनि एकल महिलाले म जस्तो ‘शेर’सँग कसरी टक्कर दिन सक्छ र’ भन्ने मानसिकता गच्छदारमा थियो । तर, ०७० कै निर्वाचनमा २५ वर्षदेखि राष्ट्रिय राजनीतिमा प्रभुत्व जमाईरहेका गच्छदारलाई ‘असिनपसिन’ पारेकी चौधरीले सुनसरी–३ लाई गच्छदार मुक्त क्षेत्र नै घोषणा गर्ने उद्घोष गरेकी छिन् ।

गच्छदारको पतनमा चौधरीको उदय

ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) नामक वित्तीय संस्था चलाएर स्थानीय महिलाहरू माझ लोकप्रिय बन्नु मात्र नेतृ चौधरीले गच्छदारलाई ‘काउन्टर’ दिन सक्नुको कारण हैन ।

०४८ सालदेखि राज्य सञ्चालनमा १२ पटक बढी मन्त्री बनेका गच्छदारमा २०५० सालयता राजनीतिक ‘दम्भ’ बढेकै थियो । ०५२, ०५४, ०५५ मा गठित तीन ओटा सरकारमा निर्माण तथा यातायात मन्त्री बनेर ह्याट्रिक गर्न सफल भएपछि उनमा पद र पैसाको उन्माद यत्ति बढ्यो की, आफ्नै गाउँ ठाउँका जनतालाई ‘भुसुना’ सम्झिए । त्यसपछि देशमा बढ्दो राजनीतिक अस्थिरताको फाइदा लिँदै पटकपटक विभिन्न राजनीतिक दलसँगको गठजोडमा मन्त्री भए । यस बिच उनले विभिन्न विकास निर्माण र योजनाबाट अकूत सम्पत्ति आर्जन गर्न मात्र सफल भएनन्, राष्ट्रिय राजनीतिमा अभूतपूर्व सफलता प्राप्त गर्दै गए ।

०६२र०६३ मा नयाँ संविधान र सङ्घीयताको नाममा १० वर्षसम्म सशस्त्र सङ्घर्ष गर्दै गरेको नेकपा माओवादीलाई स्व. गिरिजा प्रसाद कोइरालाले २१ बुँदे सहमति पछि मुलधारको राजनीतिमा प्रवेश गराए । त्यसपछि ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा समेत सुनसरी–३ बाटै निर्वाचन जिते । मोरङ–७ बाटभने काँग्रेसका शेखर कोइरालासँग पराजित भएका थिए ।

सत्ता परिवर्तनसँगै पार्टी परिवर्तन नै गरेर राजनीतिक वार्गेनिङ गर्ने तर, आफ्नै क्षेत्रका लागि केही नगर्ने गच्छदार प्रवृत्तिका कारण सुनसरी– ३ मा उनीप्रति जनताको समर्थन पनि घट्दो थियो । पटकपटक मन्त्री हुँदा समेत सुनसरी–३ को गढी गाउँपालिका, बर्जु, औराबनी जस्ता ग्रामीण भेगमा उनले विकासका नाममा केही पुलपुलेसा बाहेक केही बनाउन सकेनन् । यहाँसम्मकी उनले आफ्नै क्षेत्रमा आएका केही विकासका योजना अन्यत्र सारेपनि थारु समुदायको बाहुल्यता भएको यी क्षेत्रमा उनी कमजोर बन्दै गए ।

यता ग्रामीण क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गरेर स्थानीय महिलाहरू माझ लोकप्रियता हासिल गर्दै गएकी चौधरीले भित्रभित्रै राजनीतिमा समेत आफ्नो स्थान बलियो बनाउँदै गइन् । महिला माझ चौधरीको लोकप्रियता देखेर नेकपा एमालेले दोस्रो संविधानसभामा उनलाई टिकट दियो । आफ्नै घरआँगनमा पुँजी ल्याई दिएर स्वाबलम्बी बनाउन सहयोग गरेकी चौधरीका पक्षमा अभूतपूर्व जनलहर बढ्यो । दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट सुनसरी–३ र मोरङ–७ बाट उठेका गच्छदार मोरङ–७ मा शेखर कोइरालासँग पराजित भएपछि फोरम लोकतान्त्रिकको अध्यक्षका हिसाबले मधेसमा उठेको आन्दोलनलाई सेटल गराउनका लागि मात्र पनि जिताउनुपर्छ भनेरै चौधरीको अत्याधिक बदरमत देखाएर ब्याक सारिएको हो ।

यदि त्यो निर्वाचनमा गच्छदारले सत्ता र शक्ति प्रयोग नगरेको भए, सुनसरी–३ मा भगवती ‘चौधरी’ युग सुरु भईसक्थ्यो । त्यत्तिबेला नेकपा एमालेले समेत चौधरीका पक्षमा खुलेर समर्थन गर्न सकेन । एमालेले आफ्नै उम्मेद्वारलाई जोगाउन नसक्दा गच्छदारले ‘मधेस आन्दोलन’को कार्ड खेलेर ४ वर्ष सत्तामा आउन सफल भए । र २ पटक मन्त्री हुन समेत सफल भए ।

गच्छदारलाई चुनौती

२१ गतेको निर्वाचनमा जित हासिल गरेर राष्ट्रिय राजनीतिमा डबल ह्याट्रिक गर्ने गच्छदारको सपनामा कसैले ‘तुषारापात’ गरिदिन्छ भने, त्यो भगवती चौधरी नै हो । सुनसरी क्षेत्र नं. ३ मा १,०९,९१७ मतदाता सङ्ख्या रहेकोमा महिलाको सङ्ख्या मात्र ५३,६९४ रहेको छ । यसमा ४० प्रतिशत महिलाले चौधरीका पक्षमा भोट हाल्ने निश्चित देखिएको छ । अहिले गाउँगाउँमा ‘महिलाको भोट महिलालाई नै’ भन्ने अभियान चलेको छ । फरवार्ड नेपालमा यहाँका २७ हजार महिला आबद्ध छन् । यसले गच्छदारलाई टाउको दुखाई भएको छ ।

गच्छदारको अर्को चुनौती भनेको मुस्लिम समुदायमा एमालेको प्रवेश हो, छातावेली, अमाहीबेल्हाका ग्रामीण भेगमा रहेका मुस्लिम समुदाय समेत यस पटक परिवर्तनको पक्षमा छन् । विगतमा काँग्रेसले यहाँका मुस्लिम समुदायलाई नै आफ्नो भोट बैङ्क मानेको थियो । गच्छदारले ५ वर्ष यता मुस्लिम समुदायका लागि केही नगरेपछि अहिले यहाँका मुस्लिम युवा अगुवाहरु चौधरीको पक्षमा खुलेर लागेका छन् ।

पहाडे भोट चौधरीलाई

जतिबेला मधेसमा जातीय र क्षेत्रियताका नाममा आन्दोलन भयो, त्यो आन्दोलनबाट सबैभन्दा बढी पीडित पहाडबाट आएका नेपाली भएका थिए । आन्दोलनका नाममा दर्जनौं पहाडी समुदायहरू विस्थापित हुनुपर्यो । अझ, मधेसमा बलेको जातीय विखण्डनको आगोमा खेलेर गच्छदारले राजनीति गरेपछि यहाँका अधिकांश पहाडीया समुदायमा गच्छदारले जिते पुनः त्यही संन्त्रास आउने त हैन भन्ने चिन्ता पनि छ । त्यसको फाइदा चौधरीलाई जाने निश्चित छ । इटहरीका १० ओटा वडा र दुहवी बजारमा बसेका पहाडी समुदायको भोट चौधरीलाई जाने निश्चित छ । मधेसका दलित, मुस्लिम र थारु समुदायको भोट गच्छदार र चौधरीमा बाँडिने देखिएको छ । यो क्षेत्रमा पुरुष मतदाताको सङ्ख्या ५६,२२३ छ । यी मध्ये २० प्रतिशतले चौधरीलाई भोट दिन सक्छन् । ४० प्रतिशत महिला र २० प्रतिशत पुरुषको भोट चौधरीलाई आउने देखिन्छ ।

काँग्रेसको रडाँको

काँग्रेसले तराई मधेसमा मुस्लिम थारु समुदायलाई आफ्नो परम्परागत भोट मान्दै आएकोमा यस पटक त्यो भोट घट्ने निश्चित छ । खास गरी स्थानीय निकायको निर्वाचनमा काँग्रेसले ब्यहोरेको पराजय, स्थानीय काँग्रेस भित्रको आन्तरिक रडाँको पनि गच्छदारको पराजयको कारण बन्न सक्छ । यहाँका गौरीशंकर रौनियार केही समय अघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा पराजित हुनुमा आन्तरिक कलह नै रहेको भन्दै यस पटक गच्छदारलाई हराउने अभियानमा छन् । उनीसँग दुहवी बजारका एक हजार बढी कांग्रेसीको भोट रहेको छ । यहाँका पुराना कांग्रेसीहरु गच्छदारको पुनरागमनको विरुद्धमा रहेका छन् ।

फोरम लोकतान्त्रिकको अभियान

जतिबेला फोरम लोकतान्त्रिक त्यागेर गच्छदार नेपाली काँग्रेसमा गए, आफ्नै सहकर्मीहरुसँग पनि सल्लाह गरेनन् । आफैले जन्माएको पार्टीलाई लात हानेर गएपछि ‘गच्छदार’लाई गद्दारको संज्ञा दिँदै उनलाई पराजित गर्न अधिकांश फोरम कार्यकर्ता लागि परेका छन् । उनीहरू काँग्रेसभन्दा एमालेको उदय भएको हेर्न चाहन्छन् । यसको फाइदा भगवती चौधरीलाई जाने निश्चित छ ।

बाम गठबन्धन

अहिले देशभर नेकपा एमाले र माओवादी केन्द्र बिच एकिकरणको चर्चा बढेको छ । राजनीतिक अधिकार पाएपछि अब देश विकासका लागि स्थायी सरकारको आवश्यकता औंल्याइएको छ । हुन पनि हो, अब हामीले शान्ति र संवृद्धि प्राप्ति गर्नेहो भने, स्थायी सरकार आवश्यक छ । हाम्रो देश विकास नहुनुमा अस्थिर राजनीति पनि हो । यदि नेकपा एमाले र माओवादी बिच एकिकरण हुने हो भने, त्यो नेपाली काँग्रेसका लागि घातक हुन्छ । यो क्षेत्रमा पनि बाम गठबन्धन भएकोले माओवादी–एमालेको विशुद्ध भोट चौधरीलाई गए, गच्छदार कहिल्लै उठ्न नसक्ने गरी पछारिन्छन् । यस पटक माओवादीको सिङ्गो भोट भगवती चौधरीलाई जाने देखिन्छ । काँग्रेस, फोरम, फोरम लोकतान्त्रिक बिचको भोट काटाकाटमा चौधरीको विजय सुनिश्चित छ ।

चौधरीको चुनौती

महिला शशक्तिकरण अभियान र लघुवित्त कार्यक्रमले चौधरीलाई जति लोकप्रिय बनाएको छ, कांग्रेसीले त्यही कार्यक्रमलाई बदनाम पनि गराएका छन् । अहिले गच्छदार समूहले चौधरीलाई २ प्रतिशत ब्याजमा ल्याएको पैसा २४ प्रतिशतमा लगाउने आरोप लगाउँदै भोट माग्ने गरेको छ । नेपाल राष्ट्र बैङ्कले निर्देश गरे अनुसार निजी क्षेत्रबाट गरेको सेवामुलक व्यवसायलाई गलत प्रकारले उपप्रधानमन्त्री जस्तो व्यक्तिले व्याख्या गर्नु गलत हो ।

ग्रामीण भेगमा महिलाहरूलाई ‘भगवतीको चिन्ह गाछी’ हो समेत भनिएको छ । अमाहीबेल्हा, बर्जु क्षेत्रका निरक्षर जनताहरुलाई ‘एमालेले जिते नागरिकता खारेज गर्छ,’ ‘बुढापाखापाई मार्छ’ महिलालाई विभेद गर्छ, ‘जग्गा जमिन सरकारी करण गर्छ’ जस्ता भ्रम फैलाएको छ । यसले जनतामा एमाले प्रति आशंका पैदा गरिदिएको छ । फेरी विगतमा मधेस आन्दोलनमा एमालेले लिएको अडानका कारण एमालेलाई मधेस विरोधी पार्टी समेत भनेर कांग्रेसीले चित्रित गरेका छन् । गाउँगाउँमा काँग्रेसका कार्यकर्ताले बुढापाखा मतदातालाई प्रभावमा पार्न मासु, पैसा र रक्सी बाँडेका छन् । निर्वाचन कार्यालयका कतिपय सामाजिक परिचालिकाहरु खुलेरै ‘रुख’मा भोट हाल्नुपर्छ भनेर सिकाउँदै हिँडेका छन् । यसरी सेन्टिमेन्ट कुरा गरेर गच्छदारले जनतालाई भ्रमित पारेका कारण भगवती चौधरीलाई चुनौती थपिएको छ ।
तथापि, राजनीतिमा असम्भव भन्ने हुँदैन । आजका मित्रु भोलीका शत्रु हुन्छन्, भोलीका शत्रु आजका मित्रु पनि हुन्छन् । महिलाहरूको भोट, काँग्रेस–फोरम बिचको अन्र्तद्वन्द्वमा एमालेले खेल्न सक्ने हो भने, यस पटक सुनसरी–३ बाट गच्छदार युगको अन्त्य निश्चित छ । २६ वर्षसम्म शासनसत्तामा रहनु, १२ पटक बढी मन्त्री हुुनु तरपनि, यो क्षेत्रको विकास र संंबृद्धि नहुनुमा नेतृत्व असफल भएकै हो ।

आशाका किरण

हरेक बिहानीमा नयाँ सूर्योदय हुन्छ, त्यो सूर्योदयमा नयाँ किरण र नयाँ आशा उमंग पनि हुन्छ । २६ वर्षसम्म एकै खाले विकास, एकै खाले पद्धतिबाट यो क्षेत्रको विकास सम्भव छैन । जातीय राजनीति गर्ने, सामाजिक, सांस्कृतिक विभेदको जगमा उभिएर जनताको भावना माथि खेलवाड गर्दा त्यसले सामाजिक, आर्थिक र जातीय विखण्डन निम्त्याउँछ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन त्यो नयाँ बिहानी बनेर हाम्रा घरदैलोमा आएको छ, जसले यो क्षेत्रको विकास, संवृद्धिको नयाँ खाका कोर्न सक्छ । २६ वर्षसम्म भएका विकास, परिवर्तनलाई अन्र्तआत्मा देखि नियालौं । हाम्रा घर अगाडीका सडक हेरौं, हामीले खाने अन्नका दाना हेरौं, हाम्रा बालबालिकाका आङ्मा लगाईएका फाटेका वस्त्रमा हेरौं । हाम्रा बालबालिकाले पढ्ने विद्यालयको अवस्था हेरौं । सुत्केरी हुँदा अस्पतालको मुखै देख्न नपाई मृत्युवरण गर्ने छोरी, बुहारीलाई हेरौं । के हामीले २६ वर्ष अघि भोगेको आर्थिक, सामाजिक अवस्थामा परिवर्तन भएको पाउनु भयो त ?

अहँ छैन, पटक्कै छैन, २६ वर्षमा एउटा बालक युवा भएर समाज र राष्ट्रका लागि योग्य नागरिक बन्न सक्छ । यहाँका कति युवाहरूले २६ वर्षको अन्तरालमा रोजगारी पाए, उच्चशिक्षा हासिल गरे, स्वरोजगार भए ? देशका उच्च ओहदामा पुगे ? यी सबै कुरालाई पुुर्नमुल्याङकन गर्न जरुरी छ । र, त्यो समय भनेकै आउँदो २१ गते हो । अब हामी परिवर्तनका पक्षमा छौँ की गरिबी, अशिक्षाको दलदलमा रहेर यथास्थितिमै रमाउन चाहन्छौँ विचार गर्ने बेला आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *