ममताकाे स्नेही काखमा व्यक्तिको आँखा पुग्यो, राज्यको पुगेन
असोज ३०, विराटनगर । ललितपुरको कुसुन्ती हाइटस्थित घरबार बिहिन तथा अनि आमा बुवाको मायाबाट बञ्चित भएका अवोध नानीहरुलाई संरक्षण दिँदै आइरहेको एउटा संस्था छ ।
परिवारको माया र घरको छाना दिएको एउटा पवित्र संस्था हो नेपाल स्नेही काख, जहाँ ३७ महिला र १८ जना पुरुषहरु छन् ।
संस्थाले आफ्ना परिवारको बारेमा जानकारी नभएका, आफन्त कोही नभएका मानिसहरुलाई संरक्षण दिएर राखेको छ भने दशजना बच्चाहरुको अभिभावकत्व बहन गर्दै आइरहेको छ ।
धेरै अर्धचेतका छन्, कोही आधा उमेरका त कोही २४–२५ वर्षका । ति सबैका आमा हुन् संस्थाकी अध्यक्ष श्रीनेहा पोख्रेल । जसले आमाको न्यानो माया र छहारी दिएर मानवताको एउटा परिचय दिएकी छिन् । उनी एक थ्रिएटर आर्टिस्ट पनि हुन् ।
सन् २०१० देखि सामाजिक कार्य सुरु गरेकी श्रीनेहाले सुरुवाती यात्रा आफ्नै घरबाट थालेकी हुन् । ‘धापाखेलमा एउटा लोग्ने मान्छेले कुलोको पानी खाइरहेको दृष्यले मेरो मन कुँडियो । यही घटनाले मेरो जीवनका बाटोले यात्रा मोडिएर आज नेपाल स्नेही काखसम्म आइपुगेको छ’, विगत सम्झिन्छिन् स्नेहा ।
विवाह नगरी आमा बनेकी श्रीनेहा
श्रीनेहा अविवाहित हुन् । करिब एक वर्ष अगाडि एक बालकलाई पशुपति मन्दिरको फोहोरको डंगुरमा फालिएको थियो । त्यो अबोध बालक जसले आमाको माया र न्यानो काख नपाए पनि श्रीनेहाको मानवता र स्नेहले भरिएको न्यानो काख पाएको छ । मुटुमा छेद बालकको नाम भविष्य राखिएको श्रीनेहा बताउँछिन् ।
बुधबार पनि एक कार्यक्रम आयोजना गरी सामूहिक बलात्कारमा परि जन्मिएका जुम्ल्याहा नानीबाबुको पास्नी उनले सम्पन्न गरिन् । ‘अविवाहित हुँ । थ्रिएटरमा नाटक गरेजस्तो सहज त कहाँ हुन्छ र ? विस्तारै कोशिस गर्दैछु । अब त मुटु पनि यी नै नानीबाबुहरुका निम्ति धड्किन्छ’, उनी भन्छिन् ।
व्यक्तिगत सहयोगको भरमा चल्दैछ संस्था
९ वर्षदेखि संचालनमा आएको नेपाल स्नेही काख आजसम्म व्यक्तिगत सहयोगको भरमा चलिरहेको छ ।
श्रीनेहा आफैँ थ्रिएटर आर्टिष्ट भएकै कारण पनि कहिले नाटक गरेर हातमुख जोडेकी छिन् भने कहिले थ्रिएटरका साथीहरुले सहयोग गर्दै आइरहेका छन् । कहिलेकाहीँ बजारमा, कहिले ठमेलमा, कुनै कार्यक्रममा खाजाको स्टल राखेर मःम, चिया बेचेर पनि आर्थिक स्रोत जुटाउने गरेको श्रीनेहाले बताइन् ।
‘धेरै जस्तो जन्मदिन, एनिभर्सरी साथै तिथि परेको बेला धेरै नै सहयोग आउने गरेको र सोही सहयोगको आधारमा संस्था चलिरहेको छ,’ उनले बताइन् । हाल बिरामीबाट निको भएका दिदीबहिनीहरुले माला बनाएर बजारमा बिक्रीका लागि लाने गरेको र त्यहीँबाट आएको पैसाले पनि केही आर्थिक पाटोमा टेवा पुगेको उनले जानकारी दिइन् ।
डा.कमल बासकोटा, बिजु श्रेष्ठ, मनिसा थापा लगायतका व्यक्तित्वहरुले आजसम्म संस्था प्रति अभिभावकत्व वहन गर्दै आईरहेको श्रीनेहाले बताइन् ।
व्यक्तिको आँखा पुग्यो, राज्यको पुगेन
संस्थाका लागि आजसम्म जे जसरी चल्दैछ यो संस्था आफैँले र यो सामाजिक क्षेत्रलाई बुझिदिने अरुको दुःखमा मलम लगाउन चाहने व्यक्तिहरुले बाहेक आजसम्म राज्यको आँखा यो संस्थामा नपरेको संस्थाकी अध्यक्ष श्रीनेहा बताउँछिन् । उनी भन्छिन्, ‘जिम्मेवारी त कोहि एक व्यक्ति विशेषको मात्र पनि होइन । यदि राज्यले पनि यस्ता सामाजिक संस्थाहरु तर्फ ध्यान राखिदिए समृद्धिका ढोका खुल्ने थियो ।’
सरकारले अलिकति सहायता दिने हो भने कयौँ मानसिक, शारिरिक समस्याले परिवारबाट अलगिएकाहरुका लागि एउटा बाँच्ने आधार निर्माण हुने थियो । मायाले आधा रोग निको हुन्छ भने आर्थिक स्तरमा मजबुत भै दिए एउटा दक्ष जनशक्तिको उत्पादनमा टेवा पुग्ने थियो ।