प्रदेश सरकारको बजेटमा वडाध्यक्षको लुट, कागजमै खर्च भयो ८० लाख

 

साउन १३ इनरुवा । सुनसरीको भोक्राहा नरसिंह वडा नं. ८ मा छुट्टाछुट्टै २ सडकका लागि प्रदेश सरकारले उपलब्ध गराएको झण्डैँ ८० लाख रुपैयाँ वडाअध्यक्ष र इन्जिनियरको मिलेमतोमा कामै नगरी कागज मिलान गरी भ्रष्टाचार गरिएको रहस्य खुलेको छ । 

भोक्राहा नरसिंह वडा नं. ८ अन्तर्गतका दुईवटा सडकमा माटो पुरी ग्राभेल गर्ने नाममा असारको अन्तिम साता भोक्राहा नरसिंह गाउँपालिकाका इन्जिनियर पप्पु यादव र वडाअध्यक्ष हातिम अन्सारीको मिलेमतोमा उपभोक्ता समिति समेत फर्जि बनाई झण्डै ८० लाख बराबर प्रदेश नं. १ सरकारको रकम भ्रष्टाचार गरिएको रहस्य खुलेको हो । 

null

प्रदेश नं. १ आर्थिक मामिला तथा योजना मन्त्रालयले गएको आव २०७५/०७६ मा भोक्राहा नरसिंह गापामा विभिन्न सडक निर्माण गर्न २ करोड ४५ लाख पठाएको थियो । उक्त रकमअन्तर्गत टेण्डर आह्वान गरी बाँकी प्रतिस्पर्धा बापतको ८० लाख बराबरको रकम वडाअध्यक्ष हातिम अन्सारीले भोक्राहा नरसिंह गाउँपालिका र त्यहाँ कार्यरत इन्जिनियर पप्पु कुमार यादवलाई मोटो रकम बाँडफाँड गर्दै सो रकम बराबरको योजनामा कामै नगरी पुरा रकम भ्रष्टाचार गरेका हुन् । 

सो रकम बराबर भोक्राहा नरसिंह ८ अन्तर्गत हरिलाल खेतदेखि दक्षिण मेहता टोलसम्म माटो हाली ग्राभेल र रामजानकी मन्दिर बोर्डरसम्मको बाटोमा माटो पुरी ग्राभेल गरेको जानकारी गराई सो रकम खर्च गरिएको भनी रकम भुक्तानी गरिएको गापाको रेकर्डमा देखिएको छ । 

गत जेठ १३ गतेको मितिमा रामनगर भुटाहा ठेगाना भएका अमिन मियाँ र भोक्राहा ठेगाना भएका जब्बार मियाँ अध्यक्ष रहेको छुट्टाछुट्टै दुई उपभोक्ता समिति निर्माण भएको र सोही उपभोक्ता समितिमार्फत् झण्डै १९ सय मिटर कच्ची सडक माटो पुरी ग्राभेल गर्न भनि भोक्राहा नरसिंह गाउँपालिकाले गत वर्ष जेठ १५ गते काम गर्ने सम्झौता गरेको कागजमा देखिएको छ । 

गाउँपालिकाले एउटै मितिमा विभिन्न दुईवटा उपभोक्ता समितिलाई काम गर्न आदेश दिएको थियो । प्रदेश सरकारको कूल रकम ७९ लाख ५२ हजार ४ सय ९२ रुपैयाँ मध्ये वडा नं। ८ को हरिलाल खेतदेखि दक्षिण मेहता टोलसम्म जाने बाटो निर्माण तर्फ ४३ लाख ६ सय ८७ रुपैयाँ छुट्याइएको थियो । 

उक्त उपभोक्ता समिति अध्यक्षमा रामनगर भुटाहा ठेगाना भएका अमिन मियाँलाई अध्यक्ष, नैयर आलम सचिव, समिना खातुन कोषाध्यक्ष र अन्य ४ जना सदस्य रहेको देखिएको छ । उक्त उपभोक्ता समिति नै फर्जि रहेको बताइएको छ । 

 

स्रोतका अनुसार वडाध्यक्ष हातिम अन्सारीले अध्यक्ष बाहेक उपभोक्ता समितिमा आफ्ना पारिवारिक सदस्यहरुलाई नै राखेर वडा सचिव बेचुकुमार माझीमार्फत् उपभोक्ता समिति निर्माण गर्न लगाएका हुन् । समितिमा आपूmहरु रहेको बारे अधिकांशलाई जानकारी समेत नरहेको स्रोत बताउँछ । 

यस्तै सोही वडामा वडाध्यक्ष अन्सारीले प्रदेश सरकारकै ३६ लाख ५१ हजार ८ सय ५ रुपैयाँ बराबरको रकम जानकी मन्दिर बोर्डरसम्मको बाटो निर्माण गर्न भनी जब्बार अन्सारीको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति सोही मितिमा गठन गरेका हुन् जसको सचिवमा सद्दाम अन्सारी, कोषाध्यक्षमा जिनत खातुन लगायतका छन् । यसमा पनि वडाअध्यक्ष अन्सारी कै नातेदार मात्र राखी समिति बनाइएको स्रोत बताउँछ । 

दुई वटै सडक निर्माण गर्न गठित समितिको कागजात भोक्राहा नरसिंह गापामा अध्ययन गर्दा एउटै व्यक्तिद्वारा हस्तलिखित माइन्यूट तथा हस्ताक्षर समेत फेला परेको छ । एउटै व्यक्तिले २६ जना बढीको नाममा हस्ताक्षर र ल्याप्चे हानेको स्पष्ट देखिएको छ । 

समाचार स्रोतका अनुसार ती दुवै योजनाहरुमा गत आव ०७५/०७६ मै गाउँपालिकाको छुट्टै बजेटबाट करिब बीस लाख बराबर माटो पुरिएको गाउँपालिकाको खर्च निकासामा उल्लेख छ । 

गाउँपालिकाले हालेको माटोमा जम्मा ४० ट्रिपर मिक्स गिट्टी छरेर अमिन मियाँ अध्यक्ष रहेको बाटोको ४३ लाख ६ सय ८७ रुपैयाँ वडाअध्यक्ष अन्सारीले घोटाला गरेका छन् भने कामै नगरी बिल बनाउन गाउँपालिकामा कार्यरत इन्जिनियर पप्पु कुमार यादवले वडाअध्यक्ष अन्सारीसँग ९ लाख कमिसन लिएको स्रोतको दावी छ । इन्जिनियर यादवले उक्त रकम वडाअध्यक्ष अन्सारीसँग इनरुवाको एक होटलमा लिएका हुन् । 

झण्डै डेढ वर्ष अघिदेखि उक्त गाउँपालिकामा कार्यरत इन्जिनियर यादवले यसअघि उक्त गाउँपालिकाका केही योजनाहरुमा लाखौं कमिसन हात पारी फर्जि विल बनाई दिएका थिए । तर केही योजनामा अख्तियारमा उजुरी परेपछि तत्कालीन कार्यकारी अधिकृत शशी राईको दबाबमा समिति र ठेकेदारको ५० प्रतिशत रकम कटौती गरी भुक्तानी गरिएको थियो । आर्थिक वर्ष ०७४/०७५ मा ती योजनाहरुमा स्थानीय ठेकेदारमार्फत् विभिन्न उपभोक्ता समितिको नाममा माटो पुरी ग्राभेल गरिएको भनी झण्डै २ करोड ६० लाखको फर्जी विल इन्जिनियर यादवले बनाएका थिए । 

 

नेकपा निकट वडाअध्यक्ष हातिम अन्सारीले आफ्नो पहलमा वडामा विकास गर्न प्रदेश नं। १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत आव ०७५/०७६ मा २ करोड ४५ लाख रुपैयाँ भोक्राहा नरसिंह गाउँपालिकामा ल्याएका हुन् । जसमध्ये गाउँपालिकाले टेण्डर गरी ८६ लाख ९९ हजार ३ सय १५ रुपैयाँको एउटा र ७५ लाख ४८ हजार १ सय ९५ रुपैयाँको अर्को टेण्डर आब्हान गरिएको थियो । तर, ती योजनाको टेण्डर पाएका दुईवटा निर्माण कम्पनी सरिता निर्माण सेवा र जल्पापर मुस्लिम निर्माण सेवाले काम गर्न नसक्दा उक्त रकम समेत प्रदेश सरकारलाई फिर्ता गएको बताइन्छ । 

दुवै ठेक्कामा प्रतिस्पर्धा गराई रहेको बाँकी रकम ८२ लाख ९२ हजार ४ सय ९० रुपैयाँ मध्ये ७९ लाख ५२ हजार ४ सय ९२ रुपैयाँ बराबरका विभिन्न दुईवटा सडक निर्माण गर्ने भनी वडाअध्यक्ष अन्सारीले रकम बाँडफाँड बापत प्राप्त गरेका हुन् 

गाउँपालिका अध्यक्षसँग शर्त नै राखी वडाअध्यक्ष अन्सारीले सो रकम प्रदेश सरकारबाट ल्याएका हुन् जसमा पार्टी समेतलाई दिनुपर्ने भनी अन्सारीले ८० लाख बराबरको काम टुक्राएर उपभोक्ता समितिमार्फत गरेर भ्रष्टाचार गर्ने पूर्वयोजना र सहमतिअनुसार नै भएपछि गाउँपालिका अध्यक्ष समेत अहिले चूँ सम्म बोल्न सकेका छैनन् । 

प्रदेश सरकारको रकम टेण्डरबाट खर्च गरिएको भनी वडाअध्यक्षले प्रचार गरिरहँदा ठेक्का प्राप्त कम्पनीले काम नगरेपछि स्थानीय सर्वसाधारणले कामबारे चासो लिएपछि वडाअध्यक्ष अन्सारीले ८० लाख हाराहारीको रकम उपभोक्ताबाट काम गरेको भनी दस्तावेज बाहिरिएपछि घोटालाको रहस्य बाहिरिएको हो । भ्रष्टाचार भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । 

झण्डै १९ सय मिटर लामो सडक माटो पुरी ग्राभेल गरी जनता हिड्ने र मोटर गुडने बनाएको भनी प्रतिवेदन दिएर लाखौं रकम निकासा भएको सडकको अनुगमन गरिएपछि उक्त सडकमा मोटरसाइकल सम्म पुग्न सकेन । 

सञ्चारकर्मीको टोलीले शुक्रबार गरेको स्थलगत अनुगमनमा पैदल यात्रा गर्दै निरीक्षण गर्दा योजना सम्पन्न भएको स्थानमा न त गिट्टी देखियो न त माटो पुरिएको दृश्य नै । 

आरोपबारे वडाअध्यक्ष हातिम अन्सारीसँग जिज्ञासा राख्दा अन्सारीले सडकमा माटो पुरेको र ग्राभेल समेत झारेको बताउँदै हालै लगातार आएको वर्षाको पानी र बाढीले माटो र ग्राभेल बगाएको बनावटी जवाफ दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *