अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा
चैत १, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।
ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने ‘म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछु । कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्नेछौँ । यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नुको विकल्प छैन।’
कोरोना भाइरसको परीक्षण क्षमतालाई ठूलो मात्रामा वृद्धि गर्ने स्पष्ट पार्दै राष्ट्रपति ट्रम्पले संक्रमणसँग लड्नका लागि राज्य र स्थानीय सरकारलाई ५० बिलियन डलरसम्मको सहुलियत दिने समेत घोषणा गरे।
यस्तै उनले आवश्यक्ता हेरेर मात्र अमेरिकी नागरिकहरूलाई कोरोना भाइरसको संक्रमण परीक्षण गर्न लगाइने बताएका छन्।
अमेरिकाले संक्रमण रोक्ने प्रयासस्वरूप बेलायत बाहेकका यूरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएको छ। यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू हुने बताइएको छ।
अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जना संक्रमित छन्। कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ५ हजार बढीको ज्यान गइसकेको छ भने एक लाख ४० हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ।