गण्डकी मेडिकल कलेजको दर्ता खारेज गर्न माग
कार्तिक २२, पोखरा । डाक्टरकोे लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै एक हप्तादेखि पोखराको गण्डकी मेडिकल अस्पताल विरुद्ध आन्दोलन जारी छ । मृतकका आफन्त तथा स्थानीयले गण्डकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् ।
स्याङ्जा अर्जुनचौपारी–१ की गीता अर्यालको कार्तिक १७ गते सुत्केरी हुने क्रममा अस्पतालमा मृत्यु भएको थियो । सल्यक्रिया गरेर निकालेको शिशु भने सकुशल छ । गीतालाई डाक्टरले कात्तिक १९ गते सुत्केरी हुने मिति तोकेका थिए । तर, डाक्टरकै सल्लाह अनुसार पोखराको गण्डकी मेडिकल कलेजमा ११ गते भर्ना गरिएको थियो । सोही दिन शल्यक्रिया गरिएकी गीताको पाँच दिनपछि डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए ।
शल्याक्रियापछि बेहोस् गीताको मृत्यु भए पनि शिशु भने सकुशल छन् । शल्यक्रिया गरेर बच्चा निकालेपछि उनी होसमै नआइ मृत्यु भएको आफन्तको भनाइ छ । अवस्था सुधार हुँदैछ भनेर दिनहुँ १० औँ हजार रुपैयाँका औषधी मगाएर एक्कासि मृत घोषणा गर्नु डाक्टरको गल्ती र प्रशासनको हेलचक्याइँ भएको आफन्त डोलराज अर्याल बताउँछन् ।
एक्कासि सुत्केरीलाई मृत घोषणा गरेको र कारण पनि चित्त बुझ्दो नदिएपछि परिवार अहिले आन्दोलनमा उत्रिएका छन् । मृत्युको कारण खोज्दै आन्दोलनमा उत्रिएका आफन्त अहिले सङ्घर्ष समिति नै बनाएर ७ दिनदेखि आन्दोलनमा छन् ।
पटकपटकको वार्ता नमिलेपछि ३ वटा माग राखेर आन्दोलन गरिरहेको सङ्घर्ष समितिले अहिले मेडिकल कलेजको दर्ता खारेजीसम्मको माग गर्दै सडकमै उत्रिएको छ । शिशुको लालनपालन कलेजले गर्नुपर्ने, शिक्षा, औषधी उपचार गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समितिले बुधवार कलेजको दर्ता खारेजी गर्नुपर्ने माग गर्दै र्याली निकालेर बजार परिक्रमा गरेको छ ।
गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले डाक्टरको कुनै लापरवाही नरहेको जिकिर गर्दै उनलाई बचाउने प्रयास गर्दागर्दै ज्यान गएको बताए । अस्पताल प्रशासनले छानबिन समिति गठन गर्न र छानबिनबाट डाक्टर वा अस्पताल दोषी ठहरिए कारबाही भोग्न तयार रहेको जनाएको छ । उनले हुल जम्मा गरेर आन्दोलन गर्ने र क्षतिपुर्ती माग्ने हो भने सिरियस केसका बिरामी भर्ना नगर्ने बताए ।