लकडाउनका कारण मजदुरहरु अलपत्र: ‘कोरोनाले भन्दा पनि भोकले मरिन्छ जस्तो लागिरहेछ !’

चैत्र, २१ विराटनगर । ‘बाहिर बसौँ पुलिसले गाडीभित्र बस्नु भन्छन्, गाडी भित्र बस्यो घामले गाडि तातिएर निसासिन्छ, ’१९ वर्षिय युद्ध भण्डारीले दुखेसो पोख्दै भने । भण्डारी सगरमाथा यातायातका सहचालक हुन् ।  

कोरोना भाइरस संक्रमणको बढ्दो महामारीलाई न्यूनिकरण गर्न सरकारले लकडाउनको घोषणा गरेको आज ११ औँ दिन पुगिसकेको छ । लकडाउन भएसँगै विराटनगर बसपार्कमा १५ जना यातायात मजदुरहरु अलपत्र परेका छन् ।  

ती अलपत्र पर्ने यातायात मजदुर मध्येका एक पात्र हुन् युद्ध भण्डारी । झापा भद्रपुर घर बताउने भण्डारी ४ वर्षदेखि गाडीलाइनमा काम गर्न थालेका थिए । आर्थिक अभाव, पारिवारिक समस्याले गर्दा बिचमै पढाइ छोडेर पैसा कमाउन उनले गाडीलाईन रोजेका हुन् ।  

मुलुकभर कोरोनाको त्रास छ । उनलाई यतिबेला परवार भेट्ने इच्छा छ । उनी भन्छन्– ‘घर जान पाए मरे पनि आफ्नै परिवारसँग मरिने थियो । यो अर्काको ठाँउमा कोरोनाले भन्दा पनि भोकले मरिन्छ जस्तो लागिरहेछ ।’ 

फोन पनि हराएकाले आजसम्म परिवारसँग सम्पर्क समेत गर्न नपाएको उनी बताउँछन् । ‘लकडाउनको तीन दिनसम्म त पैसा थियो । किन्दै खाइयो । अब त पैसा पनि सकियो । न खाजा खान पाइन्छ न घर जान !’ 

नजिकै घर भएका कारण गाडी चालक आफ्नो घर फर्किए । गाडीको साहुले आजसम्म खोजी निन्दा नगरेको उनले गुनासो पोखे । ‘यातायात संघले २ छाक खाना खुवाए पनि दिँउसो भोकले आन्द्रा सुक्छ । सरकारले लकडाउन त लगायो नि, भोकले हाम्रो जीवनमा लक लाग्न थालिसक्यो !’  

त्यस्तै संखुवासभा घर भएका २२ वर्षीय सुवास तामाङ धरान–विराटनगर रुट चल्ने सल्लेरी यातायातका सहचालक हुन् । उनी टिचिङ अस्पतालमा मान्छे रिजर्भ गरेर विराटनगर आएका थिए ।  

गाडी बन्द हुन्छ भन्ने थाहा भएपनि उनीसँग रिजर्भ गरेर आउने मान्छेले जबरजस्ती ल्याएको उनले बताए । ‘भोक लाग्छ । खोजीमा हुँदा त किनेर खाइन्थ्यो । अहिले त खाजा खाउँ भने पनि गोजिमा पैसा छैन । भोक मार्दै बसिरहेको छु ।’ 

सरकारले घर जाने बन्दोबस्त गरिदिए ‘परिवारको साथमा मरे पनि आरामको श्वास त जाने थियो’ भन्दै पिरोलिन्छन् उनी ।  

युद्ध र सुवास जस्तै छ, अन्य १३ जनाको कथा–व्यथा ! उनीहरुको मात्रै एउटै चाहना छ– परिवार भेट्ने ! 

उनीहरुसँग न त कोरोना छल्ने मास्क नै छ न स्यानिटाइजर नै । स्वास्थ्य सुरक्षाविना अलपत्र परेर  बसेका छन् । स्थानिय निकाय, सरोकारवालाले ती अलपत्र परेका मजदुरहरुको उद्धार गर्न सकेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *