कालोबजारी हुन नदिन चितवनमा बजार अनुगमन

चैत्र २ चितवन । चितवनको बजारमा खाद्यान्नको अभाव हुने हल्ला चलेपछि प्रशासनले बजारमा अनुगमन गरेको छ । बजारमा खाद्यान्न अभाव हुने हल्लासँगै व्यापारीहरुले कालोबजारी गर्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आज बजार अनुगमन गरेको हो ।   

पूर्वी चितवनको विभिन्न पसलमा पुगेर अनुगमन गर्दा नुन, तेल, चामल लगायत अन्य खाद्यान्नको कुनै पनि अभाव नरहेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए ।   

ग्याँसमा भने पहिलाको तुलनामा माग एक्कासी बढेकोले बजारमा केहि असहज जस्तो देखिएतापनि सहज र प्रयाप्त मात्रामा आपूर्ती भइरहेकाले खासै समस्या रहेकाे छैन । जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, प्रहरी, पत्रकारसहितको संयुक्त अनुगमन टोलीले रत्ननगर, खैरहनीको विभिन्न ग्याँस डिपो, किरानाको होलसेल तथा खुद्रा पसलमा अनुगमन गरेको थियो ।   

अनुगमनको क्रममा खैरहनी ६ मा रहेको श्याम किराना स्टोर्स र निर्भाना इन्टरप्राइजेजमा भण्डार अस्तव्यस्त र फोहोर भएकाले २० दिनभित्र व्यवस्थीत र सरसफाई गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमखु खाद्य निरिक्षक विक्की राउतले जानकारी दिए । 

अनुगमनको क्रममा सबै पसलमा सिसि क्यामरा जडान गरिएको तर, त्यसको जानकारी सम्बन्धि कार्यालयहरुमा नगराएको पाइएकोले तत्काल सम्बन्धित कार्यालयमा जानकारी दिन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत सिंखडाले बताए ।   

त्यस्तै रत्ननगरको जे के साइकल स्टोर्सले सञ्चालन गरेको ग्याँस डिपोमा आगलागी हुदाँको बेला आगो नियन्त्रणमा लिने यन्त्र राख्न निर्देशन दिइएको छ । टोलीले जयमालक्ष्मी ट्रेडर्स, बद्री इन्टरप्राइजेज, सम्पदा इन्टरप्राइजेज, जय सन्तोषीमा किराना पसल, लालीगुरास इन्टरप्राइजेज लगायतमा अनुगमन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *