‘३ करोड नेपालीलाई शिरमा लिएर देशको सेवा गर्नेछु’

फागुन २९, काठमाडौं । हामीले संविधान पायौँ । नयाँ नियम कानून बनायौँ । तर के संविधान र कानुनमा लेखिएका कुराहरु लागु भएका छन् ? सबैलाई समान रुपले लागु भएको छ ? हामीले विश्लेषण गर्यौँ । 

देशमा धेरै परिवर्तनहरु भए । देशमा नयाँ–नयाँ कानुनहरु आए, संविधान आयो । तर त्यसको अभ्यास गर्ने÷गराउने, कार्यान्वयन गर्ने व्यक्तित्वहरु हामीले पाएनौँ । आज त्यसैबाट हामी ३ करोड नेपाली जनता प्रताडित छौँ । विभिन्न काण्डैकाण्ड मच्चिएको छ । 

हालसालैका काण्डहरु मात्रै हेर्ने हो भने ललिता जग्गा प्रकरण, वाइडबडी, ३३ किलो सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, एनसेल काण्ड लगायत कति हुन् कति । नेपाली जनताहरुलाई ‘म तापाईँहरुको सेवा गर्छु, तपाईँहरुलाई न्याय दिन्छु, सुशासन दिन्छु’ बाचा गर्ने राजनीतिक, सामाजिक तथा प्रहरीका नेतृत्वहरुले धोका दिए । झुक्याए । 

हामीले सोचेअनुसारको न्याय पाएनौँ । सेवा वितरण राम्रो हुन सकेन । भ्रष्टाचार संस्थागत र व्यवस्थित भयो । पारदर्शी भएन । जनताको सहभागीता भएन । आज त्यसैकारण विभिन्न क्षेत्रको अनुभव लिइसकेका हामी जम्मा भयौँ, छलफल गर्यौँ । निष्कर्ष निकाल्यौँ, अब त अत्ति भयो । 

यसरी हामी कहिल्यै पनि उभो लाग्दैनौँ । यसले अपराध, अपराधी, तस्करहरु मात्रै जन्माउने भयो । गरीब र धनीको खाडल बढाउने भयो । नेपाली जनताहरु विदेशिने भए । अब यो सैह्य हुन छैन । 

हामीले थाहा पाइसक्यौँ, चुनावका बेलामा भोट माग्दा समृद्धि, विकास भित्र्याउने कसम खाएका राजनीतिज्ञहरुले ढाँटे । 

यदि देशमा सुशासन भएको भए, देशमा भ्रष्टाचार बढेको, संस्थागत भएको महशुष नभएको भए, नातावाद, कृपावाद नभएको भए, भागवण्डा, शोषण यदि नभएको भए आज तपाईँहरुको सामुन्ने ‘हाम्रो नेपाल सुशासन अभियान’ आउँदैन थियो । 

अब यहाँभन्दा बढी भ्रष्टाचार सहन सकिँदैन भन्ने महशुष भएरै हामी ३ करोड नेपाली जनतालाई सचेत र होशियार गराउन आएका हौँ । आउनुस् हातेमालो गरौँ ! नेपाल, नेपाली, यो मातृभूमिको ३ करोड नेपालीहरुलाई शिरमा राखेर हामी काम गर्नेछौँ । 

देशको सीमाहरु मिचिएको छ, कोहीपनि बोल्दैनन् । बोलेको जस्तो गर्छन्, निरन्तरता छैन । राष्ट्रियतामा प्रश्न उठिसकेको छ । विदेश जाँदा हामीलाई विदेशीहरुले हेर्ने दृष्टिकोण अर्के छ । देश अपराध, अपराधी, लागू औषध तस्करहरुको ट्रान्जिट पोइन्ट भइसकेको छ । अब पनि हामी यस्ता नेतृत्वहरुबाट के आशा गर्ने ? के अपेक्षा राख्ने ? जो–जो अहिले नेतृत्वमा हुनुहुन्छ, तपाईँहरु सुध्रिनुस् । 

हामीलाई थाहा छ, भ्रष्टाचार नगरी तपाईँहरुलाई निन्द्रा लाग्दैन । तर पनि हामी तपाईँहरुलाई सतर्क गराउन चाहन्छौँ । यदी सुध्रिनु भएन भने ७७ जिल्लाका, विदेशमा बसेका समेत सबै नेपाली सडकमा उत्रिने छन् र तपाईँहरुमाथि औँला ठड्याउने छन् । 

आदर्णीय दाजुभाई दिदीबहिनीहरु, तपाईँहरुलाई म मेरो सम्पूर्ण टिमको तर्फबाट आह्वान गर्न चाहन्छु, जो जो यसमा आबद्ध हुनुहुन्छ, जो–जो अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुन्छ, सबैभन्दा पहिला तपाईँ–हामी सुध्रिनुपर्छ, तपाईँ हामी सुध्रिएपछि मात्रै अरुलाई सुध्रिनुस् भन्न सुहाउँछ । 

यदि तपाईँ हामी सुध्रिँदैनौँ, हामीमा व्यक्तिगत स्वार्थ छ, लोभ छ भने यो अभियानमा नआउनुस् । ३ करोड नेपालीको लागि केही गर्छु भनेर कसम खाएर आउनुस्, हातेमालो गरौँ । 

अन्तमा, नेपाल आमालाई सम्झिएर, नेपाल र नेपालीका लागि २९ वर्ष प्रहरी जवानको हैसियतले काम गरेँ । तपाईँहरुले जति मौका दिनुहुन्छ, पारदर्शी रुपमा इमान्दारिताका साथ यो देशको सेवा गर्नेछु ! 

(हाम्रो नेपाल सुशासन अभियान’ घोषणा कार्यक्रममा पूर्व डिआईजी रमेश खरेलले दिएकाे अभिव्यक्तिकाे  सम्पादित अंश)  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *