इन्द्र बराह गल्फको उपाधि विरेन्द्रको पोल्टामा
धरान,माघ ७ । ‘एमेच्योर गल्फर’ विरेन्द्र बिक्रम लिम्बूले आठ अण्डर ६२ खेल्दै चौथो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुनामेन्टको उपाधि जितेका छन् ।
धरान गल्फ क्लवको आयोजनामा धरानको निर्वाणा कन्ट्री क्लबको खेल मैदानमा १८ होल पार गरी ७० को गल्फ कोर्षमा २३ हेण्डिक्यापका लिम्बूले उपाधि उचालेका हुन् ।
उत्कृष्ट प्रदर्शन गरेका लिम्बूले ४ हेण्डिक्याप समेत घटाएका छन । जीतसंगै उनले ट्रफी सहित १० हजार रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरेका छन । त्यस्तै ३ हेण्डिक्यापका हरिबहादुर राई ३ अण्डर ६७ स्कोर गर्दै फष्ट रनर अप बन्दै ट्रफी तथा ६ हजार रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरेका छन् ।
राईको पनि १ हेण्डिक्याप घटाएकोे छ । एक स्ट्रोकले पछि परेका १८ हेण्डिक्यापका रविन राई सेकेण्ड रनर अप बन्न पुगेका थिए । उनले २ अण्डर ६८ खेल्दै ट्रफी सहित ३ हजार ५ सय रुपैया बराबरको गिºट भौचर प्राप्त गरेका छन । रविनको पनि एक हेण्डिक्याप घटेको छ । धरानको हेण्डिक्याप कमिटीले खेलको उत्कृष्टताको आधारमा उनीहरुको हेण्डिक्याप घटाएको हो ।
उता युवराज भुजेलले ३ ओभर ७३ खेल्दै बेष्ट ग्रसको उपाधि जितेका छन । उनले ४५ सय रुपैया बराबरको गिºट भौचर प्राप्त गरेका छन । स्ट्रोक प्लेको आधारमा भएको खेलमा नियरेष्ट टु दि पिनमा मेजर डिवी राई उत्कृष्ठ बन्न सफल भएको छ भने उनले ८ औं होलमा ‘नियरेष्ट टु दी पिन’ गरेका थिए ।
त्यस्तै लगेष्ट ड्राइभको टाइटल बिक्रम राईले जितेका छन । त्यस्तै खेलको मोष्र्ट बर्डि निरज तामाङ घोषित भएका थिए । उनले पार ७० मा ४ वटा होलमा बर्डी गर्न सफल भएका थिए । सिनियर विजेता तर्फ मेजर एम वि लिम्बू घोषित भए भने बेष्ट स्पोर्टस् मेन सिपको उपाधि महिला गल्फर झुना राईलाई प्रदान गरिएको थियो । उनी ३७ एमेच्योर गल्फर स्पर्धामा एक्ली महिला गल्फर हुन् । सोही खेलमा अन्य टाइटल विजेतालाई ट्रफी सहित २ हजार रुपैया बराबरको गिफ्ट भौचर समेत प्रदान गरिएको थियो ।