नेपाल संवतका अवसरमा राष्ट्रपतिको शुभकामना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्।
नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन्।
सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गरेकी छन्।
null
उपराष्ट्रपतिबाट शुभकामना
उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरूको महान् चाड तिहार तथा नेपालको मौलिक संवत् नेपाल संवत्को ११३९ को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना व्यक्त गरेका छन्।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उपराष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
महान् चाड तिहार र नव वर्षले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहानालाई पूरा गर्न तथा सबै नेपालीलाई एकाकार भएर अगाडि बढ्न प्रेरणा दिउन् भन्ने कामना गरेका छन्।