वीपी प्रतिष्ठानमा पहुँच हुँनेलाई आवास नहुँनेलाई डेराको पिरलो, आवासमा कोहि कुखुरा पाल्ने, कोहि चटपटे बेच्ने

माघ ४, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आबासमा समस्या उत्पन्न हुँदा कामदारलाई असहज अबस्था सिर्जना हुन थालेको छ । सप्तरीका लक्ष्मण कुमार पासवानले काम गरेको ३ बर्ष पुरा भयो सुरुमा उनी ज्यालादारीको रुपमा जागीरमा प्रवेश गरेका दुई बर्ष पछि मात्रै करारमा नियुक्त भए । 

प्रतिष्ठानमा टाढाबाट आउने कर्मचारीहरुको सहजताको लागि आवास गृह समेत खोलिएको छ । जहाँ प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको आश्रृत परिवार समेत बस्ने गरेका छन् । प्रतिष्ठानले पहुँच, चिनजान र आफन्तको साईनो भएकाहरुलाई सजिलै आवास दिनेभए पनि चिनजान  नभएका सोझा कर्मचारीहरु भने कोठा खोजेर बस्ने गरेका छन् ।   

प्रतिष्ठानमा दुई वर्ष अघि आएका लक्ष्मण पासवानले अहिले सम्म क्वाटर पाएका छैनन् । श्रीमती सहित डेरामा बस्ने पासवानले अहिले श्रीमति विरामी भएपछि स्याहार गर्नका लागि घर पुर्याएका छन् । डेन्टल विभागमा ल्याब टेक्नीसियनको रुपमा काम गर्ने उनी क्वाटर पाइएला की भन्ने आशमा थिए तर उनको कसैसँग पहुँच र चिनजान नहुँदा भौतारिइरहेका छन । 

जनकपुरका मनोज कुमार महतोलाई पनि वीपी प्रतिष्ठानमा क्वाटर नपाउँदाको पीडा छ । ३ वर्षदेखी डेन्टल विभागमै टेक्निसियनको रुपमा कार्यरत उनी पनि पहिला श्रीमती संगै बाहिर कोठा भाडामा लिएर बसेका थिए । तर, अहिले श्रीमति प्रसुती हुने समय भएकोले श्रीमतिलाई जनकपुर पुर्याएका छन् ।   

श्रीमति प्रसुती हुने समयमा क्वाटरको लागी धेरै पटक अनुरोध गरेपनि प्रशासनले नसुनेको उनको भनाई छ ।  उनको अनुरोध सुन्ने कोही भएन । उनले २ महिनाकी सुत्केरी श्रीमतिलाई स्याहार सुसारका लागि घर पठाएका छन् ।   

भनसुन र पहुँचको भरमा क्वाटर वितरण भएपछी प्रतिष्ठानका कमजोर कर्मचारी समस्यामा छन् । प्रतिष्ठानको आवास कमिटीले निर्णय गरेपछि मात्र क्वाटर पाउने व्यवस्था छ । प्रतिष्ठानमा काम गर्न सुरु भएको ६ महिनामै क्वाटरमा बस्न पाउनेहरुको कारण पुराना कर्मचारीहरु अन्यायमा परेका हुन् । 

१२ सयको संख्यामा रहेको क्वाटरमा ४ सयको हाराहारीमा कर्मचारीहरु बस्छन् भने बाँकी माथिल्लो श्रेणीका पदाधिकारी, डाक्टरहरुको लागी छुट्याइएको छ । प्रतिष्ठानमा भर्ना भएको मिति र सम्बन्धित व्यक्तिको घरको दुरीको आधारमा क्वाटर दिने व्यवस्था मिलाइएको हुन्छ । तर, आवास कमिटिले नियमानुसार भन्दापनि स्थानीय नेताको भनसुन र पहुँचको भरमा क्वाटर बितरण गर्ने गरेको कर्मचारीहरु बताउँछन् । स्थानीय घर भएकाहरुले पनि क्वाटर प्रयोग गर्ने गरेकोले आफुहरु उपेक्षामा परेको उनीहरुको भनाई छ  ।   

प्रतिष्ठानको आवास क्षेत्रमा दिनानुदिन आवाञ्छित क्रियाकलापहरु बढ्दै गईरहेको छ । प्रतिष्ठानको आवासमा बस्नेहरुले कुखुरा पाल्ने, कोठाबाट निस्केको फोहोर नजिकै फाल्ने, कोठामा नै चटपटे, मदिराको ब्यापार गर्नाले प्रदुषण बढेको जी २ का एक कर्मचारीले बताए । ‘कतिपयले अतिरिक्त कमाईका लागि चटपटे बेच्ने, कुखुरा पाल्ने समेत गरेका छन् । यसले यहाँको प्रदुषण बढेको छ ।’ उनले भने ।   

प्रतिष्ठानको जी २ आवास क्षेत्रमा कतिपयले भवनभित्र दाउरा बाल्नाले धुवाको कारण भवन कालो भई स्वास्थ्य बिग्रिदै गईरहेको उनीहरुको गुनासो छ । 

प्रतिष्ठानका कर्मचारीकै सुविधाका लागि प्रतिष्ठानले बनाएको आवास क्षेत्र प्रदुषण हुँदा प्रशासन भने मौन छ । आवास क्षेत्रको दक्षिण–पश्चिमतिर पर्खालको बाहिर फोहोर फयाँक्नाले वरीपरीको वातावरण नै दुषित भएको छ । कतिपय कर्मचारीले सोको विरोध गरेपनि प्रशासनले सुधारको उपाय खोजेको छैन ।   

प्रतिष्ठानका सफाई मजदुरले पर्खाल बाहिरको फोहोर उठाउँदैनन् । प्रतिष्ठानको सरसफाइको जिम्मा लिएको अप्पुश्री इन्टरप्राइजेजले झारा टार्ने काम मात्र गर्ने गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *