चितवनमा जनप्रदर्शन र नारावाजी हुन थालेपछि निषेधित क्षेत्र घोषणा, रवि लामिछाने लगायतलाई म्याद थप्ने तयारी

भाद्र २, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दिनहुँ प्रदर्शन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको छ ।  जिप्रका चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । 

पुडासैनीको आत्महत्या केसमा अनुसन्धानमा ५ दिनको हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा हज्जारौंको संख्यामा भेला भएका समर्थक बाट प्रदर्शन र विरोध जुलुस हुन थालेपछि भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको जिप्रका चितवनले जनाएको छ ।   

निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू भएपनि प्रशासनले बेवास्था गरेको छ । उक्त क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्दा अस्पतालमा उपचारका लागि आउने विरामी तथा सरकारी कार्यालयमा आउने सेवाग्राहीहरु मर्कामा परेका छन् । 

दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् । उनीहरुले प्रहरीको अनुसन्धानलाई असर गर्ने कृयाकलाप नगर्ने ऐक्यबद्धता जनाएका छन् । 

चितवन प्रहरीले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको बताएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले चितवनको शान्तिसुरक्षा कायम गर्न र संभावित प्रदर्शन नियन्त्रण गर्न अधिकतम सतर्कता अपनाइएको बताए ।   

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ । पत्रकार लामिछाने, दिपक कँडेल र नर्स अस्मिता कार्कीमाथी प्रहरीले हिरासतमा लिएरै अनुसन्धान गरीरहेकोमा पुनः म्याद थप्ने तयारी गरेको छ ।   

जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालेकोमा अझ समय थप गर्ने तयारी गरेको छ । अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ । जनदबाब र विरोध हुन थालेपछि चितवनमा प्रहरीको संख्या बढाईएको छ । 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाडौँबाट प्रहरीको विशेष अनुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । 

अनुसन्धानमा थप सहयोग पुर्‍याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्नेछ । टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *