कृषी राज्यमन्त्री राम कुमारी चाैधरी द्वारा भ्रमण सहयोग र सहकार्य गर्न आग्रह
भाद्र १८, धरान । धरानमा केन्द्रीय कार्यलय रहेको बराह ग्रुपले मोेरङको ग्रामथान–५ तेतरियामा सञ्चालन गरेको बराह कृषि उपज तथा पशुपालन परियोजनाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले मंगलबार निरीक्षण गरेकी छिन् ।
भ्रमणकै क्रममा मोरङको ग्रामथान–५ तेतरिया पुगेकी राज्यमन्त्री चौधरीले सो परियोजनाको अनुगमन समेत गरेकी छिन् ।
सोही स्थानमा मन्त्रीका लागी राखिएको स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा बजेट बढाइएको बताइन् । ‘सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको समेत उनले बताइन् । मन्त्री चौधरीले मन्त्रालय र किसान समूहले सञ्चालन गरेका कृषि सुपर जोनमा बजेट थप गरिएको जानकारी दिएकी छिन् ।
राज्यमन्त्री चौधरीले सुपर जोनहरुको पुनःसंरचना गरिने पनि बताइन् । यसका साथै उनले सुपरजोनहरुको पुनरावलोकन गरिने पनि जानकारी दिइन् । राज्यमन्त्री चौधरीले वास्तविक किसानले अनुदान पाउनुपर्छ भन्ने कुरामा आफू दृढ रहेको जनाउँदै उनले अनुदानको सही ठाउँमा सदुपयोग हुनुपर्ने कुरामा जोड दिएकी छिन् ।
कार्यक्रममा बोल्दै बराह कृषि उपज तथा पशुपालन प्रालिका अध्यक्ष मानबहादुर विश्वकर्मा दियालीले ६ बिगाहा १४ कठ्ठामा परियोजना सञ्चालित रहेको बताएका थिए । यसमा कृषिसँगै पशुपालनलाई पनि जोड दिइएको बताए ।
परियोजनाले कृषि खेतीका साथै माछा, कुखुरा, गाई तथा उन्नत जातका घाँसको उत्पादनलाई प्राथमिकता दिएको छ । हाल माछा, कुखुरा, बंगुर एवम् पाठा बिक्री वितरण, माछा ह्याचरी भुरा उत्पादन गरी विक्री वितरण, उन्नत जातका बाख्रा पालन साथै मासुको पनि बिक्री वितरण गरिएको उनले बताए ।
उनले उन्नत जातको बिउबिजन उत्पादन, तरकारी खेती, दुधजन्य परिकारका उत्पादन, कृषि पर्यटन सञ्चालन गर्ने, बायो ग्याँस उत्पादन गरी फोहोरलाई मोहरमा बदल्ने, गोबरबाट कम्पोष्ट मल उत्पादन, आधुनिक औजारको प्रयोगबाट कृषिलाई आधुनिकीकरण गर्ने, आगामी दिनमा डेरी मार्फत् दैनिक १००० लिटर दूध उत्पादन गर्ने लगायतका कार्य गर्दै परियोजना अघि बढिरहेको सुनाए ।