‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ हिसान शैक्षिक मेला आजबाट सुरु

काठमाडौं, ९ जेठ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ हिसान शैक्षिक मेला बिहीबारबाट सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान र कान्तिपुर पब्लिकेसन्सले संयुक्त आयोजना गर्न लागेको मेलाको यो छैटौं संस्करण हो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेलाको उद्घाटन हुने हिसानले जनाएको छ । 

‘हिसान एडुफेयर–२०१९’ मेला आगामी आइतबारसम्म चल्नेछ । एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो । 

 

null

‘एसईई परीक्षाको नतिजा पर्खाइमा रहेका देखि उच्च शिक्षा कहाँ, कुन र कस्तो विषय पढ्ने भन्नेबारे सम्पूर्ण जानकारी दिने शैक्षिक मेलाको मुख्य उद्देश्य हो,’ हिसानका महासचिव लोकबहादुर भण्डारीले भने, ‘अभिभावकले स्वदेशमै अब्बल शैक्षिक संस्थाहरू छन् र गुणस्तरीय शिक्षा दिने शैली, तौरतरिका तथा उनीहरूको स्थितिबारे जान्न सक्नुहुनेछ ।’ 

हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माले शैक्षिक मेलाको तयारी पूरा भएको जनाए । ‘प्रदर्शनी कक्षहरूमा सबै किसिमको व्यवस्थापन तयारी पूरा भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट उद्घाटन भएलगत्तै सबैले अवलोकन गर्न, जिज्ञासा मेट्न सक्नुहुनेछ ।’ 

प्रदर्शनीस्थलको भित्र र बाहिर गरी १५० स्टल छन् । मेलामा स्वेदशमै सुचारु शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउनेछन् । शिक्षालयहरूले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता अन्योलबारे विद्यार्थीलाई जानकारी तथा परामर्श दिनेछन् । 

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ । विभिन्न संस्थाको प्रस्तुतिका साथै विज्ञहरूको सहभागिता शिक्षा तथा प्रविधिलगायत विविध शैक्षिक जानकारीमूलक र विषयगत सेमिनारसमेत हुनेछन् । अवलोकनका निम्ति निःशुल्क प्रवेश, विभिन्नकलेजले निःशुल्क छात्रवृत्तिसमेत दिने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *