चितवन ट्राफिकले पायो मापसे जाँच गर्ने अत्याधुनिक मेशिन

किशोर खनाल

मंसिर २७, भरतपुर । पुरानो मेडिकल कलेजले चितवन ट्राफिक कार्यालयलाई मापसे  (मादक पदार्थ सेवन) जाँच गर्ने दुई वटा अत्याधुनिक मेशिन उपलव्ध गराएको छ ।
पुरानो मेडिकल कलेजले बुधबार मापसे जाँच गर्ने अत्याधुनिक मेशिन ब्रेथलाइजर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । कलेजका प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठले चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा र ट्राफिक प्रमुख सन्तोष पन्तलाई ब्रेथलाइजर हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक थापाले पुरानो मेडिकल कलेजले ब्रेथलाइजर उपलव्ध गराएर उदाहरणीय काम गरेको बताए । उनले मापसे सेवनले धेरै दुर्घटना बढिरहेको र यसको प्रयोगले मापसे सेवनबाट हुने दूर्घटनामा अवश्य कमी आउने बताए ।
ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले यसअघि चितवन ट्राफिक कार्यालयसँग मापसे जाँच गर्ने यस्तो खालको अत्याधुनिक मेशिन नरहेको बताए । उनले भने, ‘हामीलाई धेरै पहिल्यैदेखि यो मेशिन चाहिएको थियो, ढिलै भए पनि पाइयो ।’ पुरानो मेडिकल कलेजले सामाजिक काममा खेलेको भूमिकाप्रति पनि उनले तारिफ गरे । ‘मापसेबाट हुने दुर्घटनामा अब अवश्य कमी आउँछ, बुधबार बेलुकाबाट यो मेशिन प्रयोगमा आउँछ’ उनले भने, ‘यो मेशिनले टाढैबाट मापसे गरे नगरेको पत्ता लगाउँछ । कति प्रतिशत मापसे गरेको हो, त्यो पनि पत्ता लगाउँछ । यस्तो मेशिन चितवनमा पहिलो पटक प्रयोग भएको हो ।’
दुर्घटनाको प्रमुख कारणमध्ये मापसे पनि एक हो । चितवनमा मापसे प्रयोगबाट धेरै दुर्घटनाहरु भइरहेका छन् । ‘यो मेशिनको प्रयोगले चितवनमा मापसेबाट हुने दुर्घटनामा कमी आउँछ, यसको सही ठाउँमा सही प्रयोग हुन्छ’ ट्राफिक प्रमुख सन्तोष पन्तले भने, ‘यो मेशिन भएपछि मापसे जाँच गर्दा मुख खोल्नुपर्दैन, परैबाट मापसे सेवन गरेनगरेको पत्ता लगाइदिन्छ ।’
पुरानो मेडिकल कलेजले मापसे जाँच गर्ने अत्याधुनिक मेशिन कोरियाबाट ल्याएको हो । ‘कोरियाबाट करिब डेढ लाख खर्च गरेर यो मेशिन ल्याइएको हो, यसले ट्राफिक प्रहरीलाई मापसे जाँचमा ठूलो सहयोग पु¥याउनेछ’ पुरानो मेडिकल कलेजका सिनियर मार्केटिङ म्यानेजर दुर्गाप्रसाद न्यौपानेले बताए । उनले पुरानो मेडिकल कलेजले यसअघि पनि चितवन ट्राफिकलाई ठूलो सहयोग गरेको बताए ।
‘यसअघि पनि हामीले हर्न निषेधको स्टिकरहरु, ट्राफिक चिन्ह अंकित पकेट क्यालेन्डरहरु, जनचेतनामूलक होर्डिङबोर्डहरु बनाएका थियौँ’ म्यानेजर न्यौपानेले भने, ‘पुरानो मेडिकल कलेज स्वास्थ्य उपचारबाहेक सामाजिक काममा पनि सधैँ अग्रसर हुनेछ । यस्तो सहयोग फेरिफेरि गर्नेछ ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *