दसैँमा चितवनवासीले खान्छन् दुई करोडको खसीबोका

कार्तिक १, चितवन । यस वर्षको दसैँमा चितवन जिल्लाले झन्डै दुई करोड खसीबोकामा लगानी गरेको छ । चितवनमा १० हजारभन्दा बढी खसीबोका भारतबाट आयात भएका छन् ।  

खसीबोका मासु व्यवसायी संघ चितवनले यस वर्षको दसैँमा (घटस्थापनादेखि पूर्णिमासम्म) चितवन जिल्लाको लागि मात्रै १० हजार बढी खसीबोका भारतबाट आयात भएको जनाएको छ । संघका अध्यक्ष उद्धव तिमिल्सिनाले दसैँको अवधिमा चितवन जिल्लामा करिब १५ हजार खसीबोका खपत भएको बताए । घरमै पालिएका खसीबोका बाहेक नै व्यवसायबाट विक्री भएको संख्या हो यो ।  

‘तीन हजार खसीबोका स्थानीय उत्पादनले पुग्ला, बाँकी सबै भारतबाट आयात गर्नुपर्छ’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यहाँको उत्पादनले एक छेउ पनि हुँदैन, चितवनमा खपतको ९० प्रतिशत खसीबोका भारतबाट आयात गरिएको छ ।  

null

खसीबोका मासु व्यवसायी संघले जिल्लामा दर्ता भएका ९६ वटा मासु पसलबाट निकालेको तथ्यांकअनुसार चितवनमा दसैँको अवधिमा १५ हजार खसीबोका खपत हुँदा जिल्लावासीले झन्डै २ करोड खसीबोकाको मासुमा लगानी गरेका छन् ।गत वर्ष झन्डै ८ हजारको हाराहारीमा भारतबाट खसीबोका आयात भएको थियो । संघका अनुसार घरमै उत्पादन गरेर दसैँमा खासीबोका खपत हुनेको तथ्यांकमा समेटिएको छैन । यो सहित जोड्ने हो भने खसीबोकाको मासुमा मात्र २ करोड बढी लगानी हुन्छ ।  

चितवनको उत्पादनले वर्षको एक महिना पनि खसीबोका पु¥याउन नसक्ने खसीबोका मासु व्यवसायी संघले जनाएको छ । ‘पहिलेभन्दा जिल्लामा खसीबोकाको उत्पादन बढेको छ, तर झिनो उत्पादनले पुग्दैन, ठूला रुपमा व्यवसायिक बाख्रापालन यहाँ भएको छैन’ अध्यक्ष तिमिल्सिनाले भने, ‘खसीबोकामा वर्सेनि भारतको भर पर्नुपरेको छ ।  

चितवनका दर्ता भएका ९६ वटा मासु पसलमध्ये धेरैले भारतको उत्तरप्रदेशबाट खसीबोका ल्याइरहेका छन् । व्यवसायीले भारतबाट प्रायः हचुवाको भरमा खसीबोका किनेर ल्याउने गरेका छन् । भारतबाट जिउँदो जोखेर खसी ल्याउँदा प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्म परेको व्यवसायी बताउँछन् ।  

भारतबाट खसीबोका आयात गर्नुपर्दा महँगो परेको संघका महासचिव गणेशप्रसाद कँडेलले जानकारी दिए । उनले भने, ‘साउनदेखि नै भन्सार बढेको छ, क्यारेन्टाइन, निकासीपैठारी सबै बढेको छ, यहीँको उत्पादन भए सस्तो पनि पर्ने र सहज पनि हुने थियो ।’  

उनले चितवनमा व्यवसायीबाट दैनिक २८८ वटा खसीबोका खपत भएको भएको बताए । उनले भने, ‘एउटा खसीको १२ हजारको दरले चितवनवासीले मासिक झन्डै ११ करोड खसीबोकाको मासुमा लगानी गरेका छन् ।  

व्यावसायिक रुपमा चितवनमा खसीबोका पालन नहुँदा व्यवसायीहरु भारत धाउनु परेको उनको गुनासो थियो । उनले भने, ‘यहीँको उत्पादनले पुग्ने भए किन भारतबाट आयत गर्नुपर्ने नै थिएन । उनले सरकारले बाख्रापालनमा किसानलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने बताए । 

चितवनमा विभिन्न गैरसरकारी संस्थाहरुले बाख्रापालनमा जोड दिए पनि किसानहरु आकर्षित हुन नसकेका व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुका अनुसार चितवनको मासुपसलहरुमा गत साउनदेखि प्रतिकिलो खसीको बासोसहितको मासु ८०० र बोसोरहित मासुको ८८० रुपैयाँ लिने गरिएको छ । 

संघले दसैँ, तिहार र छठमा यही मूल्य रहने जनाएको छ । गतवर्ष प्रतिकिलो खसीको बोसोरहित मासुको ८३० र बोसोसहितको मासुको ७५० थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *