संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीमा शिवलिंग

कृष्ण बजगाईं

संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीमा शिवलिंग छ कि छैन, मलाई थाहा छैन । तर त्यहाँको मुख्य चोकको बनावट ठ्याक्कै शिवलिंगको जस्तो देख्दा आश्चर्य चकित भएँ । सेन्ट पिटर्स स्क्वायरको बीचमा ठडिएको अग्लो स्तम्भका दायाँ र बायाँ दुवैतर्फ बनेका अन्डाकार करिडोर सहितको समग्र आकृति शिवलिंगजस्तै देखिन्छ । त्यो गजबको समानता संयोग मात्रै होइन होला । नत्र त्यहाँ उनीहरूले किन शिवलिंगकै आकारको विशाल चोक बनाउँथे ? उतिखेर पूर्वमा ज्ञान र दर्शनको अजस्र स्रोत हिन्दू धर्मको ख्याति फैलिएका बेला हिन्दू धर्मभन्दा धेरै कान्छो क्रिस्चियन धर्ममा त्यसको प्रभाव परेन भन्न सकिन्न । क्याथोलिक क्रिस्चियनहरूको पवित्र स्थल भ्याटिकन सिटीमा हिन्दूको छाया देखिनु मेरा लागि खोजको विषय बन्यो ।

भ्याटिकन शब्दको उच्चारण संस्कृतको वाटिका शब्दसँग धेरै मेल खाँदो रहेछ । संस्कृतमा वाटिकाको अर्थ बगैँचा हो । उहिले ऋषिमुनि वाटिकाको रूखमुनि बसेर तपस्या गर्थे । त्यहीँ बसेर शिष्यलाई ज्ञान दिन्थे । क्याथोलिकका धर्मगुरु पोप भ्याटिकनमै बस्छन् । क्रिस्चियन धर्ममा पोप पनि ऋषिमुनिले जस्तै धर्म–देशना गर्छन् । वाटिकामा ऋषिमुनि बसेजस्तै पोप बस्ने ठाउँलाई वाटिका भन्दाभन्दै अपभ्रंश भएर भ्याटिकन भएको हो कि भनेर अनुमान गर्नेको तर्कले मलाई पनि सोच्न बाध्य बनायो । भ्याटिकनमा क्रिस्चियन धर्मले प्रवेश पाउनुअघि भ्याटिकन हिललाई रोमनहरूले अति पवित्र स्थलका रूपमा मान्थे । त्यतिबेला त्यस पवित्र स्थलको कुनै पनि क्षेत्रमा बास बस्ने अनुमति थिएन । त्यसको पवित्रता थाहा पाएरै होला क्याथोलिकले त्यहाँ आफ्नो मुकाम बनाएको हुन सक्छन् भन्ने लाग्यो ।

टाइबर नदीको किनारामा अवस्थित भ्याटिकन हिल नै अहिले भ्याटिकन सिटीको रूपमा विकसित भएको छ । बाग्मती नदीसँगै काठमाडौंमा धार्मिक तथा ऐतिहासिक सम्पदाको जसरी निर्माण भएको थियो, उसैगरी टाइबर नदीसँगै भ्याटिकनका धार्मिक तथा ऐतिहासिक सम्पदाको विकास भएका हुन् । धर्म फरक भए पनि धार्मिक र ऐतिहासिक दृष्टिले काठमाडौं र भ्याटिकन तथा बाग्मती र टाइबर उत्तिकै महŒवपूर्ण छन् । उनीहरूले आफ्नो धर्म, संस्कृति र सम्पदाको संरक्षण गरेका छन् भने हाम्रो देशमा भएभरको शक्ति र तिकडम लगाएर राष्ट्रका गौरव त्यस्ता सम्पदा हडप्ने, चोरी गर्ने र क्षति पु¥याउने कार्य जारी छ । यस्ता कुरा सम्झँदा पराई भूमिमा रिसले मुर्मुरिन्छु ।

यसपटकको यात्रामा अनौठो अनुभव भयो । रोम सहर घुम्दाघुम्दै कतिखेर भ्याटिकन सिटीमा पुगिएछ पत्तै पाइन । न देशको नाम लेखेको साइनबोर्ड छ, न कुनै अध्यागमन, न त प्रहरी जाँच पोस्ट । कतै केही देख्नै नपाई विशाल सेन्ट पिटर्स स्क्वायरमा मेरा पाइतालाले स्पर्श गरिसकेका थिए । एउटा देशबाट अर्को देश पुग्दाको यस्तो विचित्र अनुभव यात्राका क्रममा थुप्रै देश पुग्दा कहीँकतै भएको थिएन ।

अगस्टको मध्य दिउँसो भ्याटिकन सिटीमा पुग्नुअघि नै गर्मीले हायलकायल पारिसकेको थियो । चर्को घामले टाउको नै विस्फोट होला जस्तो लाग्दै थियो । सारा शरीर पसिनाले निथु्रक्क भएको थियो । ३९ डिग्री सेन्टिग्रेडको तापक्रमले शरीर सेकिरहेको थियो । आकाशतिर नजर लगाउँछु, बादलको नामोनिसान थिएन । जति नै चर्को घाम भए पनि यात्रा स्थगित गर्ने कुरै थिएन । सूर्य नारायणको प्रसाद भिटामिन ‘डी’ क्रिस्चियनको पवित्र स्थल भ्याटिकन सिटीमा ग्रहण गर्दै गएँ । त्यो उत्पात गर्मीमा संसारभरका सयौँ नरनारीका देह प्रदर्शन र देह दर्शनका प्रतिस्पर्धात्मक रोमाञ्चकारी दृश्यलाई ‘सन ग्लास’बाट चियाउँदै अघि बढेँ ।

भ्याटिकन सिटीका नामले प्रख्यात भए पनि इटलीको रोम सहर भित्रको त्यो सानो भू–भाग एक सार्वभौम सम्पन्न देश हो । नेपालसहित यसले संसारका प्रायः देशसँग दौत्य सम्बन्ध कायम राखेको छ । तर युरोपभित्र रहेर पनि युरोपियन युनियनमा संलग्न नहुनु र संयुक्त राष्ट्रसंघको सदस्य नरहेको थाहा पाउँदा उदेक लाग्यो । हुन त देश नै अचम्मको रहेछ । हाम्रो देशको गाउँपालिकाको एउटा वडाभन्दा पनि सानो भ्याटिकन सिटीको कुल क्षेत्रफल ४४ हेक्टर मात्र छ । करिब ४५ मिनेटमा पैदल घुमी सकिने देशको जनसंख्या करिब आठ सय मात्र रहेको थाहा पाउँदा हुनसम्म आश्चर्य भयो । त्योभन्दा धेरै जनसंख्या त युरोप वा अमेरिकाको एउटा हाइराइज बिल्डिङको अपार्टमेन्टमा बस्नेहरूको हुन्छ । अर्को रोचक कुरा, त्यहाँका कुनै पनि नागरिक भ्याटिकन सिटीमा जन्मेका होइनन् । त्यहाँ कुनै पनि बच्चाको जन्म नहुनु अर्को आश्चर्यलाग्दो कुरा लाग्यो । यो कुरा थाहा पाएपछि बच्चा नजन्मने भ्याटिकन सिटीलाई मानव सृष्टिको चक्र रोक्ने बाँझो जमिन भन्न मन लाग्यो । पोपले नियुक्त गरेका कर्मचारी र क्याथोलिक धर्मका विभिन्न पदाधिकारीले मात्र भ्याटिकन सिटीको नागरिकता पाउँदा रहेछन् । विडम्बना ! तिनीहरूको जागिर छुट्नेबित्तिकै नागरिकता पनि खोसिँदो रहेछ । जागिरमा अडिएको नागरिकता बोकेर काम गर्ने ती पदाधिकारीले जागिरलाई बढी माया गर्लान् कि भ्याटिकन सिटीलाई भनेर सोच्छु । कहिल्यै नसुनेको र नपढेको त्यहाँको अजिब परिपाटी मेरा लागि बिल्कुल नयाँ थिएन । नयाँ जानकारी थाहा पाउँदै जाँदा बडो रमाइलो लाग्न थाल्यो ।

भ्याटिकन सिटीमा संसारमा नभएको अचम्मको राजतन्त्र कायम छ । वंशवादको राजतन्त्र होइन, ‘कार्डिनल’हरूबाट निर्वाचित हुने पोपद्वारा सञ्चालित राजतन्त्र । सम्पूर्ण अधिकार प्राप्त पोप त्यहाँका राजा मानिँदा रहेछन् । सन् १९२९ मा इटलीका तत्कालीन प्रधानमन्त्री मुसोलिनी र पोपले हस्ताक्षर गरेपछि भ्याटिकन सिटी नयाँ राज्यको रूपमा स्थापित भएको हो । भ्याटिकन सिटीले राज्यको मान्यता पाउन इटलीसँग लामो समयसम्म संघर्ष गर्नुप¥यो । आठौँ शताब्दीमा रोम नजिकका प्रदेशमा चर्चको शासनलाई स्विकारिएपछि ‘पेपल स्टेट्स’को प्रारम्भ भएको थियो । तर सन् १८७० मा इटलीले पेपल स्टेट्सलाई आफ्नो अधिकारमा लिएर राज्य सञ्चालन गर्न थालेपछि चर्च र राज्यबीच तनाव सुरु भयो । क्याथोलिक धर्ममा पोप परमेश्वरका प्रतिनिधि मानिन्छन् । परमेश्वरका जीवित प्रतिनिधि कुनै राज्यको अधिनमा राख्नु र तिनीउपर कसैले नियन्त्रण गर्नु परमेश्वरलाई स्वीकार्य नहुने चर्चको तर्क थियो । यही विषयलाई लिएर भ्याटिकन सिटी र इटलीबीच लामो समयसम्म शीत युद्ध चलिरह्यो । पछि बल्लतल्ल मुसोलिनीको पालामा भ्याटिकन सिटीलाई धार्मिक राज्यको रूपमा मान्यता दिइएको थियो । युद्धबिना सर्लक्क नयाँ देशको सिमाना कोरिएको कुरा थाहा पाउँदा आश्चर्य लाग्यो । बाबुले छोराहरूलाई जमिनको अंश बन्डा गरिदिएजस्तै सहज तरिकाले नयाँ देश सिर्जना गरिएको त्यो विशेष घटना थियो । अहिले यसरी विनारक्तपात नयाँ राज्य निर्माण वा एकीकरण हुने सम्भावना अत्यन्त न्यून छ । भ्याटिकन सिटीले राज्यको मान्यता पाउनु एउटा विशेष परिस्थितिको उपज थियो ।

संसारभरका मानिसले काम गर्ने भएकाले होला भ्याटिकन सिटीको कामकाजी प्रमुख भाषा अंग्रेजी, फ्रेन्च, इटालियन र ल्याटिन छ । भ्याटिकन सिटीको आफ्नै झन्डा, राष्ट्रिय गान, मुद्रा र हुलाक टिकट पनि छ । त्यहाँबाट पत्रिकाको प्रकाशनदेखि रेडियो र टिभीको प्रसारण समेत हुने गर्छ । त्यति सानो देश भएर पनि रेडियो भ्याटिकनले संसारका ४७ वटा भाषामा समाचार र धार्मिक कार्यक्रम प्रसारण गर्छ । तर त्यति सबै हुँदा पनि त्यसको आफ्नै सेना नभएको थाहा पाउँदा छक्क पर्छु । आफ्नै सेना नभएर के भो त ? भाडाका सेनाले पूरै भ्याटिकन सिटीको सुरक्षा गर्दा रहेछन् । ती सेनाको पनि लामो इतिहास रहेछ । १५औँ शताब्दीमा तत्कालीन पोपले स्विट्जरल्यान्डबाट मिसनरी बोलाएका रहेछन् । त्यतिबेला उनले स्विट्जरल्यान्डबाट सेनाका एक सय जवान पनि ल्याएछन् । उति बेलाको त्यस कार्यलाई निरन्तरता दिँदै स्विट्जरल्यान्डबाट अहिले पनि सेना ल्याउने परम्परा कायम छ । भ्याटिकन सिटीको यस्तो कार्य हाम्रोतिर श्राद्ध गर्न बिरालो बाँध्ने चलनजस्तै लाग्यो ।

अरु नै देशका नागरिकको बसोबास, अर्को कुनै देशको नागरिक पोप बनेको र बाह्य देशका सेनाद्वारा देशको शासन कुशलतापूर्वक सञ्चालन गरिएको दृश्य देखेर छक्क परेँ । जुन देशमा जन्मियो, त्यही देशको शासन चलाउने तहमा पुगेका उच्च व्यक्तिले विदेशीको इसारामा देश सञ्चालन गरेको एउटा दृश्य मेरो मानसपटलमा केही वर्षदेखि घुमिरहेको छ । अर्कोतिर भ्याटिकन सिटीमा बाहिरबाट आएका मानिसले इमानदारितापूर्वक अरुको देश सञ्चालन गरेर सबल र सम्पन्न देश बनाएकोे देखेँ । ती फरक दुई दृश्य सम्झँदा मथिंगल हल्लायो । समृद्ध राष्ट्र बनाउन नैतिकता र इमानदारिता मात्र भए पुग्ने रहेछ । मेरो देशमा त्यस्ता राजनेताको जन्म कहिले होला ? आफ्नो देशको विकृति र विसंगति सम्झी ल्याउँदा परदेशमा मन दुख्यो ।

हरसमय भीड हुने भ्याटिकन सिटीको सेन्ट पिटर्स स्क्वायरको सुन्दरतामा मुग्ध पर्यटकको ताँती देख्छु । प्रथम पोप पिटरको सम्मानमा बनाइएको सेन्टपिटर्स स्क्वायरमा अवस्थित विशाल अग्लो स्मारक पर्यटकको आकर्षण केन्द्र रहेछ । इजिप्सियन रातो ग्रेनाइटबाट बनेको त्यो स्तम्भ उतिबेला सौर्य घडीको रूपमा प्रयोग गरिँदो रहेछ । त्यो स्तम्भको अवलोकनपश्चात् ठीक सामुन्ने रहेको विशाल भवनतिर लाग्छु । पुनर्जागरणकालीन वास्तुकलाको अनुपम नमुना त्यो भवन चित्ताकर्षक लाग्यो । संसारको सबैभन्दा ठूला चर्चमध्ये एकको रूपमा लिइने उक्त भवनलाई ‘सेन्ट पिटर्स बासिलिका’ भनिँदो रहेछ । उक्त बासिलिकामा प्रथम पोप पिटरलाई समाधिस्थ गरिएको छ । विभिन्न अवसर र धार्मिक समारोह हुँदा त्यही भवनको बाल्कोनीमा आएर पोपले दर्शन र आर्शीवाद दिँदा रहेछन् । उनले हात उठाएर दर्शनार्थीलाई आशीर्वाद दिने त्यो बाल्कोनी मैले टिभीमा धेरैपटक देखेको थिएँ । निकैबेर त्यस बाल्कोनीमा हेरिरहेँ । के थाहा, अचानक बाल्कोनीमा पोप आएर मलाई आशीर्वाद पो दिइहाल्छन् कि भन्ने सपना पो देख्न थालेछु । बाल्कोनीमा लामो समयदेखि नजर लगाइरहेका मजस्ता थुप्रै दर्शनार्थी पनि सायद त्यस्तै सपना देख्दै थिए कि ?

भ्याटिकन सिटीको कानुन व्यवस्था धर्म विधानमा आधारित छ भने न्यायालय चर्चको हिस्साको रूपमा रहेको छ । इतिहासमा एउटा दुःखदायी घटना छ । चर्चले मानेको भन्दा अलग कुरा गरेको भनेर जीवनको उत्तराद्र्धमा ग्यालिलियोलाई पक्रेर भ्याटिकन सिटीमा अवस्थित ‘द होली अफिस’मा नजरबन्दमा राखिएको थियो । सन् १६४२ मा नजरबन्द अवस्थामै उनको मृत्यु भयो । वैज्ञानिक, गणितज्ञ, खगोलशास्त्री, दार्शनिक तथा पिसा विश्वविद्यालयका प्राध्यापक ग्यालिलियोले क्रिस्चियन धर्ममा उल्लेख भएको भन्दा अगल सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने कुरालाई समर्थन गरेका थिए । ग्यालिलियोले मानेकै कुरा भ्याटिकनले आधिकारिक रूपमा सन् १९२२ मात्र स्विकारेको थियो । तीन सय वर्षपछि आएर ग्यालिलियो ठीक र भ्याटिकन राज्य गलत भएको स्वीकार्नु भनेको उनलाई दिएको सजायको प्रायश्चित गरेजस्तो लाग्यो । त्यस्तै केही दशकअघि संसार प्रसिद्ध सांगीतिक समूह बिटल्सका एक सदस्य जोन लेन्नोनले एक अन्तर्वार्तामा ‘हामी जिसस क्राइस्टभन्दा बढी लोकप्रिय छौँ,’ भन्दा उनको पनि तीखो निन्दा गर्दै उनीविरुद्ध भ्याटिकन खनिएको थियो । यस्ता थुप्रै कुरा पढ्दा र सुन्दा लाग्छ, जिसस क्राइस्ट र बाइबलको प्रतिनिधि र आधिकारिक व्याख्याता भ्याटिकन सिटी मात्र हो । फतवा जारी गर्न भ्याटिकन पनि कहाँ कम रहेछ त ?

भ्याटिकन सिटीको प्राचीन भवन र प्रसिद्ध चर्च हेरेर मन्त्रमुग्ध भएँ । तिनको निर्माण र सजावट संसार प्रसिद्ध कलाकारबाट भएको रहेछ । इसाई धर्मको मुख्य सम्प्रदाय रोमन क्याथोलिक चर्चको मुख्यालय, सर्वोच्च धर्मगुरु पोपको निवास, चर्च, म्युजियम आदि ऐतिहासिक तथा धार्मिक महŒवका थुप्रै कलात्मक भवन भएका कारण होला पूरै देश अर्थात् भ्याटिकन सिटी नै युनेस्कोको विश्वसम्पदामा सूचीकृत भएको छ । पूरै देश नै विश्वसम्पदामा सूचीकृत भएको भ्याटिकन सिटी मात्र एउटा देश हो ।

भ्याटिकन सिटी आएपछि विश्वका महŒवपूर्ण संग्रहालयमध्ये एक भ्याटिकन म्युजियममा छुटाउने कुरै आएन । अति प्राचीन तथा दुर्लभ कलाकृतिले भरिपूर्ण उक्त म्युजियममा सुरक्षित राखिएको लियोनार्दो दा भिन्ची, माइकल एन्जेलो, राफेलजस्ता विश्वप्रसिद्ध कलाकारको कला कृति हेर्न आतुर थिएँ ।

भ्याटिकन म्युजियमअगाडि पुग्दा टिकट किन्नेको अति लामो लाइन देखेर हतास भएँ । फेरि भ्याटिकन सिटी आइन्छ कि आइँदैन, आएका बेला जसरी पनि हेर्नुपर्छ, यही सोचेर टिकटको लाइनमा बसेँ । झट्ट त्यहाँ भएको एउटा सूचनामा नजर प¥यो । सूचना पढेर छक्क पर्नु त छँदै थियो, निराश पो भएँ ! भ्याटिकन म्युजियम हेर्नेका लागि ड्रेस कोड पो तोकिएको रहेछ । घुँडा, पाखुरा र भुँडी देखाउन नपाइने, मिनिस्कर्ट, हाफपेन्ट, टोपी लगाएर जान नपाइने कडा र अनिवार्य नियम रहेछ । परेन फसाद ! त्यत्रो लामो लाइनमा बसेर बल्लबल्ल टिकट किनेर गयो, ड्रेस कोड मिलेन भनेर फिर्ता पठायो भने पैसा र समयको नाश ! उत्पात गर्मीमा आफूले लगाएको लुगा हेरेँ । त्यसपछि लाइनबाट फुत्त बाहिर निस्केँ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *