मौन अवधिमा पैसा बाँड्दै गच्छदार ! ‘दिउँसो सुताउने,राति कुदाउँने’

सुनसरी, मङ्सिर २० । मौन अवधि लागू भए पनि त्यसले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई निर्वाचन आचारसंहिताले केही लछारपाटो लागेको छैन । दिउँसो मौन बेलुकी भएपछि कार्यकर्तालाई गाउँ गाउँमा पठाएर पैसा बाँड्दै भोट किन्दै गरेको रहस्य भेटिएको छ । मौन अवधिमा मतदाता फकाउने र पैसा बाँड्ने कामलाई उनले तीव्रता दिएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

स्थानीयका अनुसार सुनसरी क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका कार्यकर्ताहरू रातभर गाउँघर चहार्दै मतदाता रिजाउन लागिरहेका छन् ।

निर्वाचन आयोगको मौन अवधि सुरु भएसँगै प्रतिनिधिसभा उम्मेदवार विजयकुमार गच्छदारले आफ्ना कार्यकर्तालाई राती÷राती परिचालन गर्दै पैसा बाँडेर भोट मागिरहेका छन् । सो क्षेत्रबाट ५ पटक निर्वाचन जितेका गच्छदार र बाम गठबन्धनबाट नेकपा एमालेकी भगवती चौधरी चुनावी मैदानमा छन् । दोस्रो संविधान सभाको निर्वाचनमा पनि गच्छदार र चौधरीबीच नै प्रतिस्पर्धा भएको थियो । तर, त्यस बेला चौधरीले चुनाव जितेको भए पनि गच्छदारले ‘गद्धार’ काम गरेपछि परिणाम उल्टो भएको स्थानीयहरुले खुलेर बताउछन् ।

गच्छदारमाथि विगतका वर्षहरूमा पनि मौन अवधिमा मतदाता प्रभावित पारेरै चुनाव जित्ने गरेको आरोप झेल्दै आएका गच्छदार र चौधरीबीच यो पुनः दोस्रो प्रतिस्पर्धा रहेको छ ।

विगतको निर्वाचनमा चौधरीले कडा टक्कर दिएको र बाम गठबन्धनले गर्दा तर्सिएका गच्छदार यस पटक हारिने डरले उनले ‘साम दाम दण्ड भेद’ नै प्रयोग गरेर निर्वाचन जित्ने रणनीति बनाएको स्रोतको दाबी छ । आचारसंहिता एक ठाउँमा थन्क्याएर दिउँसो कार्यकर्तालाई सुताउने र राति चनाखो भएर गाउँ डुल्न लगाउने खेल भइरहेको बताइन्छ । केही कार्यकर्ताहरु भने दिउँसो नै झण्डा फहराउँदै  गाउँ-गाउँ छिर्ने गरेको समेत स्रोत बताउँछ ।

गच्छदारलाई शैलेशको साथ

उता,निरीह झैँ बनेको स्थानीय प्रहरी प्रशासनले पनि उनीहरू केही गर्न सकेको छैन । स्रोतका अनुसार इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेश न्यौपानेले समेत गच्छदारलाई भित्री सहयोग गरिरहेका छन् ।

‘यस पटकको निर्वाचनमा गच्छदार मतदाताका घरघर समेत गए । विगतका ५ ओटा निर्वाचनमा खासै घरदैलो नगरेका गच्छदार यस पटक ‘बिरासत’ गुम्ने डरले मतदाताका घरदैलोमा समेत सहभागी भएका छन् । उनी उपप्रधान तथा स्थानीय विकासमन्त्री हुन् । तर, मन्त्रालयमा कुनै जानकारी नदिई दुई सातादेखि गृह क्षेत्रमा भोट माग्न व्यस्त छन् ।’ नाम उल्लेख नगर्ने सर्तमा त्यहाँका एक स्थानीयल जानकारी दिए ।

सुनसरी क्षेत्र नं. ३ को अमाहीबेल्हा, औरावनी, बर्जु गाउँपालिका, पचिरा, सिमरिया, तनमुना, सोनापुरको छातावेली, मुसहर बस्ती लगायतका ग्रामीण भेगमा काँग्रेसका कार्यकर्ताहरू रातभर हिँड्ने गरेको स्थानीयहरुको भनाई छ । ‘राती ८–९ बजेतिर आउँछन्, हातमा एक दुई हजार थमाएर जान्छन् ।’ दुहवी प्रगति टोलकी एक मतदाताले बताइन् । उनले पहिलेका चुनावमा पनि यस्तै हुने गरेको जिकिर गरिन् । ‘अस्ति भएको चुनावमा पनि पैसा बाँडे ।’ उनले भनिन् ।

निर्वाचन आयोगले मतदान हुन ४८ घण्टा अघिदेखि मौन अवधि गणना गर्ने भए पनि यहाँ ‘मौन अवधि’मै भोट किनबेच हुने गरेको दुहवी बजारका एक व्यापारीले बताए । ‘यहाँको चुनाव राती मात्र लाग्छ, चुनाव हुने २ दिन अघि मात्र कसले जित्छ, कसको शक्ति कत्ति छ थाहा हुन्छ ।’ उनी भन्छन् ।

केही दिन अघि अमाहीबेल्हा शान्तिवन सुकुम्बासी टोलका भोला सरदारले आफूलाई गच्छदारका कार्यकर्ता आएर जवरजस्ती तीन हजार गोजीमा हालिदिएर गएको सार्वजनिक ठाउँमै उनले भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *