युवाहरू जुटे, नमुना अध्ययन गृह निर्माणमा

बैशाख १९, लम्की । मुक्त कमैया वस्तीमा नमुना अध्ययन गृह निर्माणका लागि युवाहरू अग्रसर भएका छन् । सिर्जनशील नेपाल नामक संस्थामा गोलवद्ध हुँदै युवाहरूले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १, स्थित मुक्त कमैया वस्तीका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच बृद्धि गर्न नमुना अध्ययन गृह निर्माणलाई अगाडि बढाएका छन् । 

पुरानो घर जीर्ण अवस्थामा पुगेकाले बालबालिकाले पठनपाठनमा कठिनाई भोग्नु परिरहेको छ । शिक्षिका सुधामा चौधरीका अनुसार प्रति विद्यार्थी दैनिक एक रुपैयाँका दरले पढाई शुल्क उठाएर २०७४ सालबाट पठनपाठन कार्य सञ्चालन भएको थियो । 

शिक्षिका सुधामाका अनुसार विद्यार्थीले बुझाएको पढाई शुल्कबाट उनीहरूका लागि कापी र सिसाकलम खरिद गर्ने गरिएको छ । बाँकी रहेको रकम शिक्षिका सुधामाले पारिश्रमिकका रूपमा लिने गरेकी छिन् । 

null

 

सो शैक्षिक संस्थामा पढ्नका लागि शुरुमा ३० जना बालबालिका भर्ना भएकोमा अहिले ५७ जना बालबालिकाले नियमित अध्ययन गरिरहेका छन् । सुधामाका अनसार तीमध्ये ११ जना बालबालिका अनाथ भएकाले निःशुल्क पढिरहेका छन् । 

गाउँमै डकर्मी तालिम सिक्दै गरेका युवाले मुक्त कमैया वस्तीमा काँचो ईट्टाको सानो कामचलाउ घर बनाएका थिए । त्यही घरमा बालबालिकालाई पठनपाठन भइरहेको अवस्थामा सिर्जनशील नेपालले सामाजिक सञ्जालमार्फत नमुना अध्ययन गृह निर्माण अभियान शुरु गरेको थियो । सुधामाले सो अध्ययन गृहमा बिहान र साँझ बालबालिकालाई पढाउने गरेकी छिन् । भने दिउसो नजिकैको विद्यालयमा पढाउछिन् । 

सिर्जनशील नेपालका अध्यक्ष जनक बिकले १३ जना युवाहरू एकजुट भएर अध्ययन गृह निर्माणमा लागेका बताए । अहिले तीन कोठे भवन निर्माण कार्य भइरहेको छ । भवन निर्माणमा १० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । विदेशबाट नेपालीहरूले सहयोग स्वरुप पठाएको दुई लाख ५० हजार रुपैयाँले जग निर्माण भएको छ । 

नमूना अध्ययन गृह निर्माणका लागि साउनदेखि शुरु गरिएको सामाजिक सञ्जाल अभियानमा आवद्ध मदन शाहीका अनुसार हालसम्म दुई लाख पचास हजार रुपैयाँ सहयोग संकलन भइसकेको छ । 

अभियानका सदस्य प्रकाश खनालले सामाजिक सञ्जाल अभियानमार्फत नै देशभित्र र बाहिरबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको बताए । उनले सो नमुना अध्ययन गृह निर्माणका लागि यस पटक देउसीभैलो खेल्ने तयारी भइरहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *