मनाङमा १५ घण्टादेखि हिमपात, जनजिवन कष्टकर, सडक समेत अवरूद्ध

पुस १९, मनाङ । मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो । 

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई/तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उनले भने, ‘अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बाध्य भएका छौँ ।’ 

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताए । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको उनको भनाइ छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ । 

नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *