कोरोना भाइरस : चीनमा करिव ६ हजार संक्रमित, आफ्ना नागरिकको उद्धार गर्दै अन्य राष्ट्र

माघ १५, काठमाडौं । चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या करिब छ हजार पुगेको छ  भने, विभिन्न देशहरूले आफ्ना नागरिकहरूको उद्धार सुरु गरेका छन्। 

उक्त भाइरस सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरूले पुष्टि गरेका छन्। 

यो सङ्ख्या १७ वर्षअघि फैलिएको अर्को कोरोनाभाइरस सङ्क्रमण सार्सको भन्दा बढी हो। 

अहिलेसम्म उक्त भाइरसबाट १३२ जनाले ज्यान गुमाई सकेका छन् । चिनियाँ चिकित्सा अधिकारीहरूले सङ्क्रमितहरूको सङख्या अर्को सातासम्म बढ्ने क्रममा नै रहनसक्ने बताएका छन्। 

जापान र अमेरिका अगाडि 

जापानले उद्धार गरेका जापानीहरूले वुहानबाट टोक्यो पुग्दा आफूहरूले ठूलो राहत पाएको अनुभव साटेका छन्। 

भाडामा लिइएको एक विशेष विमानमा उनीहरूलाई उडाइएपछि विमान भित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको बताइएको छ। 

अस्ट्रेलिया, न्यूजील्यान्ड र युरोपेली सङ्घ ईयूले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएको छ। अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर उनीहरूको स्वास्थ्य जाँच गरेपछि मात्र घर फर्कन दिने योजना बनाएको छ। 

चीनमा अहिले ७,००० को आसपास नेपाली नागरिक रहेको नेपाली दूतावास बेइजिङको भनाइ छ। तीमध्ये भाइरस प्रभावित हुबेको वुहान वरपर करिब १०० नेपाली रहेका छन्। 

सङ्क्रमण फैलिएपछि केही दिनअघि वुहानमा मृत्यु भएका एक नेपालीको शव समेत नेपाल फिर्ता ल्याउन नसकिएको दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताएका थिए। 

लम्सालले भने, ‘हामी चिनियाँ परराष्ट्र मन्त्रालयसँग निरन्तर परामर्शमा छौँ। हामी वुहानका नेपालीहरूसँग पनि निरन्तर सम्वादमा छौँ।’ 

‘आत्तिनु पर्ने अवस्था छैन। हामीले पनि आफ्ना नागरिक नेपाल फिर्ता लैजानेबारे आवश्यक सम्वाद र समन्वय गरिरहेका छौँ।’ 

यूएईमा पहिलो सङ्क्रमण 

यसैबीच संयुक्त अरब इमिरेट्स यूएईमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको बीबीसीले जनाएको छ ।   

त्यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति वुहानबाट फर्किएका थिए। उनको अवस्था स्थिर रहेको बताइएको छ। 

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गहब्रहयससले नयाँ भाइरसको सङ्क्रमण रोक्नु डब्लूएचओ र चीनको पहिलो प्राथमिकता भएको बताएका छन्। 

डब्लूएचओले महामारी रोक्ने पहललाई सघाउने छिट्टै अन्तर्राष्ट्रिय विज्ञहरूको एक टोली चीन पठाउन लागेको बताएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *