धरानमा बाँदर आतंक, स्थानीयवासी त्रसित

धरान । धरान पूर्वी नेपालको सुन्दर तथा सुविधा सम्पन्न सहर भएतापनि बाँदरका कारण यहाँका सर्वसाधारणको जीवनयापनमा समस्या आउने गरेको छ । 

पूर्वी नेपालको अन्य सहरको तुलनामा मौसम अनुकुल हावापानी तथा प्राकृतिक सुन्दर मनोरम दृष्यका कारण आन्तरिक तथा वाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको धरानका सर्वसाधारणले बाँदर आतंकका कारण सुख सयलको जिन्दगी जिउन सकेका छैनन् । अहिले बाँदर आतंक धरानवासी र उपमहानगरपालिकाको लागि ठूलो टाउको दुखाईको विषय समेत बनेको छ । 

बाँदरकै कारण कुनै दिन ठूलो दुर्घटना हुने हो कि भन्ने चिन्तामा छन् धरानवासी । 

null

केही समय अघि धरान–१२ छाताचौकमा हुलका हुल बादर आए । ती सबै बाँदर पोलमा राखिएको तारको प्रयोग मार्फत् बजारको एक दिशाबाट अर्को दिशातर्फ जाने क्रममा तार सर्ट भएर एक्कासी आगो लाग्यो । 

त्यस्तै धरानको सुरक्षालाई मध्यनजर गरी छाताचौकमा राखिएका सिसी क्यामेरा पनि बाँदरले फुटाइदिए । यसले सर्वसाधारणलाई दुः ख दिने मात्र होइन अहिले सुरक्षाकर्मीलाई समेत चुनौति थपिदिएको छ । 

यी त सडकमा बाँदरले मच्चाएका केही विध्वंशहरु मात्र हुन् । यो समस्या सडकमा मात्रै होइन अब मानिसको घरमा समेत देखिन थालेको छ । 

धरानका स्थानीयवासीको भान्सामा गएर पकाएका खानाहरु खाइदिने तथा घरका सामानहरु बिगारिदिने बाँदरको दैनिक गतिविधि बनेको छ । फुटपाथका व्यापारीलाई समेत यसले समस्या निम्त्याएको छ । 

लामो समयदेखि बाँदर आतंक खेप्दै आएका धरानवासीहरुले यसबाट छुट्कारा पाउन २०७० सालमा प्राध्यापक सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरे । 

धरान–२ निवासी श्रेष्ठ लगायतको समितिले बाँदरका समस्या समाधानका लागि धरान उपमहानगरपालिका, इलाका वन कार्यालय लगायतका सम्बन्धित निकायमा ज्ञानपनपत्र समेत बुझाए । 

बाँदरले गरेको चकचकका कारण हैरानी व्यहोर्नु परेका धरानवासीका लागि धरान उपमहानरपालिकाले बाँदर स्थानान्तरण गर्ने योजना पनि बनायो । बाँदर विज्ञ ल्याएर समातेर चारकोशे जंगलतिर लगेर छोडिदिए । तर ती बादर फर्केर तिनकुने, लाङघाली चोक, महादेव चोक, क्षेत्रमा आई तहल्का मच्चाइ रहेका छन् भने बजार क्षेत्रका समस्या पनि ज्यूँको त्यूँ छ । 

बाँदरकै कारण बसाईं सर्नेसम्मको अवस्था सृजना भएपछि आफूहरुले पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा पनि समस्याको सुनुवाई नहुँदा अहिले झन् यो समस्या विकराल बन्दै गएको संघर्ष समितिका संयोजक सकुल श्रेष्ठले बताए । 

विगतमा जङ्गल केन्द्रित बाँदरहरु अहिले सहर केन्द्रित भएकै कारण यस्तो अवस्था आएको संयोजक श्रेष्ठको भनाइ छ । दिनप्रतिदिन जङ्गल मासिएर जङ्गली जनावरको बासस्थानमा कमी आएका कारण बाँदर सहर पसेको उनको बुझाइ छ । 

बाँदरको समस्या समाधानका लागि पटक–पटक संघर्ष गर्दै आएको संघर्ष समिति अहिले चुपचाप बसेको छ । तैपनि मुलुक नयाँ संरचनामा गएपछि भने समाधानका केही पहल गरिदिन्छन् कि भन्ने आशा धरानवासीहरुले मार्न सकेका छैनन् । 

विगतमा धरानको २, ३ र ६ वडामा मात्र केन्द्रित बाँदर अहिले धरानका सबै वडामा पुग्ने गरेका छन् । 

यो समस्या यसरी नै बढ्दै जाने हो भने बाँदरकै कारण पूर्वी नेपालको सुन्दर सहरका रुपमा परिचित धरान बजारमा ठूलै दुर्घटना नआउला भन्न सकिन्न । त्यसैले यसतर्फ सम्बन्धित पक्ष गम्भीर भएर लाग्न जरुरी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *