स्याङ्जामा काँग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेको उपचार काठमाडौमा हुँदै
“
पोखरा, पुस १० । नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको समीक्षा बैठकमा कुटाकुट भएको छ । स्याङजाको वालिङमा सोमबार भएको काँग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कमल ढकाल, भेशराज अर्याल र सुशील काफ्ले रहेका छन् । तीन जना मध्ये काफ्लेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते अर्याल र ढकालको काठमाण्डौं स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लामा काँग्रेसले नराम्रोसँग पराजय भोगेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो । आरोपप्रत्यारोपका क्रममा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको हो ।
स्याङ्जा क्षेत्र नम्बर १ मा काँग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए ।
“