मोरङ क्षेत्र नम्बर –३ को चुनाव : यता बाम उता पार्टी प्रवेश धमाधम
मङ्सिर १२, माेरङ । आगामी प्रतिनिधि र प्रदेश सभा दोस्रो चरणको निर्वाचन २१ गते नजिकिदै जाँदा दलहरू पनि त्यसरी नै चुनावी अभियानमा दौडिरहेका छन् । साना–ठुला सबै दलहरू आफूतिर मतदातालाई रिझाउन घरदैलोमा पुगिरहेका छन् । तर, मोरङ क्षेत्र नम्बर–३ को चुनावी माहोल भने बेग्लै खालको रौनक देखिन्छ ।
मोरङ क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्यका लागि काँग्रेसबाट डा. सुनिल कुमार शर्मा र वामपन्थी गठबन्धनबाट भानुभक्त ढकालको उम्मेदवारी रहेको छ । ढकाल एमाले प्रमुख सचेतक समेत हुन् । ‘कम्युनिस्टको गढ’ मानिने उक्त क्षेत्रको माहोल भने अहिले रौनकमय देखिएको छ । त्यसो त त्यहाँका बासिन्दाहरुले पनि खुलेरै भन्ने गरेका छन्,‘डा. शर्मा नदीझै बगिरहेका छन्, ढकाल साउनको खहरे खोलाझै उर्लिएका छन् ।’
चुनाव प्रचारप्रसारमा उम्मेदवार ढकालले आफू सुन्दरहरैँचाबासी भएको बताउँदै आएका छन् । तर, उनी यो क्षेत्रका लागि नयाँ अनुहार हुन् भने डा. शर्मा बेलबारी, काकुमका स्थानीय हुन् । ढकालमाथि एक त ‘टुरिष्ट’ उम्मेद्वारको दाग लागेको छ भने अर्कातिर आफ्ना कार्यकर्ताहरू एक आपसमा लाप्पा खेल्न थालेपछि उनी मर्कामा छन् ।
प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचन अन्तरगत ३२ जिल्लामा चुनाव सम्पन्न भए पनि मोरङसहित बाँकी ४५ जिल्लाको निर्वाचन आगामी २१ गते हुँदैछ भने दुवै चरणको मतगणना पनि एकैसाथ गरिँदैछ । पहिलो चरणमा मतदान गरेका मतदाताले मत परिणामबारे थाहापाउन हप्ता दिन भन्दा बढी समय कुर्नुपर्नेछ । तर, मोरङ क्षेत्रलगायतका बासिन्दाहरुले भने मतदान गरिसकेपछि धेरै दिन मत परिणाम कुर्नुपर्दैन ।
हिजो सोमबार पथरीशनिश्चरे–१० र ३ बाट साढे तीन सय भन्दा बेसी एमाले–माओवादीका कार्यकर्ताहरूले पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरे । पार्टी होइन व्यक्तिको क्षमताको कदर गर्दै आफूहरूले पार्टी परित्याग गरेको उनीहरू बताउँछन् । सोमबार पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका ज्योति राई भन्छन्,‘अब पार्टी नभई व्यक्तिको क्षमताको कदर गरिन्छ । कसैको धाक धम्कीमा बसिँदैन । एक छत्र राज गरेर नअघाएको कम्युनिस्टले अहिले ‘टुरिष्ट’ उम्मेदवार ल्याएको छ । त्यस्ले हाम्रो के दुःख बुझेको छ ।’ माओवादीबाट पथरीशनिश्चरे–३,लक्ष्मीनगर गाउँ कमिटी सदस्य रहेका उनले आक्रोश व्यक्त गरे । उनीसँगै पार्टी परित्याग गर्ने युवाहरूको पनि उहीँ प्रश्न छ–‘पञ्चायत कालको जसरी थर्काउने समय गए,अब पार्टी होइन व्यक्तिको क्षमता हेरिन्छ अनि भोट हालिन्छ ।’
विगतदेखि यो क्षेत्रमा कम्युनिस्टले एक छत्र राज गरेर नपुगेपछि तेह्रथुमबासीलाई ‘टुरिष्ट’ उम्मेदवार बनाए बेहुलीझै भित्र्याइएपछि त्यहाँका स्थानीय बासिन्दाहरु असन्तुष्टि बन्दै आएका छन् भने एमाले पार्टीका कार्यकर्ताहरू धमाधम पार्टी परित्याग गर्दै आएका छन् । यहाँकै सुख, दुःख बुझ्ने उम्मेदवार हुँदाहुँदै बाहिरको ‘पाहुना’ उम्मेद्वारलाई ल्याइएपछि उनीहरूले पार्टी परित्यागको बाटो अपनाएका हुन् । उनीहरूले पार्टीभन्दा माथि उठेर आफूहरू समाजको हितका लागि काम गर्ने भन्दै यहाँकै दुःख बुझ्ने उम्मेद्वारलाई साथ सहयोग गर्ने बताए ।
यता बाम : उता पार्टी प्रवेश धमाधम
एमाले–माओवादी परित्याग गरेर हालसम्म काँग्रेसमा हजारौँ कार्यकर्ताहरू भित्रिएका छन् । सोमबार पथरीशनिश्चरे–३, पीपलगाछी चोकमा एमाले–माओवादीका सङ्गठित सदस्यसहित साढे तीन सय युवा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरे । तर, संयोग कस्तो पर्यो भने, बाम नेताहरूले आफ्नै आँखा अगाडि कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको टुलुटुलु हेर्नुपर्यो । उनीहरूलाई गएर रोक्ने स्थिति थिएन । यसरी पिपलगाछी चोकमा एमाले–माओवादी नेताहरू गफिरहँदा काँग्रेसको त्यहीँ नजिकै चुनावी सभा आयोजना गरिएको थियो । कार्यक्रमा पार्टी प्रवेशको छुट्टै कार्यक्रम तय गरिएको थियो । जसमा एमाले–माओवादी परित्याग गर्ने युवाहरूको हुलै देखिन्थ्यो । उनीहरू सबैलाई खादा र अबिर लगाउँदै प्रत्यक्षतर्फका उम्मेदवार डा. शर्माले पार्टीमा स्वागत गरे ।
टोलै काँग्रेसमा
सोमबार पथरीशनिश्चरे–३, लक्ष्मीनगर टोल नै काँग्रेसमा प्रवेश गर्यो । ६० घरधुरीभन्दा बढी रहेको उक्त टोलका सबै स्थानीयहरुलाई प्रत्यक्ष उम्मेदवार डा. शर्माले खादा र अबिर लगाउँदै पार्टीमा स्वागत गरेका थिए । माओवादी सङ्गठित सदस्य ज्योति राईसहित एमाले–माओवादीका केही युवा नेताको संयोजकत्वमा ३ नम्बरको टोल नै काँग्रेसमा प्रवेश गर्यो ।