जनजीवन सामान्य बनाउने प्रशासनको प्रयास

चैत १७, चितवन। जिल्लाको जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले औषधी,खाद्यान्न,कृषि तथा पशुजन्य उत्पादन तथा विक्री वितरण गर्ने फर्महरूलाई नियमित सञ्चालन गर्न अनुरोध गरेको छ।   

माग र आपूर्ति पक्ष सन्तुलन कायम गर्न प्रशासनले औषधी, तथा औषधीजन्य वस्तु,स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफूल, माछा मासु, दूध तथा दुग्धजन्य पदार्थ, चिनी, तेल, पशुपंक्षीजन्य आहार, इन्धन जस्ता वस्तुहरूको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरू र विक्री वितरण गर्ने थोक तथा खुद्रा विक्री केन्द्र नियमित सञ्चालन गर्न सूचना जारी गरी अनुरोध गरेको हो।   

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको हस्ताक्षर रहेको सूचनामा ती वस्तुहरू र तिनका कच्चा पदार्थको ढुवानीमा संलग्न सवारी साधनलाई बजार सम्म वा बजारबाट गन्तव्यमा पुग्न आवागमन गर्न दिइने उल्लेख छ। मालसामान पुर्‍याई फर्केका सवारीलाई त्यस्ता सामाग्रीको विलविजकको फोटोकपीका आधारमा सम्बन्धित उद्योग तथा प्रतिष्ठान वा फर्म स्थलसम्म आवतजावत गर्न दिइने भएको छ। 

त्यस्तै उद्योग,कलकारखानामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सामाग्री प्रयोग गरी भिडभाड नहुने गरी सिफ्टको आधारमा जनशक्ति परिचालन गरी सञ्चालन गर्न समेत आग्रह गरिएको छ। औषधी, स्वास्थ्य संस्था, कृषि, दूध, खानेपानी, इन्धन उत्पादन गर्ने कर्मचारीहरूलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने,स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई पनि परिचयपत्रका आधारमा सहज आवतजावत हुन दिने, ग्यास उद्योगहरूले नियमित उत्पादन गर्ने र त्यसको विवरणहरू जिल्ला प्रशासन कार्यालयमा प्रत्येक दिन बुझाउनु पर्ने निर्देशन जारी गरेको छ। 

त्यस्तै मासिक रूपमा एक परिवारलाई एक सिलिण्डरको प्रक्रिया अपनाई त्यसको सम्पूर्ण रेकर्ड राख्न समेत प्रशासनले भनेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *