जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा

 

जेठ ३, भरतपुर ।  आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । 

यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर न दुर्घटनाको रहस्य पत्ता लाग्यो न दुर्घटनास्थल दासढुङ्गा र शव प्राप्त भएको गाँजीपुरको विकास नै हुनसक्यो । 

null

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । 

यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो । तर, दासढुङ्गामा मदन–आश्रितको शालिक भएको स्थान र शव प्राप्त भएको गाँजीपुरको समेत उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । 

नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन–आश्रितको शालिकमा फूलमाला चढाउने र उनका विचार र सिद्धान्तको चर्चा गर्नेबाहेक दासढुङ्गा र गाँजीपुरमा ठोस काम हुन नसकेको बताए । 

“मदन भण्डारीको सम्झनाले मात्र सच्चा श्रद्धाञ्जलि हुँदैन”, ज्ञवालीले भने, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।” जनतालाई खुशी र सुखी बनाउन सकेमात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने उनले बताए । 

नेकपाका नेता तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले ठोस पहलकदमीको अभावले दासढुङ्गा र गाँजीपुरको विकास हुन नसकेको बताए । 

“पच्चीस वर्षमा पुल निर्माणलगायतका काम भएका छन्”, सुवेदीले भने, “तर कसैले नेतृत्व गरेर काम नगरेका कारण प्रगति हुनसकेको छैन ।” उनले पछिल्लो समय मदन भण्डारी फाउण्डेशनले अग्रसरता देखाएर केही कामको शुरुआत गरे पनि त्यसको परिणाम आइनसकेको बताए । 

दासढुङ्गा र गाँजीपुर राजनीतिक र पर्यटकीय क्षेत्र बन्नुपर्ने उनको धारणा छ । 

“दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो”, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भने, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” 

तर संरक्षण अभावमा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

“यो सडक भएर दैनिक हजारौँ ओहोरदोहोर गर्छन्”, उनले भने, “दासढुङ्गा संरक्षण नहुँदा धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् ।” बजेट अभावमा दासढुङ्गामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उनले गुनासो गरे । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले यस वर्ष पनि भरतपुरबाट र्‍यालीसहित दासढुङ्गामा नियमित श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने बताए । 

उनले नेपालको कम्युनिष्ट राजनीतिलाई बहुदलीय प्रतिस्पर्धामा ढाल्न स्व भण्डारीको महत्वपूर्ण योगदान रहेको बताए । 

उनले भने, “भण्डारीको मार्गनिर्देशक सिद्धान्तमा चल्दै आएको तत्कालीन नेकपा एमाले र २१औँ शताब्दीको माओवादको विचारका आधारमा जनयुद्धमा होमिएको तत्कालीन माओवादी केन्द्रको एकताको मुख्य आधार नै दुवै पार्टीको लोकतान्त्रिकरण हो ।” 

अध्यक्ष परियारले नेकपाको अन्तरिम विधानमा हिजोका दुवै पार्टीका मार्गदर्शक सिद्धान्त आजसम्म पनि छलफल र बहसमा नै रहेको बताए । 

नेकपाले भविष्यमा पनि यिनै विचारलाई आधार बनाएर भावी महाधिवेशनमा थप मार्गनिर्देशक सिद्धान्त अवलम्बन गर्दै जाने उनले बताए । 

मदन–आश्रितका सपना भर्खर एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीले पूरा गर्ने उनको जिकिर छ । 

स्व. भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको मदन भण्डारी फाउण्डेशन चितवनका संस्थापक अध्यक्ष जेएन थपलियाले बताए । 

उनले विगतमा भएका प्रयासले ठोस मूर्तरुप दिन नसके पनि यस वर्षदेखि दासढुङ्गा र गाँजीपुरको विकासका लागि काम शुरु भएको बताए । 

मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो समय विज्ञ टोलीले दासढुङ्गा र गाँजीपुरको अवधारणापत्र तयार गरिरहेको बताए । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *