‘अब केही हुन सक्दैन भन्ने अवस्था छैन, अझै खतरा छ’

 

बैशाख २४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रम राम्रो ल्याएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । 

गत शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले सरकारले राम्रो काम गरेको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका हुन् । 

null

मंगलबारको संसद बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नीति तथा कार्यक्रममा जनताका भावना र चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको बताए । 

यस्तै उनले वर्तमान शासन प्रणालीको स्वभाव नै विवाद र बहस गर्ने भएकाले यसले नयाँ गति दिने पनि स्पष्ट पारे । उनले भने, ‘यो विषय स्वयम् पनि बहसकै विषय हो । यसमा कहिलेकाहीँ सत्तापक्षले राम्रै कुरा गरेपनि, राम्रै कार्यक्रम, नीति ल्याएपनि त्यसको विरोध गर्नैपर्ने र प्रतिपक्षले राम्रै सुझाव दिएपनि सत्तापक्षले त्यसलाई इन्कार गर्नैपर्ने बाध्यता यो प्रक्रियाभित्र छ । यसले समाजमा कतै नकारात्मक दृष्टिकोणलाई च प्रश्रय त दिँदैन भन्ने एउटा सवाल पनि यो प्रणाली भित्र छ ।’ 

राणाशाही विरोधी आन्दोलनका बेला देखि नै राजनैतिक परिवर्तनहरु हुँदै आएको उल्लेख गर्दै उनले अहिलेको संविधान विगतको संविधानसँग तुलना गर्न मिल्ने खालको नभएको स्पष्ट पारे । 

सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित आयोगहरुको केही काम बाँकी रहेको जानकारी गराउँदै संसदमा उनले भने, ‘सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित आयोगहरुको केही कामलाई निष्कर्षमा पुर्याउने र सदाको निम्ति शान्तिको वातावरण बनाउने काम केही बाँकी छन् । त्यो ऐतिहासिक कार्यलाई समापन गर्ने तथा अन्तिम निष्कर्षमा पुर्याउने कुरामा हामी सत्तापक्ष र प्रतिपक्ष प्रतिबद्ध छौँ । र यो काम अघि बढेको पनि छ ।’ 

जनताले जस्तो अपेक्षा गरेका छन्, त्यो अपेक्षालाई सकारात्मक ढंगले सम्बोधन गर्ने प्रक्रिया पुरा नभएको भन्दै उनले अब त्यो प्रक्रिया सुरु भएको बताए । 

अहिले पनि हामी सत्तापक्ष र प्रतिपक्ष तथा अन्य राजनीतिक शक्तिहरु आफ्नो सिमा भन्दा बाहिर गएर एक अर्कालाई निषेधात्मक रुपले आलोचना गर्ने या एक अर्काको आवश्यकता बोधको स्तरलाई नाघ्ने छुट कसैलाई नभएको उनको भनाइ छ । 

सरकारले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि राम्रो प्रयास गरेको भन्दै उनले पुनः नेपाल सरकारलाई धन्यवाद दिए । ‘यदि सरकारले समयमा नै संविधानमा उल्लेख भएका थुप्रै ऐनहरु गएको असोज ३ गतेभित्र निर्माण गर्न नसकेको भए एउटा संवैधानिक विवाद नेपालमा सुरु हुन सक्थ्यो र अन्योलको स्थितितिर देश जान सक्थ्यो । तर सरकारले धेरै मेहनत समयमै ऐन बनायो ।’ 

अध्यक्ष प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको पनि स्पष्ट पारे । 

आन्दोलनबाट प्राप्त उपलब्धिलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उनले फेरि पनि खतरा आउन सक्ने बताए । 

‘राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसमार्फत् जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको उनको विश्लेषण छ’ उनले भने । 

यो पटक यो परिस्थितिलाई दोहोरिँदैन भनेर विश्वास गर्न सक्ने आधार हामीसँग छ त ? भन्दै उनले संसदमा प्रश्न राखे । उनले भने, ‘कि दिनप्रतिदिन परिर्वतन डाइलुट हुँदै र राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वलाई भुत्ते बनाउन सक्ने र कहिँ न कहिँ पुरातन वा परम्परागत सोच र शैली हावी हुने खतरा छ ? यो प्रश्न अब हल भइसक्यो, अब केही हुन सक्दैन भन्ने अवस्था अझै छैन ।’ 

उनले हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्न नगर्ने हो भने फेरि पनि खतराको घन्टी बज्न सक्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *