डा. शेखर काेइराला र भगवती चाैधरीलाई समाज सेवा गर्न काेराेनाले राेक्न सकेन

बैशाख ३, काठमाडौं । कोरोना सन्त्रासका कारण मुलुक २३ दिनदेखि ठप्प छ । लगातारको लकडाउनले दैनिक ज्यालादारी गरेर जिवन यापन गर्ने वर्गहरु भोकै रहनु पर्ने अवस्था हुँदा राज्यले प्रभावकारी रुपमा राहत वितरण गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधि र राज्यको भूमिका कमजोर भइरहेको छ । तथापि, सुनसरी र मोरङका दुई राजनीतिक नेताहरु भने कोरोना प्रभावित जनताको सेवामा जुटिरहेका छन् ।   

मोरङ क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसको राजनीति गर्ने डा. शेखर कोइराला यतिबेला आफ्नै गृह जिल्लामा रहेर स्थानीय जनताको सेवामा खटिइरहेका छन् । लकडाउन शुरु हुनु अगावै विराटनगर गएका डा. कोइरालाले स्थानीय लाई कोरोना सचेतना दिनुको साथै आवश्यक स्वास्थ्य सामग्री समेत वितरण गरे । चैत्र १० गते अगाडी नै विराटनगर गएका डा. कोइरालाले त्यहाँका उत्तरबखरी, दक्षिण बखरी, पाञ्चाली, रोडशेष चौक, मझुवा, दरेहैया, दरेहैया आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा कोरोना सचेतना दिँदै मास्क, साबुन तथा सेनिटाइजर वितरण गरे । भने, लकडाउन लम्बिएसँगै स्थानीय क्षेत्रमा गरिब विपन्न वर्गका जनतालाई खाद्यान्न वितरण गरे । 

उनी अहिलेपनि आफ्नै क्षेत्रमा सुरक्षित रुपमा गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्न तल्लिन छन् । सत्तारुढ नेकपाका उम्मेद्वार लालबाबु पण्डितसँग प्रतिनिधिसभामा थोरै मतान्तरले पराजित भएका डा. कोइराला कोरोना संकटका बेला मन्त्री समेत भइसकेका पण्डित भन्दा बढि आफ्नो क्षेत्रको जनताको स्वास्थ्य प्रति सचेत छन् । ‘डा. कोइराला यतिबेला आफ्नै घरमा होम क्वारेन्टाइनमा मात्र बस्नु भएको छैन, सुरक्षित रुपमा स्थानीय जनता जो कोरोना लकडाउनले प्रभावित भएका छन् उनीहरुलाई राहत वितरण गर्न र स्वास्थ्य सचेतना दिन लागिरहनु भएको छ ।’ डा. कोइरालाका स्वकीय सचिब दिनेशचन्द्र थपलियाले भने ।   

उनी अहिले विहान विराटनगर स्थित नोवेल अस्पतालमा विरामी कुर्न आएका कुरुवालाई खाना खुवाउन लागिरहेका छन् । ‘अहिले विहान नोवेलमा विरामीका कुरुवालाई खाना खुवाउनु हुन्छ, दिउसो र अरु बेला स्थानीय कार्यकर्ता, विभिन्न जिल्लाका कार्यकर्ता र जनवर्गिय संगठनहरुसँग टेलिफोन सम्पर्कमा रहने, छलफल गर्ने गनुृहुन्छ । भने, उहाँ आफैं चिकित्सक भएको हिसाबले विभिन्न सञ्चार माध्यमबाट कोरोना भाइरस सम्बन्धी सचेतना दिने कार्यमा सक्रिय हुनुहुन्छ ।’ डा. कोइरालाका स्वकीय सचिब थपलियाले भने ।   

यता सुनसरी क्षेत्र नं. ३ की नेकपाकी भगवती चौधरीको दैनिकी पनि आजकल गृह जिल्लामै रहेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नेतृत्व गर्ने चौधरीले केन्द्र सरकारको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा फरवार्डको तर्फबाट साँढे पाँच लाख रुपैंया सहयोग गरिन् । भने, स्थानीय जनतालाई राहत वितरण गर्न उनले कुनै कसर छाडिनन् । नेतृ चौधरीले आफ्नो क्षेत्रमा सबैभन्दा कमजोर र पिछडिएको क्षेत्र गढीको दलितवस्ती, इटहरी १० र इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिकालाई समेत खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरिन् ।   

योसँगै उनले लकडाउनका बेला पनि स्थानीय जनताका घरदैलोमा राहत वितरण गर्दै कोरोना सचेतना समेत फैलाइन् । सुनसरी क्षेत्र नं. ३ मा स्थानीय निकायले प्रभावकारी रुपमा राहत वितरण गर्न नसकिरहेकै बेला उनले गरिब, विपन्न र दलित वस्तीमै गएर खाद्यान्नसँगै कोरोना स्वास्थ्य सामग्री, मास्क, सेनिटाइजर, साबुन वितरण गर्नाले त्यहाँका विपन्न परीवारलाई ठूलो राहत भएको छ ।  उनले स्थानीय तहमा जनताकाे सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाइ काेराेना सुरक्षासामग्री सहित खाजा समेत ब्यक्तिगत रूपमा सहयाेग गरिन् । 

आजकल नेतृ चौधरी घरमै रहेर टेलिफोन र सामाजिक सञ्जालबाट स्थानीय जनता, कार्यकर्तालाई सामाजिक दुरी कायम गर्न सचेतना फैलाइरहेकी छिन् । ‘विश्व नै विपत्तीमा परेको बेला जनतालाई कसरी सुरक्षित गर्ने उनीहरुमा कोरोना सचेतना कसरी फैलाउने हामी सबैले आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्छ भन्ने लाग्छ ।’ चौधरी भन्छिन् ।   

सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका विजयकुमार गच्छदार यतिबेला बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा सांसद पदबाट निलम्बनमा छन् । उनको सक्रियता जिल्लामा घटेको छ ।   

कोरोना भाइरसले विश्वलाई गाँजिरहेको बेला स्थानीय जनप्रतिनिधि र राज्यको प्रतिनिधिहरुको भूमिका बढ्नुपर्नेमा कतिपय क्षेत्रमा जनप्रतिनिधिहरु जनतामाझ जान सकिरहेका छैनन् । सरकारले संघियताको मोडल अनुसार घरघरमा सिंहदरबारको अधिकार पुर्याएको भनेपनि स्थानीय स्तरमा जनप्रतिनिधिहरुले प्रभावकारी काम नगर्दा जनतामा राजनीतिक नेतृत्व प्रति वितृष्णा बढेको छ ।   

‘यो बेला जनप्रतिनिधिले जनताका घरदैलोमा गएर सेवा दिनुपर्दथ्यो तर, स्थानीय स्तरमा त्यस्तो देखिएन ।’ विराटनगर १२ का रञ्जन थापाले भने–‘यहाँ राहतका नाममा राजनीति भयो । जसको पहुँच छ उसले राहत पाए, विपन्न गरिब जनतालाई चुल्हो बाल्नै धौधौ भयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *