कर्मठ लालबहादुरः जसले भारी बोकेर छोराछोरीलाई पढाए

कात्तिक ११, काठमाडौं । छेउमा ठेलागाढा छ । गाढा भरी भुटेको भट्मास, चना, दालमोट, केराऊ, चटपटे, मिलाएर राखिएका छन् । मौसम चिसोचिसो छ । घामले डाँडा काटीसकेको छ । लाल बहादुर गिरी आफ्नै सुरमा चटपटे बनाउँदै छन् । 

सिन्धुपाल्चोक जिल्लाको पाल्चोक भन्ने गाउँमा जन्मेका गिरी विभिन्न संघर्ष गर्दै काठमाडौंसम्म आईपुगे । पिता झलनाथ गिरी र माता तिल कुमारी गिरीबाट २०१२ सालमा जन्मेका गिरी हाल काठमाडौँको दक्षिणढोका नजिकै बस्दै आएका छन । 

निम्न वर्गिय परिवारमा जन्मेका कारण उनले चाहेर पनि पढ्न सकेनन् । गरिबीकै कारण पढ्ने उमेरमा विद्यालयको कक्षा कोठा देख्न नपाएकोमा उनलाई ठूलो पछुतो छ । उनले बाँच्नकै लागि धेरै संघर्ष गरे । २५ वर्षको उमेरमा पैसा कमाउनकै लागि सिन्धुपाल्चोकबाट ५ पटक इण्डिया गएपनि उनले पैसा कमाउन सकेनन्, नत हातमा कुनै सीप नै । रातदिन अर्काको देशमा मजदुरी गर्दा खान लाउन नै गाह्रो भएपछि अन्ततः निराश भएर आफ्ना झिटीझाम्टा बोकेर आफ्नै जन्मभूमि फर्किए । 

null

इण्डियाबाट फर्किएपछि उनले गाउँकै साधारण परिवारकी छोरीसँग विवाह गरे । बस्दै गर्दा छोराछोरी भए । उनमा आफू पढ्न नपाउँदाको पिडा थियो त्यहि भएर जस्तो सुकै दुखः कष्ट गरेर भएपनि छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन्छु भनेर सोचले उनि २०५८ सालमा काठमाडौँ आए । काठमाडौँ आएको दिन सम्झदै उनले भने–‘सहर बजारको ठाउँ केहि थाहा थिएन । अब कहाँ जाने के गर्ने ? महंगी उस्तै त्यसमा पनि सात जनाको परिवार बाँच्न निकै कठिन भयो । खाने बस्नेको टुँगोनै थिएन ।’ 

तैपनि छोराछोरीको सुन्दर भविष्यको सपना देखेका लालबहादुरले हिम्मत हारेनन् । डेराकै लागि दिनभरी डुलेर बौद्धमा एउटा कोठा पाए । त्यहि एउटा कोठामा सात जनाको परिवारले गुजारा गर्यो । ‘म दिनभरी भारी बोक्थेँ बेलुका त्यसैको पैसाले खानेकुरा ल्याउँथे । जसोतसो खान त पुग्थ्यो । तर, सुत्ने बेलामा धेरै सकस हुन्थ्यो । सात जनाको परिवार एउटा साँघुरो कोठामा त्यो पनि एउटा पलङ । सारै दुखः हुन्थ्योे’, उनले भने । 

 

‘छोराछोरी पलङमा सुत्न हानथाप गर्थे । उनीहरुलाई झगडा नगर, मिलेर सुत केहि दिनमा अर्को पलङ ल्याउँछु भन्ने आश्वासन देखाई मिलाएर सुताउथेँ । छोराछोरी सुतेपछि आफू भुइँमा स्याउको कार्टुन ओछ्याएर सुत्थेँ । यसरी नै मैँले २ वर्ष बिताएँ’, उनले सुनाए । 

दुःखीलाई दुःखै दुःख भनेजस्तै उनकी श्रीमतीलाई मुटु रोग लागेको थियो । भारी बोकेरै भएपनि उनले अाफ्नाे परिवार राम्रो सँग पाल्दै आईरहेका थिए । तर विवाह गरेको २२ वर्षको उमेरपछि उनकी श्रीमतीले उनलाई सदाको लागि छाडेर गईन । उनले भने–‘यो मेरो लागि निकै दुःखको क्षण बन्यो ।’ उनी श्रीमतीलाई सम्झँदै निकै समय मौन बसे । उनको आँखा रसायो । ‘धेरै दुख कष्ट सहेर भएपनि परिवारलाई खुशी नै राखेको थिएँ । तर दैवले हाम्रो खुशी चट्क्कै चुडेर लग्यो’, मन गह्राैँ बनाउँदै उनले भने ।  

भारी बोकेरै बालबच्चा पढाईरहेका लालबहादुरको भारी बोक्ने क्रममा ढाड भाँचियो । काम गर्न नसक्ने भए । अलिअलि कमाएको पैसा खाँदा बस्दा र छोराछोरीको पढाईको लागि सकिएको थियो । उपचार गर्न सम्म पैसा भएन । अस्पतालको सामान्य उपचारपछि उनि घर फर्किए । अब लालबहादुरसँग भारी बोक्ने सामर्थ्य पनि भएन । ‘भारी नै बोक्न नसक्ने भएपछि अब कसरी छोराछोरी पढाउने र बाँच्ने पिर बढ्यो । त्यसपछि ठेलागाढामा सामान बेच्न थालेँ ।’ उनी भन्छन् । 

ठेलागाडामा सामान बेच्ने काम भारी बोक्ने भन्दा सजिलो र उत्कृष्ट थियो उनको लागि । अनि कमाई ? ‘कमाई पनि भारी बोक्दाको भन्दा धेरै राम्रो छ‘, उनले भने । 

अहिले यहि ठेलागाढाबाट गिरीको सफलता सुरु भयो । उनका छोराछोरीले विद्यालय तह पार गरिसकेका छन् । अहिले उनीहरु आ–आफनो खुट्टामा उभिन सक्ने भएका छन् । घरजम पनि गरिसके । 

 

१० नातिनातिनाका धनी लालबहादुरले अझै पनि आफनो कर्म छाडेका छैनन् । अर्थात् उनी अझैपनि ठेलागाढाको व्यवसायलाई निरन्तरता दिइरहेका छन् । समयमै भाँच्चिएको ढाडको उपचार नहुँदा अहिले उनि राम्रोसँग हिँड्न र होचो ठाउँमा बस्न समेत सक्दैनन् । 

लालबहादुरले ढाड भाँचिएपछि मौसम अनुसारको व्यापार गर्न थालेका हुन् । उनी अहिले दक्षिणढोका नजिकै आफ्नै जग्गामा सानो टहरा बनाएर बसेका छन । छोराहरु कमाउन थालेकाले बाबुलाई काम नगर्न भन्छन् । तर, कर्मठ लालबहादुर भने नित्यकर्म जस्तै गरी ठेलागाडाको व्यवसायलाई निरन्तरता दिन तल्लिन छन् । 

‘छोराहरुले काम नगरी घरमै आराम गरेर बस्नुस् भन्छन्, तर हात गोडा चलुन्जेल मनले मान्दैन ।’ उनी भन्छन् ।–‘२/४ पैसा कमाउन पाए कसैसँग हात फैलाउन पर्दैन जस्तो लाग्छ । त्यहि भएर लागि परेको छु ।’ 

छोराछोरीको पढाइकै लागि काठमाडौं छिरेका लालबहादुरलाई आफूले पाएको दुखःमा गुनासो छैन । उनको गुनासो मात्र गरिबीका कारण पढ्न पाएनन्, अनि पढाइकै कारण राम्रो अवसर पाएनन् । आफूले पढ्न नपाएपनि छोराछोरीले पढे, आत्मनिर्भर भए सबै छोराछोरीको विवाह पनि भैसक्यो । लालबहादुर अहिले त्यसैमा खुसी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *