नेपाल–चीन हवाई सम्झौता पुनरावलोकनः अब सातामा ९८ उडान

 

साउन १०, काठमाडौं । नेपाल र चीनबीच हवाई सम्झौता पुनरावलोकन भएको छ। शुक्रबार बेइजिङमा नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म हवाई उडान गर्न पाउने सम्झौता पुनरावलोकन भएको हो । 

गत मंगलबार (साउन ७) छलफलका लागि चीन प्रस्थान गरेको पर्यटन मन्त्रालय अन्तर्गतको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको नेतृत्वको नेपाली टोली र चीनका तर्फबाट डेपुटी डाइरेक्टर जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा सो सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई दिनसम्म चलेको वार्तापछि सम्झौता भएको जानकारी दिइएको छ । 

null

सम्झौता अनुसार नेपाल र चीनले एक अर्काको देशमा उडान गर्दा ८ वटा हवाई रुट प्रयोग गर्न पाउने छन् भने नेपालले चीनमा बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा लगायत विभिन्न १५ स्थानमा उडान गर्न पाउनेछ । यसअघि नेपालले चीनका ७ गन्तव्यमा मात्रै उडान भर्दै आएको थियो । 

त्यसैगरी चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने छ । 

यसअघि दुई देशबीच हप्तामा ७० वटासम्म उडान गर्न पाउने सहमति भएको थियो । तर नेपालले चीनमा एउटा पनि उडान भरेको थिएन । 

आफ्ना मुख्य १५ विमानस्थलमा नेपाललाई उडान अनुमति दिन तयार भएको चीनले भने नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ । 

यसअघि चीनबाट एयर चाइनाले सातामा १२७ र २८१ सिट क्षमताका जहाजबाट १० वटा, चाइना इस्टर्नले १३२ सिट क्षमताको जहाजबाट १४ वटा, चाइना साउदर्नले १२० सिटदेखि २८६ सिट क्षमतासम्मका विभिन्न सात प्रकारका जहाजबाट सातामा १४ उडान गर्ने गरेको गर्दै आएको थियो । त्यस्तै सिचुवान एयरलाइन्सले १३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा, तिब्बत एयरलाइन्सले १२८ सिट क्षमताको जहाजबाट सातामा दुई वटा उडान गर्दै आएको थियो । 

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारी गरिरहेका छन्। 

पछिल्लो समय नेपाल एयरलाइन्सले चीनको गोन्जाओ उडानको तयारी गरेको थियो। तर, त्यसमा पनि चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिट गर्नुपर्ने भन्दै उडानमा अनुमति दिएको थिएन । चीनले अहिले नेपाल वायुसेवा निगमलाई अनुमति दिँदा ‘सेफ्टी अडिट’ को विषय अघि सारेको छ। सेफ्टी अडिट पास भइसकेको हिमालय एयरलाइन्सले भने छिट्टै उडान भर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *