उपत्यकामा टिपरलाई नयाँ नियमः झल्लरी र वुफर हटाउँदैमा दुर्घटना रोकिएला ?

कात्तिक १९, काठमाडौं । ‘यमराज’ उपमा पाएको टिपर आतंक रोक्न नयाँ नियम लागु गरिने भएको छ । काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरले चारवर्ष यता अत्याधिक मान्छे मारेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ नियम लागु गर्ने भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको छ । अब उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ । भने, टिपरको अगाडि पट्टी सीसामाथि सजाइने झल्लरी हटाउनु पर्ने, ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने नियम ल्याइएको छ ।   

महाशाखाले १५ दिनभित्र यी नियम लागू गरिने जनाएको छ । 

महाशाखाका अनुसार काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

हट्ला त टिपर आतंक ? 

महाशाखाले लागू गर्न लागेको नयाँ नियमले मात्रै दुर्घटना नियन्त्रण हुन्छ भन्ने केहि आधार छैन । काठमाडौं प्रवेश गर्ने टिपरलाई टाइम कार्ड लागू गरिएको भएपनि दुर्घटना घटेको छैन ।   

‘खै कसरी कम होला र टाइम कार्ड तोकेपनि अफिस टाइममा चक्रपथमा खुलेआम टिपर हुँकिएको देख्न पाइन्छ । मलाई त विस्वासै छैन ।’ कोटेश्वरमा फेन्सी पसल गर्ने रोजिना अधिकारीले भनिन् ।   

उपत्यकामा टिपर प्रवेश गर्नै रोक लगाउनुको विकल्प नभएको सर्वसाधारणको भनाई छ । टिपरको बनावट अनुसार यिनीहरु सडकमा भन्दा खानी तथा उद्योगहरुमा प्रयोग गर्न बनाइएका हुन् । विदेश तिर यस्ता ठूला टिपरहरु सर्वसाधारण हिँड्ने सडक र राजमार्गमा चल्न पाउँदैनन् । यदि चलिहालेपनि निश्चित समय तोकिएको हुन्छ । नेपालमा भने खुलेआम मदमत्त भएर टिपर हुँइकिँदा अत्याधिक दुर्घटना बढेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *