विदेशी महिलालाई एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता र मन्त्री पद ?

भदौ ३०, काठमाडौं । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकता ऐन खुकुलो बनाउन नहुने स्पष्ट पारेका छन् ।  रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कारमा नेता भीम रावलले अन्य देशको नागरिकता ऐनको तुलनामा नेपालको अझै मजबुत हुनुपर्ने धारणा राखे ।   

उनले भने, ‘अन्य देशमा विदेशीसँग विवाह गर्दा त्यहाँको नागरिकता लिनका लागि ७ वर्ष कुर्नुपर्ने प्रावधान छ । हाम्रो देशको त राजनीतिक अवस्था त्यति मजबुत छैन । यस्तो  अवस्थामा नेपालीसँग विवाह गर्ने विदेशीलाई त १० वर्षसम्म नागरिकता नदिने प्रावधान ल्याउनुपर्छ ।’ 

अहिले राज्य व्यवस्था समितिमा वृहत रुपमा नै नागरिकता विधेयकबारे छलफल भइरहेको पनि उनले जानकारी गराए । ‘छलफलका क्रममा कतिपयले विदेशी पुरुषले नेपाली महिलासँग विवाह गर्यो भने नीजहरुलाई पनि नेपालको नागरिकता दिनुपर्ने तर्क गरे । कतिले नेपालमा कुनै व्यक्ति आएर बसोबास गर्यो भने उसलाई पनि तत्काल नागरिकता दिनुपर्छ भन्ने तर्क गरे । विदेशी महिलालाई एक हातमा सिन्दुर अर्को हातमा नागरिकता अनि मन्त्रीपद एकैपटक किन ? याे कसरी हुन सक्छ ? जब शक्तिशाली राष्ट्रहरुले त नागरिकता खुकुलो बनाउन सकेका छैनन् भने हामीले कसरी सक्छौँ ?’, उनले भने ।   

पहिलेको नागरिकता ऐन अझै खुकुलो भएको तथा गलत तगरिकाले नागरिकता वितरण गरिएको उनले स्मरण गरे । उनले भने, ‘पहिले कुनै गाउँविकास समिति अन्तर्गत या त्यतिबेलाको कुनै वडा वा राजनीतिक दलका तीन जना व्यक्तिहरुले सिफारिस गरिदिएमा जसलाई पनि नागरिकता दिने गरिन्थ्यो । क–कसलाई दिइयो त्यो पनि कुनै लेखाजोखा भएन । त्यसकारण अहिले धेरै विदेशीहरुले गैरकानूनी किसिमले नागरिकता पाए । यो आवाज नेपाली जनताले पनि उठाइरहेका छन् ।’ 

अवैध किसिमले नागरिकता प्राप्त गर्ने विदेशीहरुको बारेमा छानविन गरी उनीहरुको नागरिकता खारेज गर्नुपर्ने उनको भनाइ छ ।   

नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब मान्दिन भन्ने विन्दुमा पुगेको हो ? 

२००९ सालदेखि विदेशीहरुलाई नेपाल भित्र्याएर राजनीतिबाट नेपालको अस्तित्व समाप्त गर्ने षणयन्त्र भइरहेको उल्लेख गर्दै नेता रावलले छलफलमा रहेको नागरिकता ऐनलाई अब विवादास्पद बनाउन नहुने तर्क गरे ।   

रावलले राज्य व्यवस्था समितिमा नेपाली कांग्रेसको तर्फबाट अन्तरिम संविधान २०६३ अनुसार नागरिकताको विषयमा जानुपर्छ भन्ने तर्क आएको पनि जानकारी गराए । उनले भने, ‘यो तर्क सुनेर म छक्क परेको छु । नेपाली कांग्रेसले नेपालको संविधानलाई मानेरै समर्थन गरेको हो भन्ने कुरा बुझेको हो मैँले त । अब अहिले अन्तरिम संविधानअनुसार नागरिकताको विषयलाई टुँग्याईन्छ भन्नु यो सरासर नेपालको संविधानको अवज्ञा हो । यदि नेपाली कांग्रेसले २०६३ सालको संविधानमा फर्केर जानुपर्छ भनेर तर्क दिएको हो भने म यहीँबाट प्रश्न गर्न चाहन्छु, –के नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब मान्दिन भन्ने विन्दुमा पुगेको हो ?’   

उनले केही–केही मान्छेले यदि नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई भारतजस्तो ७ वर्षपछिमात्रै नागरिकता दिने हो भने उनीहरुले राहदानी कसरी पाउँछन् ? भनेर चिन्ता र तर्क गर्ने गरेको पनि बताए उनले भने, ‘मलाई आश्चर्य लाग्छ । त्यसो भए नेपालबाट विवाह गरेर भारत गएका चेलीहरुले चाहीँ कसरी राहदानी पाउँछन् ? नेपाली चेलीहरुको बारेमा नेपाली कांग्रेसलाई कुनै चिन्ता छैन । जो जहाँबाट आएपनि, उनीहरुको आफ्नो देशको नागरिकता त हुन्छ नि, त्यसको आधारमा राहदानी लिन सकिन्छ ।’   

कोशी बाँध नेपालको हितमा छैन 

नेता रावलले माथिल्लो कर्णाली आयोजनाको प्रसंग पनि कोट्टयाए । भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकर नेपाल भ्रमणमा आउँदा माथिल्लो कर्णाली आयोजनामा वित्तिय व्यवस्थापन गर्नेबारे भएको सहमति र कोशी उच्च बाँधको कामबारे भएको सहमतिको उनले विरोध गरे । कोशी बाँध बाँध्ने काम नेपालको हितमा नरहेको उनको भनाइ छ ।   

रावलले माथिल्लो कर्णाली परियोजना नेपाल आफैँले बनाउनुपर्ने उनको धारणा छ । भारतीय जिएमआरले विगत ११ वर्षदेखि यो परियोजना कब्जा गरेको आरोप लगाउँदै उनले भने, ‘जिएमआरले त नेपालका जलस्रोतमा दलालीको काम गरेको छ । अब तेस्रो पटकपनि म्याद बढाईयो भने नेपाली जनतालाई धोका हुन्छ । अहिले मुलुकमा दुई तिहाई बहुमतको सरकार छ । सरकार कुनैपनि हालतमा झुक्नु हुँदैन ।’ 

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *