रंगशालालाई खैरहनी नगरवासीबाट १५ लाख सहयोग

माघ २६ चितवन ।  चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि जिल्लाको खैरहनी नगरवासीहरुले १५ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन् ।   

गौतम वुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग समिति खैरहनीको नेतृत्वमा जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, विभिन्न संघसंस्थाहरु लगायतको सक्रियतामा रकम नगरवासीहरुबाट संकलन भएको थियो ।   

संकलित १५ लाख मध्ये खैरहनी नगर भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु तथा कर्मचारीहरुबाट २ लाख ३१ हजार ५ सय रुपैयाँ, खैरहनी नगरपालिकाका कर्मचारीहरुबाट १ लाख ५२ हजार ८ सय ५५ रुपैयाँ र प्याव्सन खैरहनीबाट १ लाख २१ हजार रुपैयाँ तथा अन्य रकम वडागत रुपमा संकलन भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए ।   

टोल विकास संस्था मार्फत सबैको घरमा पुग्न सकिने र सबैको अपनत्व गराउन नगरवासीहरुसँग चन्दा स्वरुप रकम संकलन गरिएको उनको भनाई छ । मेयर चौधरीको संयोजकत्वमा सर्वपक्षीय, सर्वदलीय रुपमा प्रतिनिधित्व रहने गरि समिति बनाईएको थियो । नगर भित्रका वडाहरुले टोल विकास संस्था मार्फत घरघरमै पुगेर आर्थिक संकलन गरेका थिए । 

सबैभन्दा धेरै खैरहनी वडा नम्वर १० बाट १ लाख ९६ हजार ९२७ रुपैया संकलन भएको थियो । संकलित रकम धान्याचल महोत्सवको अवसर पारेर आईतवार हस्तान्तरण गरिएको छ ।   

रकम हस्तान्तरणका लागि खैरहनी नगर उपमेयर सुनिता थपलिया, नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल, नेपाली काँग्रस नगर सभापति शशि खनिया, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु महायज्ञस्थल पुगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *