चीनबाट नेपाली ल्याएर आइतबार बिहान नेपाल अवतरण गर्दै वाइडबडी

फागुन ३, काठमाडौं । चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न विशेष तालिमप्राप्त टोली जहाज लिएर चीन जाँदैछ । कोरोना भाइरसको त्रासले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक ल्याउन विशेष तालिमप्राप्त टोली आज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।   

नेपाल वायुसेवा निगमको ३३०-२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ । साँझ ६:४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ । विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ ।   

वुहान जाने स्वास्थ्यकर्मी, चालक दलका सदस्य, एम्बुलेन्सचालक, बसचालक, सरसफाइ कर्मचारीले तालिम पाइसकेका छन् । बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याउन लागेका नेपालीहरु बस्ने क्वारेनटाइनको व्यवस्थापन गरीसकेको जानकारी दिए । उनले उनीहरु बस्ने ठाउँको व्यवस्थापनदेखि लिएर त्यहाँ रहदा उनीहरुले ध्यान दिनुपर्ने आचारसंहिताको विषयको टुंगो लागेको बताए । चीनबाट आउने नेपालीहरुलाई नेपाल आउँदा एयरलाइन्समा पालना गर्नुपर्ने नियम र क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने विषयमा पनि मन्त्रालयले जानकारी गराउनेछ । 

चीनबाट ल्याइएका नेपालीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने छ । क्वारेनटाइमा समेत दिनहु स्वास्थ्य परीक्षण हुने र परीक्षणका क्रममा कुनै स्वास्थ्य समस्या देखा परे तत्काल आइसोलेसन वार्डका लागि पठाइनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *