प्रेम दिवसमा खाना महोत्सव

माघ २७, चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर भोलि मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ ।   

महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । महोत्सवमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शन गरिनेछ ।   

महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।   

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिए । महोत्सवअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायतका कार्यक्रम हुनेछन् ।   

प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । झण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको खाना महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो महोत्सवको वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *