वीरमा अत्याधुनिक इन्ट्राअपरेभिट सिटि स्क्यान सुचारु हुँदा विरामी र चिकित्सक दुवैलाई फाइदा

वीर अस्पतालले भर्खरै सञ्चालनमा ल्याएकाे अत्याधुनिक इन्ट्राअपरेटिभ सिटि स्क्यान, तस्विर, मकालु खबर 

फागुन १३, काठमाडौं । मुलुककै पुरानो अस्पताल वीर अस्पतालले अत्याधुनिक इन्ट्राअपरेभिट सिटि स्क्यान उपकरण भित्राएपछि न्यूरो सम्बन्धी उपचारमा चिकित्सक र विरामीलाई ठूलो फाइदा भएको छ ।   

डेढ वर्षअघि वीरले अस्पताल र ट्रमा सेन्टरका लागि भित्राएको इन्ट्राअपरेभिट सिटि स्क्यान चालू भएको केही महिनामात्र भएको छ । इन्ट्राअपरेभिट सिटि स्क्यान उपकरण खरिदमा विवाद उत्पन्न भएपछि लामो समय थन्किएर रहेको थियो । सार्वजनिक खरिद पुनरावलोकन समिति र एक टेण्डरकर्ताले बखेडा झिकेर थन्किएको इन्ट्राअपरेभिट सिटि स्क्यान सञ्चालन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि सर्वसाधारणले कम शुल्कमै उच्चस्तरीय सेवा प्राप्त गर्न थालेका छन् ।   

चिकित्सा विज्ञानमै पछिल्लो समयको अत्याधुनिक उपकरण हो इन्ट्राअपरेभिट सिटि स्क्यान । यसले ब्रेन ट्युमरको शल्यक्रिया गर्न चिकित्सक र विरामी दुवैलाई ठूलो सहयोग पुर्याउने वीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्राध्यापक डाक्टर प्रकाश विष्टले भने । ‘इन्ट्राअपरेभिट सिटि स्क्यान आएपछि चिकित्सकलाई न्यूरोसम्बन्धि रोगको पहिचान गर्न सहज मात्र भएको छैन । विरामीलाई पनि उपचार प्रक्रिया सहज भएको छ ।’ डा. विष्टले मकालु खबरसँग भने ।   

उनका अनुसार इन्ट्राअपरेभिट सिटि स्क्यान उपकरण भित्रनु अघि ब्रेन ट्युमरको उपचारकै लागि लामो प्रक्रिया पुरा गर्नुपर्दथ्यो । खासगरी ब्रेनको कुन भागमा ट्युमर छ पत्ता लगाउन अपरेशन अगाडी धेरै समय खर्च गर्नुपर्दथ्यो । अहिले इन्ट्राअपरेभिट सिटि स्क्यान सञ्चालनसँगै रोग पहिचानमा सहजता भएको छ ।   

तस्विर साैजन्यः वीर अस्पताल, न्यूराे सर्जरी विभाग 

‘पहिले ब्रेन ट्युमर पत्ता लगाउन सिटि स्क्यान गरेर विरामीलाई पोस्ट हवमा राख्नु पर्दथ्यो, त्यसको एक दुई दिनमा पुनः सिटि स्क्यान गरेर ट्युमरको साइज पत्ता लगाइन्थ्यो, अपरेशन गरेपछि पनि सबै ट्युमर निस्कियो निस्किएन थाहा पाउन समय लाग्थ्यो ।’ डा. विष्टले भने–‘ इन्ट्राअपरेभिट सिटि आएपछि ब्रेन ट्युमर कुन स्थानमा कुन साइजमा रहेको छ, कति गहिराईमा छ एकै पटक थाहा पाउन सकिएको छ । साथै अपरेशन गर्दा गर्दै कति ट्युमर निस्कियो समेत थाहा पाउन सकिन्छ ।’ उनले भने ।   

डा. विष्टका अनुसार इन्ट्राअपरेभिट सिटि स्क्यानको माध्यमबाट ब्रेन ट्युमर भएकै स्थानमा पुग्न सकिन्छ । यसले अप्रेसनमा हुने दुर्घटना कम मात्र गरेको छैन, विरामीलाई अप्रेसन पछिको स्वास्थ्य रिकभरमा लामो समय रेष्ट गर्नुपर्दैन । साथै, ब्रेन ट्युमर शतप्रतिशत निस्कियो निस्किएन निक्र्यौल गर्न समेत सहज भएको छ । ‘विगतमा झण्झटिलो प्रक्रियाबाट अप्रेसन गर्दापनि सबै ट्युमर निस्कियो निस्किएन थाहा पाइदैनथ्यो, एक प्रकारले भन्ने हो भने, अनुमानका भरमा अप्रेसन हुन्थ्यो । अहिले हामी थ्रिडी मोसनमा हेरेरै अप्रेसन गर्न सक्छौं ।’ डा. विष्टले भने ।   

तस्विर साैजन्यः वीर अस्पताल, न्यूराे सर्जरी विभाग 

अस्पतालले उपकरण सञ्चालनमा ल्याएसँगै करिब ४० जना विरामीको सफल अप्रेसन समेत गरिसकेको छ । अस्पतालमा भित्र्याइएको यो उपकरणका माध्यमबाट मस्तिस्कजन्य रोग, मेरुदण्ड, घुँडाका रोगका अप्रेसनमा प्रयोग गर्न सकिन्छ । यसका अलावा विग्रिएको अनुहार मिलाउन समेत यो उपकरण प्रयोग हुन्छ ।   

वीरले भित्र्याएको इन्ट्राअपरेभिट सिटि स्क्यान नेपालमा अन्य अस्पतालहरुमा उपलब्ध छैन । अहिले देशमै भएका न्यूरो अस्पतालहरुमा न्यूरो सम्बन्धी उपचार गर्न लाखौं खर्च गर्नुपर्ने अवस्थामा वीर अस्पतालले भने ब्रेन ट्युमरका विरामीलाई ५०/६० हजारमा विश्वस्तरीय उपचार सेवा दिइरहेको छ । अस्पतालले पैसा तिर्न नसक्ने विरामीलाई निःशुल्क उपचार सेवा दिइरहेको छ । ‘वीर अस्पतालमा जत्तिको सुविधा सम्पन्न उपचार पद्दति मुलुकका अन्य सरकारी वा निजी अस्पतालहरुमा छैनन् । यहाँ सबै प्रकारका उपचार पद्दति छन् ।’ न्यूरो विषेशज्ञ डा. विष्ट बताउँछन् । वीर अस्पतालमा भएका सेवा सुविधालाई आम जनता माझ पुर्याउन नसक्दा सर्वसाधारणले स्वास्थ्य उपचारमा लाखौं खर्च गर्नुपर्ने अवस्था रहेको डा. विष्टको तर्क छ । ‘वीरमा जत्तिको दक्ष जनशक्ति, गुणस्तरीय उपचार पद्दति र उपकरण कुनैपनि निजी अस्पतालमा छैनन् । मात्र हामीले वीर अस्पताललाई चिल्लो, रंगरोगन लगाएर टिलिक्क बनाउन सकेनौं ।’   

२०७५ बैशाखमा वीर अस्पताल र ट्रमा सेन्टरका लागि ४२ करोडमा खरिद गरिएको इन्ट्राअपरेभिट सिटि स्क्यान प्रख्यात जर्मन कम्पनी ब्रेन ल्याबको उपकरण हो । वीरमा भित्र्याइएको इन्ट्राअपरेभिट सिटि स्क्यान नेपालमा बायोमेड इन्टरनेशनल मार्फत खरिद गरिएको हो । कम्पनीले ५ वर्षको वारेण्टी समेत दिएको छ । यो उपकरण भारतमा समेत एम्ससँग मात्र छ । 

न्यूरो सर्जरीका लागि विरामीको भिड 

वीर अस्पतालमा इन्ट्राअपरेभिट सिटि स्क्यान सञ्चालन भएसँगै न्यूरोसम्बन्धी उपचारका लागि विरामीको भिड लाग्न थालेको छ । अस्पतालमा न्यूरोसम्बन्धी उपचार गर्न विरामीहरु हप्तौं पालो कुरेर बस्ने गरेका छन् । सर्वसुलभ शुल्क, उच्चस्तरीय उपकरण र दक्ष जनशक्तिका कारण वीरमा न्यूरो सम्बन्धि रोगको उपचार गर्न सहजता भएको विरामीहरुले बताएका छन् । अहिले वीरमा न्यूरो सम्बन्धी उपचार गर्न र शल्यक्रिया गर्ने विरामीहरुको संख्या बढेको छ । 

गम्भिर प्रकारको रोग लागि हाले सर्वसाधारणलाई उपचार पाउन मुस्किल छ । संविधानले स्वास्थ्य सेवालाई आधारभूत आवश्यक्ताका रुपमा परिभाषित गरेपनि कार्यान्वयन तहमा खासै प्रगति भएको छैन । खासगरी गम्भिर प्रकृतिका रोग लाग्दा सर्वसाधारणले सहज उपचार नपाईरहेको अवस्थामा मुलुककै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले न्यूरो सम्बन्धि रोगका लागि अत्याधुनिक उपकरण भित्र्याएर सर्वसाधारणको स्वास्थ्योपचारमा टेवा पुर्याएको छ । निजी क्षेत्रले न्यूरो सर्जरीकालागि लाखौं रुपैंया असुलीरहेको अवस्थामा वीर अस्पतालले भने कम शुल्कमै उच्चस्तरीय सेवा प्रदान गरेर उदाहरणीय काम गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *