धरानमा यलम्बर साँझ पुष २९ मा हुने

पुस २३, धरान । किरातहरुले मान्दै आएको नयाँ बर्ष यलम्बर सम्बत ५०८० को अवसर पारेर पुष २९ गते यलम्बर साँस्कृतिक साँझ हुने भएको छ । 

किरात राई यायोक्खा सुनसरीको आयोजनामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित यलम्बर साँझ गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष बलराम राईले जानकारी दिए ।   

उहाँका अनुसार सो यलम्बर साँझमा चर्चित गायकहरु राजेश पायल राई, जितेन राईसहित किरात राई साँस्कृतिक कलाकार संघका कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।   

यायोक्खाका जिल्ला अध्यक्ष राईले किरात राज्य प्राप्तीको आन्दोलनको प्रचारात्मक अभियान अन्र्तगत नै यलम्बर साँझ आयोजना गरिएको बताए । २०६३ सालदेखि नै किरात प्रदेशको माग राखेर आफुहरुको  संस्था आन्दोलनमा रहेको पनि उनले बताए । 

भानुचोकको लोकतान्त्रीक चौतारीमा आयोजना हुने सो कार्यक्रम प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा हुनेछ । कार्यक्रममा किरात समुदायका एक जना वक्ताले प्रदेश नामाकरणबारे बोल्नेछन् भने एक वक्ताले यलम्बर सम्बतबारे बोल्ने यायोक्खाले जनाएको छ ।   

‘माघ १ गतेलाई किरातीहरुले यलम्बर सम्बतको नयाँ बर्ष शुरुवातको रुपमा मनाउँदै आइरहेका छन् । यो बर्ष ५०८० यलम्बर सम्बतको रुपमा मनाउन लागेको कार्यक्रमका संयोजक तथा यायोक्खाका सहसचिव नविन राईले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *