लम्बोदरको कलेज हत्याउने दाउ, कलेज सञ्चालकलाई दुई तिरबाट किर्ते मुद्दाकाे आरोप

 

साउन २३, काठमाडौं । सामाजिक शिक्षण संस्थाको नाममा दर्ता भइ सञ्चालनमा आएको नेपाल इन्जिनियरिङ कलेज हत्याउन कलेज सञ्चालक लम्बोदर न्यौपानेको चलखेल अझै रोकिएको छैन । अहिले उनी गुप्तबास बसेरै दीपक भट्टराई पक्षधरलाई सताउने सड्यन्त्रमा लागी रहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएर कलेजमा भएको अनियमितता ढाकछोप गरेका लम्बोदर न्यौपाने र उनीसँगैका अन्य चार जना अहिले कलेज सञ्चालकलाई कानुनी उल्झनमा पार्ने सड्यन्त्र गरिरहेका छन् । न्यौपाने राजनारायण पाठक काण्डमा अख्तियारमा बयान दिँदा दिँदै फरार रहेका ब्यक्ति हुन् । कलेजमा करोडौं आर्थिक हिनामिना गरेको आरोपमा उनीमाथि अख्तियारसँगै सम्पत्ति सुद्धिकरण विभाग र सिआइवीले समेत अनुसन्धान गर्दै रहेको अवस्थामा फरार भएका थिए । 

null

लम्बोदर न्यौपानेले बर्तमान कलेज सञ्चालक सहित कलेज प्रशासनका कर्मचारीलाई सास्ती दिनका लागि किर्ते कागजात मुद्दा दायर गरेका छन् । 

न्यौपानेले कलेज सञ्चालक तथा कर्मचारी गरी ९ जनालाई किर्ते कागजात बनाएको भन्दै मुद्दा दायर गरेका हुन् । न्यौपानेले गत जेठ ३० गते काठमाडौं जिल्ला अदालतमा कलेज सञ्चालक समितिका डा. दीपक प्रसाद भट्टराई, सलिल भट्टराई, हरिप्रसाद पाण्डे, जि पौड्याल एण्ड एसोसिएटसका चार्टर एकाउन्टेन्टस घनश्याम पौडेललाई नक्कली झुट्टो कागजात तयार पारेको विषयमा मुद्दा हालेका छन् । 

उनले कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठ, भाइस प्रिन्सिपल दीपक धामी, फाइनान्स कन्ट्रोलर रामकुमार श्रेष्ठ, लेखा शाखाका मित्रनाथ गेलाल र श्रीमति श्रीमा शर्मालाई समेत किर्ते मुद्दा हालेका छन् । 

उनीहरु सबैलाई लम्बोदर न्यौपानेले कलेजको सम्पूर्ण कागजात झुट्टा लिखत बनाई किर्ते लेखापरीक्षण प्रतिवेदन तयार पारेको, नक्कली बनावटी विल भरपाई तयार पारेको, कलेजको सम्पूर्ण आर्थिक कारोबारको विलविजकहरु कब्जा गरी सक्कल विल भरपाई मासी सक्कल लेखापरीक्षण समेत नष्ट गरेको आरोप लगाएका छन् । लम्बोदर न्यौपानेले दीपक भट्टराई पक्षधरले कलेज सञ्चालकलाई बदनाम गराउन विभिन्न मिडिया समेत प्रयोग गरेको, सञ्चार माध्यममा झुट्टो खबर फैलाएको समेत दावि गरेको छ । 

‘लम्बोदर पक्षले जेठ ३० गते कलेज सञ्चालक सहित ९ जनाका नाममा मुद्दा दायर गरेको छ ।’ काठमाडौं जिल्ला अदालत स्रोत भन्छ । 

 

लम्बोदर न्यौपानेले ९ जनाका विरुद्ध जेठ ३० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा सोहि मुद्दालाई अन्य चार जना सञ्चालकले पनि साउन १२ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । कलेज सञ्चालक मध्येका सांसद सुर्य बहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले समेत किर्ते मुद्दा दायर गरेका छन् । 

‘एउटै प्रकृतिको मुद्दा दुई तिरबाट दर्ता गरेर कलेज सञ्चालकलाई मुद्दा मामिलामा अल्झाउने लम्बोदर पक्षको योजना हो ।’ एक कलेज सञ्चालकले मकालु खबरसँग भने–‘दीपक भट्टराई पक्षधरले कुनैपनि डकुमेन्ट नक्कली बनाएको छैन ।’ 

कलेजको सम्पूर्ण आर्थिक तथा प्रशासनिक डकुमेन्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति सुद्धिकरण विभागले समेत सदर गर्दै त्यसैबाट अनुसन्धान गरीरहेको छ । विभागले जि. पौड्याल एण्ड एशोसिएटसले तयार पारेको लेखा परीक्षण तथा लेखा समितिका सम्पूर्ण कागजातको सक्कल प्रति नै लिएर अनुसन्धान गरी रुजु समेत गरेको छ । भने, अख्तियारले समेत त्यहि कागजातका आधारमा अनुसन्धान गरेको छ । सम्पत्ति सुद्धिकरण विभागले महालेखा परीक्षकका चार जना विज्ञलाई राखेर अनुसन्धान गरेको छ । विभागका डाइरेक्टर तेज प्रकाश प्रसाईले गत असार १८ गते कलेजका सम्पूर्ण डकुमेन्टहरु रुजु गरेका छन् । 

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कलेजको विवाद समाधान गर्नका लागि आर्थिक अनियमितता छानविन गर्न र कलेज सञ्चालनको माडल तयार पार्न दुई वटा समिति गठन गरेको थियो । त्यस मध्येको मोडालिटी तयार गर्न बनेको समितिले असार ११ गते लम्बोदर न्यौपाने पक्ष र दीपक भट्टराई पक्षलाई छलफलका लागि बोलाएकोमा न्यौपाने पक्षधर उपस्थित भएनन् । दीपक भट्टराई पक्षधरका सबै सञ्चालकहरु बैठकमा उपस्थित हुँदा लम्बोदर पक्षधरले चिठ्ठी लेखेरै बैठकमा सहभागी नहुने जनाएको स्रोतको दावि छ । 

उक्त बैठकमा सहभागी नहुने भन्दै लम्बोदर न्यौपाने पक्षले पठाएको चिठ्ठीमा प्रयोग गरीएको हस्ताक्षर नै नक्कली रहेको एक कलेज सञ्चालकले बताए । ‘दुवै पक्षलाई बैठकमा बोलाइएको थियो, त्यसमा लम्बोदर पक्षले कलेजको लेटरप्याडमा बैठकमा सहभागी नहुने ब्यहोरा लेखेर पठायो, तर त्यहाँ प्रयोग गरीएको हस्ताक्षरहरु भने सबै स्क्यान गरीएका थिए ।’ स्रोत भन्छ । 

कलेज स्रोतका अनुसार लम्बोदर न्यौपाने पक्षधरले अहिलेपनि कलेजका नाममा नक्कली विल भौचर प्रयोग गर्ने, लेटर प्याड प्रयोग गर्ने काम गरीरहेका छन् । 

०७४ सालसम्म कलेजको कार्यकारी अध्यक्ष हुँदा लम्बोदर न्यौपानेले कलेजको श्री सम्पत्तिमा ब्रम्हलूट गरेका थिए । नक्कली मान्छे खडा गरेर, फर्जी डकुमेन्ट बनाएर पैसा लिने वाहेक उनले विद्यार्थीको शुल्क उठाउनकै लागि भनेर करोडौं कमिसन खाएका थिए । उनले कलेजबाट पटक–पटक आफ्नो तथा अन्य ब्यक्तिको नाममा झण्डै १ करो २८ लाख रुपैंया लिएको कलेज स्रोतको दावि छ । लम्बोदरले कलेजका पूर्व–भाइस प्रिन्सिपल तिर्थराज निरौला, लेखा शाखाका समिर ढुंगेल गीता खड्का, शोभाकान्त देवका नाममा पटकपटक लाखौं रुपैंया निकालेर अपचलन गरेका छन् । स्रोतका अनुसार लम्बोदरले ती ब्यक्तिलाई समेत प्रभावमा पारेर पैसा लिएका थिए । 

नेपाल इन्जिनिरिङ कलेज सञ्चालनका लागि गठित समितिले संयुक्त आंथिक मोडल पास गरेको छ । गठित समितिले असार १७ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै पोखरा विश्वविद्यालयको कन्ट्रोलमा एकेडेमीक रहने र प्रशासनिक ब्यवस्थापन चाँगुनारायण नगरपालिकाको मातहतमा रहने गरी ९ सदस्यीय तदर्थ समिति समेत गठन गरिसकेको छ । 

समितिका तदर्थ समितिमा चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र अध्यक्ष रहेका छन् भने, सदस्यहरुमा पोखरा विश्वविद्यालयका प्रतिनिधि इन्जिनियर अर्जुन गौतम, स्थानीयबासी सोम प्रधान, नरेश खड्का, दिनेश खनाल, सन्तोष केसी, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी, कलेजबाट शिक्षक प्रतिनिधि इ. दुर्गाप्रसाद भण्डारी र सदस्य सचिवका रुपमा कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठ रहेका छन् । 

समितिले उक्त प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाएसँगै मन्त्रालयले संसदीय समितिमा पठाएको मन्त्रालय स्रोतले बतायो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *