एक पूर्व नायब सुब्बा, जसलाई असफल प्रेमले सडकमा पुर्यायो

  

 

साउन १९, काठमाडौं । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा रहेका थिए । 

null

उनको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । ‘धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गर्नुभएको थियो, प्रेममा बिछोडिँदा मनोरोगी हुनुभयो, त्यसपछि झण्डैँ २५–३० वर्षदेखि सडकमै बास भयो’, काठमाडौँ महानगरपालिका– ५ का वडाध्यक्ष रमेश डङ्गोलले भने । 

हाँडीगाउँ आपसाप सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले पाँच रुपैयाँ माग्ने उनको दैनिकी थियो । बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्ने । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने । स्थानीयका अनुसार पछिल्लो समयमा उनी बढी मदिराको लतमा थिए । 

विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डङ्गोल सम्झन्छन्, ‘न त उपचार सफल हुन सक्यो न परिवारमै अडेर बस्न सक्नुभयो ।’ आमा हुँदासम्म उनी केही समय घरमा पनि बस्थे, आमाको शेषपछि भने उनको बास सडकमै हुने गरेको स्थानीयको भनाइ छ । 

एकपटक सडकमा घुम्दाघुम्दै हराए । त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डङ्गोल सम्झन्छन् । 

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शवको पहिचान गर्न उनी पनि गएका थिए । केसीले प्रविणता प्रमाणपत्र तह पास गरेका थिए । धादिङमा उनी जागिरमा छँदै मानसिक समस्या आएको स्थानीय बताउँछन् । मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना भन्छन्, ‘प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ, जीवनप्रति नैराश्यता तथा एक्लोपन हुने हुन्छ, बेलैमा सही व्यवस्थापन गर्न नसकिए मानसिक समस्या पनि हुन्छ, मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ ।’ त्यस्ता व्यक्तिले आत्महत्या समेत गर्नसक्ने उनले बताए । 

विगतमा उनको समस्या कसरी समाधान गर्ने भन्ने कुनै उपाए थिएन । आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँड्दा चिन्ता लाग्थ्यो । काठमाडौँ महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेकाले उनलाई राख्ने ठाउँको चिन्ता भएन । त्यसैले वडाध्यक्ष र वडा सदस्य मिलेर उद्धार गरी उनलाई आश्रममा पु¥याउन सफल भए । 

तीन दिनअघि हाँडिगाउँस्थित कृष्ण मन्दिर नजिकै देखिए । काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष डङ्गोल, वडा सदस्य मिनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी आश्रम पु¥याएका हुन्। उनको आमाबुबा छैनन् । वडा सदस्य प्रजापति एउटै वडा निवासी उनी आफूले देखेदेखि नै सडकमा रहेको बताउँछन् । शुरुमा त्यति ठूलो मानसिक समस्या थिएन । समय बित्दै जाँदा गम्भीर मानसिक समस्यामा पुगेका उनले बताए । 

आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ । ‘कुनै कुराले असर पर्दा तत्कालै मनोविमर्श सेवा र प्रेम नपाएको मानिस मनोरोगी हुन पुग्छन्, उनीहरुको अन्तिम स्थान भनेको सडक नै हुनुपुग्छ’, आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने । त्यसैले अरुले हेलाँ गरेर फ्याँकिएका मान्छेलाई माया दिनु आश्रमको लक्ष्य भएको उनले बताए । 

बर्तौलाका अनुसार कतिपय व्यक्ति माया र प्रेमले परिवर्तन हुन्छन् भने कतिपयलाई दीर्घकालीन औषधि सेवनको खाँचो हुन्छ । चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको छ । ठीक भएर घर पहिचान भएकालाई परिवारमा पुनःमिलनसमेत गराइन्छ । पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमानकाे हेला घरपरिवारको बेवास्ता असफल प्रेम जस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् । रासस/नारायण ढुङ्गाना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *