प्रधानमन्त्रीको गृह जिल्लामा आरसीआईडी बम फेला
फाइल तस्विर असार १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा आरसीआईडी बम फेला परेको छ ।
आफ्ना कार्यकर्ताको हत्या गरेको विरोधमा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन मंगलबार (आज) प्रधानमन्त्रीको गृहनगर झापामा आरसीआईडी बम फेला परेको हो ।
null
रिमोट कन्ट्रोल इन्टरसेप्टिङ डिभाईस (आरसीआईडी) बम विस्फोट अगावै प्रहरीले बरामद गरेको छ । चाहेको समयमा रिमोटको सहयोगमा बिस्फोट गराउन सकिने यसप्रकारको बम विप्लव नेकपाबाट पहिलो पटक बरामद भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
मान्छेले रिमोटबाट सञ्चालन गर्ने यसप्रकारका डिभाईसमा बम राखेर बिस्फोट गराईन्छ। सेना र प्रहरीको इन्टिलिजेन्स टोलीले घटनाको अनुसन्धान थालेको बताइएको छ ।
प्रहरीले आज ‘विप्लव’ समूहका ७ नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
विप्लवको बन्दले आज देशभरको जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था तथा कार्यालयहरु पनि बन्द छन् । काठमाडौंमा भने बन्दको प्रभाव कमै देखिन्छ । यातायातमा खासै असर परेको देखिँदैन ।
काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा बम बिस्फोट, शंकास्पद वस्तुहरु फेला परिरहेका छन् ।
काठमाडौंको कीर्तिपुरको नयाँ बजार गेटनजिक शंकास्पद वस्तु फेला परेको थियो । तर उक्त वस्तु बम नभएको प्रहरीले पुष्टि गरिसकेको छ ।