कोरोनाका कारण अमेरिकामा दुई लाखको मृत्यु हुनसक्ने चेतावनी
चैत १७, काठमाडौं । अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड-१९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन् । अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन् ।
सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएका थिए । तर उनले तत्कालै त्यस्तो सङ्ख्या सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको बताए ।
पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो । तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ । अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन् ।