हाम्रो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध जारी रहन्छः कांग्रेस सचेतक भुषाल

 

साउन १९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भएमा मात्र भोलि संसद सुचारु हुने स्पष्ट पारेकी छिन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचेतक भुसालले माग पुरा भए संसद सुचारु हुने र नभए अवरोध जारी राख्ने बताइन् । 

null

उनले भनिन्, ‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौँ ।’ 

उनले आफूहरु हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन् । भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरु त्यसको विरोधमा उत्रिने बताइन् । 

‘हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौँ । संविधान विरोधी गतिविधि भए हामी त्यसको विरोध गर्छौँ । यी सबै विषयहरु उठाउने महत्वपूर्ण थलो भनेको नै संसद हो । त्यही भएर हामीले यी विषयहरु उठाइरहेका छौँ’, उनले भनिन् । 

सर्लाहीमा असार ५ गते घटेको कुमार पौडेल हत्या प्रकरणको बारेमा आफूहरु संसदीय छानविन समिति गठन गर्नुपर्छ भनेर माग गरिरहेको पनि उनले सुनाइन । उनले भनिन्, ‘यो घट्नामा मानवअधिकारको उल्लंघन भएको छ । यो घटनामा संसदीय समिति गठन गर्नुपर्छ । यसबारेमा संसदले सरकारलाई आवश्यक निर्देशन दिनुपर्छ ।’ 

त्यस्तै, असार १४ र असार १५ गते भएका अन्य दुई घटनाको सवालमा पनि संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको माग रहेको भुषालले सुनाइन् । राज्यले ईनकाउन्टरको नाममा नागरिकको हत्या गरेको पनि उनको आरोप छ । 

उक्त घटनाको बारेमा सदनमा मात्रै होईन सडकमा पनि आवाज उठिसकेको स्पष्ट पार्दै उनले भनिन्,‘यतिका धेरै आवाज र प्रश्नहरु उठिसकेपछि सरकारले सदनलाई जवाफ दिनुपर्छ । शान्तिपूर्ण तवरले आन्दोलन गर्दा पनि गोली चलाइएको छ । यो गलत भयो । गैरन्यायिक काम भएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।’ 

उनले यदि सर्लाहीका तीन वटै घटनामा सरकारले चालेको कदम ठिक छ भन्ने लागेको छ भनेपनि त्यो कुरा संसदमा आएर ठिक हो भनेर भन्नुपर्ने आफूहरुको भनाइ रहेको उनले सुनाइन् । उनले भनिन्, ‘संसदीय समिति भनेको न्यायिक समिति होईन, त्यसैले राज्य डराउनु हुँदैन । संसदमा उठेका विषयमा छलफल हुनुपर्छ । ईगोको कारण ईस्यु बनाउनु हुँदैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *