सुर्तिजन्य पदार्थको सेवनका कारण प्रत्येक दिन ७४ जनाको मृत्यु

 

काठमाडौं, १६ जेठ । ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तिजन्य पदार्थ रहित दिवस ३१ मे मनाउने सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ केन्द्रिय समिति र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले आज जनतामा सुर्तीजन्य पदार्थ र यसको सेवनले हुने असर र भविष्यमा यसको रोकथामको बारेमा सुसुचित गर्ने उद्देश्यले मिडियासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

विश्व सुर्तिजन्य पदार्थ रहित दिवस, ३१ मे २०१९ को पूर्व सन्ध्यामा बिहीबार अन्तरक्रियाको आयोजना गरि सुर्तिजन्य पदार्थको सेवनका रोकथामको बारेमा सरोकारवाला र पत्रकारहरुबीच अन्तरक्रिया सम्पन्न भएको हो । 

null

कार्यक्रमका प्रमुख अतिथि एवम् स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सुर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । त्यस्तै, उनले गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिहरुलाई सुर्तिजन्य पदार्थ खरिद तथा विक्रि गर्न नपाउने कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने पनि धारणा राखे । 

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका केन्द्रिय अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तिजन्य पदार्थ रहित दिवस वर्षमा एक दिनमात्रै नभनी वर्षैभरि नियमित रुपमा विभिन्न प्रभावशाली कार्यक्रमहरुको आयोजना गरेर मनाउनुपर्नेमा जोड दिए । ‘यसलाई अभियानकै रुपमा लिएर देशव्यापी जानुपर्छ ।’ उनले भने । सबै सचेत नेपालीहरुले यसलाई अभियानको रुपमा अघि बढाउन सकिएमात्रै साँच्चिकै यो दिवसको महत्व रहने पनि उनको भनाई छ । 

 

घर, परिवार, समूदायलगायत विद्यालय, देशका विभिन्न संघ तथा संस्थाहरु सबैले सुर्तीजन्य पदार्थमुक्त बनाउनुपर्ने पनि भट्टले सुझाए । देशका ७५३ वटै स्थानीय तह, ७ प्रदेश र संघीय सरकार तीन तहकै सरकारले यसलाई विशेष महत्व दिनुपर्ने उनको भनाई छ । 

उनले सरकारले हिजो पेश परेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा सुर्तिजन्य पदार्थ (चुरोट, बिडी र सिगार) को प्रत्येक खिल्लीमा लगाएको २५ पैसा स्वास्थ्य कर स्वागतयोग्य भएपनि अझै बढाउनुपर्ने माग गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले नेपालमा करिब ९० लाख (३०.८) प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्यांक सुनाए । धुम्रपानको कारण मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वास) देखा परेको पनि उनले जनाए । 

उनकाअनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए । डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत रहेको पनि खड्काले तथ्यांक सुनाए । त्यस्तै, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे । 

त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्नेको वरिपरि बसी धुँवा ग्रहण (सेकेण्ड ह्याण्ड स्मोकर) गर्नेलाई असर पर्ने गरेको पनि उनले सुनाए । उनले भने,‘सुर्ती सेवन गर्नेजतिनै सेवन गर्ने मान्छेसँग बस्नेलाईपनि उतिकै असर गर्छ ।’ त्यस्तै, उनले ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा नेपालमा थुप्रिएको पनि तथ्यांक सुनाए । 

उनकाअनुसार सुर्तिजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरु क्यान्सर, मुटु रोग, मधुमेह, दिर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्व ३० करोड खर्च भैरहेको छ । उनले भने,‘त्यसमध्ये चार अर्व ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनता आफ्नो गोजीबाट खर्च गर्छन् ।’ तर, सरकारलाई सुर्तिजन्य पदार्थको राजश्व वार्षिक रुपमा १७ अर्ब रुपैयाँमात्रै बुझाउने गरिएको तथ्यांक खड्काले पेश गरे । 

 

खड्काले कुल क्यान्सर रोगका कारण विरामी हुने नेपालीहरुको संख्या ३.५ प्रतिशत रहेकोमा त्यही तथ्यांकलाई कुल मान्दा त्यसमध्ये सुर्तिजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सरको २९ प्रतिशत रहेको जनाए । त्यस्तै, मुटु रोग १२.४ प्रतिशत विरामी हुनेमा सुर्तिजन्य पदार्थको सेवनका कारणले विरामी हुने २१ प्रतिशत रहेको जनाए । 

खड्काले विश्वमा प्रत्येक चार सेकेण्डमा एक जना र वार्षिक ८० लाख मानिसको सुर्तिजन्य सेवनका कारण लाग्ने रोगका कारण निधन हुने गरेको र नेपालमा प्रत्येक घण्टा चार जनाको निधन हुने गरेको पनि सुनाए । नेपालमा वार्षिक २७ हजार १ सय ३७ जनाले सुर्तिजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण गर्नुपरेको छ । 

त्यस्तै, नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वास) कारण भैरहेको पनि खड्काले तथ्यांक पेश गरे । त्यस्तै, नेपालमा फोक्सोको क्यान्सरबाट कुल क्यान्सर मृत्युमध्ये १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको पनि उनले सनुाए । ‘सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर रोगबाट मृत्यु हुनबाट रोक्न सकिन्छ ।’ उनले भने । 

निर्देशक खड्काले सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन–२०६८ लाई कार्यान्वयन गरेपछि दैनिक ११ खिल्ली चुरोट सेवन गर्ने नेपालीहरु दैनिक ५ खिल्ली सेवन गर्ने गरेको पछिल्लो तथ्यांक पनि पेश गरे । उनले उक्त ऐन कार्यान्वयनमा आएसँगै यसरी नेपालीहरुमा चुरोट सेवनको संख्या घट्नु खुशीको कुरा भएको पनि स्पष्ट पारे । 

नेपाल जनस्वास्थ्य संघका महासचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य, शिक्षा प्रशासक महेश्वर श्रेष्ठले आजको अन्तरक्रिया कार्यक्रमको समन्वय तथा व्यवस्थापन गरेका छन् । श्रेष्ठ अन्तरक्रियाको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए भने अन्तरक्रिया कार्यक्रमको सञ्चालन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले गरेका थिए । 

आयोजकले भोलि विश्वभरि मनाईने सुर्तिजन्य पदार्थ रहित दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । यसै सिलसिलामा नेपाल जनस्वास्थ्य संघ, केन्द्रिय कार्यसमितिले उपत्यकाभित्रका १५ वटा जनस्वास्थ्य अध्यापन गराउने कलेजमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई अभिमुखीकरण गरि तिनीहरुमार्फत उपत्यकाका ३० वटा सामूदायिक विद्यालयमा सुर्तिजन्य पदार्थको सेवन र यसका कानुनी प्रावधानबारे प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *