मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छः प्रचण्ड
असाज ९, बुटवल । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिलोत्तमा लगानी सम्मेलन–२०१९ को उद्घघाटन गदै नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।
उनले अहिले नेपालमा लगानीको वातावरण रहेको र लगानीकर्ताले पर्याप्त नाफा कमाउन सक्ने अवस्था रहेको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरिएको उक्त सम्मेलनमा प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताएका थिए ।
लगानी सम्मेलनमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डल भने ‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उनले भने, ‘लगानी भित्राएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ ।’
उनले गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू भएको उल्लेख गर्दै उनले यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने बताउँदै गणतन्त्रलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । उनले धमिलो पानीमा माछा मार्न खोज्नेप्रति सचेत हुनुपर्ने धारणा समेत राखेका थिए ।
तिलोत्तमा नगरपालिकाले करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर लगानी सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी रहेका छन् ।
सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताएका छन् ।