कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा चालक नदीमा बेपत्ता

 

साउन १६, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् । कन्टेनरका सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । 

null

कन्टेनर सडकबाट करीब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ । घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कन्टेनरसँग ठक्कर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *