पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौज, उल्टै मन्त्रीले नै मागे माफी

भाद्र  २८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा विमानभित्र  रहेका यात्रुहरुले गालीगलौज गरेका छन् ।   

विमानभित्रै मन्त्री भट्टराइलाई गालीगालौज गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि यो कुरा बाहिर आएको हो । विमानमा रहेका केही यात्रुहरुले पर्यटनमन्त्री भट्टराईलाई विमान चढ्न ढिला भएको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।  

१ मिनेट २१ सेकेण्डको उक्त भिडियोमा मन्त्री भट्टराईलाई भनिएको छ ‘१ घण्टासम्म प्लेन रोक्ने, कहाँ हुनुहुन्थ्यो, मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हनुहुन्थ्यो ? टाइमको ख्याल राख्नु पर्दैन ? संविधान तपाईंले बनाएको , संविधानको कुन क्षेत्रमा लेखिएको छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन दुई घण्टा जाम गरिदिने । यसको जवाफ दिनुस् ।….।’ यसरी यात्रुहरुले आफूमाथि गालीगलौज गरिरहँदा पनि मन्त्री भट्टराई भने शान्त रुपमा बसेको देखिन्छ ।   

शनिबार डल्फिन महोत्सवको उद्घाटन गर्नका लागि कैलालीको धनगढी हुँदै टीकापुर पुगेका पर्यटन मन्त्री भट्टराई कार्यक्रम सकेपछि शनिबार साँझ नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फिर्किने क्रममा यात्रुहरुबाट दुर्व्यवहार भएको हो ।  

उता पर्यटनमन्त्री भट्टराईले भने आफ्नो कारण प्लेन उड्न १५ मिनेट ढिला भएकोमा क्षमा याचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन्, ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो । 

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।’   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *