‘१२ अर्ब लगानी भित्र्याउन सुरु गरिसक्यौं’: पन्त, ‘श्रमिक कल्याणकारी कोषमा एक करोड ५ लाख आजै जम्मा गर्यौं’

काठमाडौं, २ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउन प्रतिबद्धता जनाएका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।   

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने बताए । ‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’ उनले भने । 

पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने स्पष्ट पारे । उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन । २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नकोलागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने बताए ।   

‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सिप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिकोलागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’ पन्तले भने ।   

नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एम.ओ.यु.पनि गरिसकेको उनले सुनाए । ‘हामीले यो प्रतिबद्धता पूरा गर्नको लागि काम सुरु गरिसकेका छौं ।’ उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने पनि उनले जनाए ।   

अध्यक्ष पन्तले विदेशबाट ठूलो संख्यामा नेपाल आउने रेमिट्यान्स अनुत्पादनशिल क्षेत्रमा खर्च भैरहेको सुनाउँदै आगामी दिनमा उक्त रेमिट्यान्स उत्पादनको क्षेत्रमा लगानी गर्नेपनि बताए । विदेशमा श्रममा रहेका नेपालीहरुको हित र कल्याणको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषमा भएको रकम दोब्बर गर्ने भनेर बोलिएअनुसार आजैबाट काम सुरु भएको उनले स्पष्ट पारे । ‘आज बसेको नवनिर्वाचित कार्यसमितिको बैठकबाट कोषमा एक करोड ५ लाख रकम जम्मा भैसकेको छ ।’ त्यस्तै, उनले श्रमसम्बन्धी समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे श्रममन्त्री गोकर्ण विष्टसँगपनि छिट्टै छलफल सुरु गर्ने जनाए ।   

पन्तले संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा निर्वाचनको भोटिङ मेशिनमा समस्या देखिएको बताए । उनले गैरआवासीय नेपालीभन्दा पनि बाहिरका मान्छेले निर्वाचनमा संघलाई बदनाम गराएको टिप्पणी गरे । ‘हाम्रो संस्था गैरराजनीतिक संस्था हो । राजनीतिकरण गर्नुहुँदैन । हामी सबै गैरआवासीय नेपालीहरु एकताबद्ध भएर बस्न चाहन्छौं ।’ उनले राजनीतिको नाममा आफूहरुलाई विभाजित नगरियोस भन्ने धारणा राखे ।   

नेपालमा ठूला दलका ठूला नेताहरुले जबरजस्ती राजनीतिकरण गरेर निर्वाचित प्रभावित गरेकोले आगामी महाधिवेशन र निर्वाचन नेपालमा नगर्ने भनेर आफूले बोलेको पन्तको भनाई छ । ‘आगामी निर्वाचन हामी नेपालबाहिरै गर्छौं । अनलाईन भोटिङ सिस्टम लागु गर्छौं ।’   

यो पटकको निर्वाचनमा पैसाको पनि विकृति देखिएको उनको भनाई छ । उनले दुईवर्षे कार्यकाल पूरा गर्नका लागि केही ठोस योजना तर्जुमा गरेको भन्दै विदेशमा बस्ने नेपालीहरुलार्ई पञ्जीकृत शुल्क हटाएर निःशुल्क सदस्यता दिलाउने बताए । उनले पैसाका नाममा अभियानमा केही विकृतिहरु भित्रिएको भन्दै आफ्नै कार्यकालमा त्यस्ता विकृतिहरुलाई हटाउने जिकिर गरे । यसको लागि आजै बसेको बैठकले एउटा कार्यदल गठन गरेर काम पनि सुरु गरिसकेको पन्तको भनाई छ ।   

नेपाली जनताले संघबाट ठूलो आशा गरेकोले परोपकारी काममा संघ बढि केन्द्रित हुनेपनि बताउँदै भने,‘च्यारिटी काम बढि गर्नको लागि फाउण्डेशन बनाएर अघि बढ्छौं ।’ महिला उद्यमशिलता बढाउनकोलागि आफूहरुले विशेष ध्यान दिएर काम गर्ने बताए । अहिलेको पुस्ता विस्तारै बुढो हुँदै जाने भएकोले आगामी सक्षम युवा पुस्ता तयार पार्नको लागि युथ इन्टरप्रेन्युअरसिप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।  नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने उनले बताए ।   

कार्यक्रममा बोल्दै नवनिर्वाचित उपाध्यक्ष मन केसीले आफूहरुले दिर्घकालिन योजनासहित काम गर्ने बताए । यसअघि गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गरेरै छोड्ने उनको विश्वास छ । संस्थामा बौद्धिक, उद्यमी, व्यवसायीलगायत सफल व्यक्तिहरु रहेकोले आगामी दिनमा मुलुकको विकास र समृद्धिको लागि योगदान पुर्याउनेगरि काम गर्ने पनि केसीले प्रतिबद्धता जनाए । उनले सम्मेलनबारे जनस्तरबाट मिश्रित प्रतिक्रिया आएको बताए । ‘चामलमा बियाँहरु देखियो भने नाङलोले फ्याँकेजस्तै, हामी संस्थाभित्र देखिएका बियाँहरु फ्याँक्छौं ।’ उनले संस्थामाथि लागेका सबैखाले दाग र खोटहरु मेटाउने विश्वास दिलाए ।   

अर्का उपाध्यक्ष सोनाम लामाले आफूले सुरुदेखि नै दोहोरो नागरिकताको निरन्तरताको बारेमा वकालत गरिरहेकोले उक्त काम पूरा गर्नको लागि सदैव प्रयास गर्ने स्पष्ट पारे । त्यस्तै, उनले नेपाल सरकारले घोषणा गरेबमोजिम पर्यटन वर्ष–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले सक्दो भूमिका निर्वाह गर्ने पनि विश्वास दिलाए ।  ‘नेपालमा २० लाख पर्यटक भित्र्याउनको लागि हाम्रो पनि ठूलो भूमिका र जिम्मेवारी छ । एक एनआरएनए एक विदेशी नेपाल भित्र्याउनको लागि पहल गर्नुपर्छ ।’ मुलुकलाई सम्पन्नशाली बनाउनकोलागि साथ र सहयोग रहने लामाले बताए ।   

कार्यक्रममा अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अहिलेको नयाँ निर्वाचित टिमले धेरै कुरा बोल्नेभन्दा पनि बोलेका कुरा पूरा गर्ने र पूरा गर्नसक्ने कुरामात्रै बोल्ने स्पष्ट पारे । आफूहरुले गरेका वाचा तथा प्रतिबद्धताहरु समयमै कार्यान्वयन गर्ने पक्षतर्फ दत्तचित्त भएर लाग्ने उनको धारणा छ ।   

नवनिर्वाचित महासचिव डा. हेमराज शर्माले नवौं विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भएपनि त्यसलाई छिटपुट घट्नाको रुपमा चित्रण गरे ।   

‘यस विषयलाई गम्भिर रुपमा लिएका छौं । निर्वाचन पद्धती र संगठनात्मक संरचना परिवर्तन गर्नेबारे निश्कर्ष निकालेका छौं । निर्वाचनमा कसैले पनि यसरी भाग लिनुपर्दैन्, सिधै अनलाईन भोटिङ प्रणालीको व्यवस्था गर्छौं ।’ उनले भने । शर्माले आज बसेको कार्यसमितिको पहिलो बैठकले पनि यसबारेमा कार्यदल बनाएको सुनाए । उपाध्यक्ष मन केसीको संयोजकत्वमा कार्यदल बनाएको उनले जनाए ।  उनले अहिले नयाँ टिम निर्वाचित भएर आएको र देशको समृद्धि र विकासको लागि योगदान पुर्याउनेगरि आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए ।   

कार्यक्रममा नवनिर्वाचित सचिव आर.के. शर्माले मध्यपुर्व एशियामा रहेका श्रमिक नेपालीहरुको समस्या समाधानको लागि आफूहरु सधैं लागिपर्ने बताए । त्यस्तै, सह–कोषाध्यक्ष लोक दाहालले पनि आफूहरु देशको विकास र समृद्धिमा एकजुट भएर लागिपर्ने बताए । अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले विदेशमा बसेपनि आफूहरुको मन, मस्तिष्कमा नेपाल रहेको सुनाउँदै मातृभुमीको विकासमा जहिल्यैपनि जोडिने विश्वास दिलाईन् ।   

त्यस्तै, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपानेले श्रमिकको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने र नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने वचनबद्धता व्यक्त गरे ।   

एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले श्रमिकको मुद्दालाई आफूहरुले जोडदार रुपमा उठाउने र श्रमिक फण्ड बलियो बनाउने बताए ।  कार्यक्रममा क्लबका सभापति धमलाले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष पन्तलाई सबै साथीहरुलाई मिलाएर लैजान आग्रह गरे ।   

कार्यक्रममा अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्कीथापा लगायतलाई धमलाले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *