२४ भदौबाट कांग्रेसको दोस्रो चरणको जागरण अभियानः बाेल्ने कम सुन्ने बढी, एक लाख युवासँग साक्षात्कार

                                                                                                                    फोटो: बाह्रखरी  

भदौ १९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएका हुन् ।   

सो जागरण अभियान ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको उनले बताए ।   

३५ हजार बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान सुरु गर्दै कांग्रेस, एक लाख युवासँग साक्षात्कार गर्ने

भदौ २४ गतेदेखि असोज ७ गतेसम्म आयोजना हुने दोस्रो चरणको १५ दिने सो जागरण अभियान अन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखिएको पनि उनले स्पष्ट पारे ।   

जागरण अभियानका क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवाद कार्यक्रम आयोजना गरेर एक लाख युवासँग युवा केन्द्रित विशेष संवाद गर्ने कांग्रेसको तयारी रहेको उनले बताए । जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि कांग्रेसले जनाएको छ ।   

यस्तै प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिले खटाएका प्रतिनिधिहरुले दोस्रो चरणको अभियानमा कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरु तय गरिएको बताए ।   

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको पनि उनले जानकारी दिए ।   

दुईतिहाइको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष नपुग्दै नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा बढ्दै गएको उनको आरोप छ । 

नेपाली कांग्रेसले यस अघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म गरेको थियो । 

  

यी हुन् नेपाली कांग्रेसकाे दाेस्राे चरणकाे जागरण अभियानकाे उद्देश्यः 

(१)    राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने । 

(२)    कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न ।  

(३)    नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्न । 

(४)    वर्तमान सरकारका अनेक भ्रष्टाचारलगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले  प्रष्ट्याउन । (वाइड बडी, न्यारो बडीलगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टाचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू) 

(५)    नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन । 

(६)    जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।  

(७)    तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने । 

(८)    मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन । 

(९)    तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन । 

(१०)    नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झैँ महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न/गराउन । 

(११)    नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथा देखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन । 

(१२)    भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुन:स्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समूह” निर्माणको छलफल प्रारम्भ गर्ने । 

(१३)    स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितिहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन । 

(१४)    कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न । 

(१५)    नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *