यी हुन् शक्तिशाली बन्न बालकको बलि चढाउने धामी
जेठ १६, काठमाडौँ । शक्तिशाली धामी बन्ने भ्रममा अढाई वर्षीय बालकको हत्या गर्ने शत्रुघन महतोलाई प्रहरीले सार्वजनिक गरेको छ ।
शक्तिशाली धामी बन्न धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय छोरा आर्यनकाे बलि चढाउनका लागि हत्या गर्ने शत्रुघनलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । प्रहरीले उनीसहित ३ जनालाई बुधबार नै नियन्त्रणमा लिएको थियो ।
null
महतोले आफनै घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी कर्तव्य गरी मारेको प्रहरीले जानकारी दिए । शत्रुघनले हत्यापछि बालकको शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए ।
आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा पनि भेटेका थिएनन् ।
बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो ।
तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको पाइएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।
बालक आर्यनलाई पनि ज्वरो आउँदा शत्रुघनले नै झारफुक गर्थे । छिमेकमै रहेकाले आर्यन वैशाख २३ को अपराह्न उनीसित सजिलै गए ।
प्रहरी स्रोतका अनुसार आर्यनलाई ‘चकलेट दिन्छु’ भनेर लोभ्याएर घर लगेका शत्रुघनले त्यो बीचको समय भैंसी दुहेर नजिकै रहेको बजारमा पुर्याए । किराना पसलबाट २५ रुपैयाँको चकलेट किनेर ल्याए । ‘शत्रुघनले बजारमा दूध बेचेको र किराना पसलबाट चकलेट किनेको दुवै पुष्टि हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीले भने ।
मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् । शत्रुघनलाई बालकको बलि चढाउन जंगवीरले नै उक्साएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शत्रुघनको गिरफ्तारीपछि जंगवीर भने फरार छन् ।
यता शत्रुघनले पनि आफूले बालकको हत्या गरेको स्वीकारीसकेका छन् ।