कोरोना कोषलाई प्रभु बैंकले दियो १ करोड १ लाख
चैत्र २०, काठमाडौं । कोरोना कोषलाई प्रभु बैंकले रु १ करोड १ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सो रकम उपलब्ध गराएको हो ।
आज एक कार्यक्रमकासाथ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनूले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।
बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराएको यो सहयोगराशीबाट कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्ने बताएको छ ।